पहिरोको उच्च जोखममा बैतडीका ८ स्थानीय तह
बैतडी : बैतडीका ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन् ।
विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि आठवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
अहिलेसम्म पहिरोले पुर्याएो क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए ।
उनले भने, ' ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा छन् । सुर्नया र पाटन पनि जोखिममा छन् । तर अन्य ठाउँको तुलनामा ती दुई स्थानीय तहमा पहिरोको जोखिम कम छ ।' जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।
जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर,गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत लगायतका ठाउँ पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् ।
'हामी वर्षौंदेखि पहिरोको मारमा परिरहेका छौं । पहिरोले बर्षेनि घरखेत बगाउँदै आएको छ । पहिरो रोकथामका लागि पनि त्यस्तो खासै योजना छैन्, दोगडाकेदार ६ डोलका लोकराज जोशीले भने, 'बर्षातको समयमा कतिखेर घर बग्छ भन्ने चिन्ताले सताउँछ ।राम्रोसँग निदाउन पाइएको छैन् ।'
यस्तै जिल्लाको पुरचौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए ।
स्थानीय तहमा योजना अभाव
प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुनुपर्ने भएपनि जिल्लाका ४वटा स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन् । जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । उनीहरुले कार्यविधि बनाएर काम गरिरहेका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भएपनि नगरसभाबाट पारित भनेगर्न सकेको छैन् । चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए ।
स्थानीय तहसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए । स्थानीय सरकारसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा राहत,उद्धार तथा अन्य कार्यहरु परिचालन गर्न समस्या हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, 'हामीले पनि विपद् व्यवस्थापन योजना नबनाएका तहसँग योजना बनाउन भनेका छौं । योजनाअनुसार काम गरेमा विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।हामी उद्धारका १२ प्रकारका सामग्री किन्न पनि स्थानीय तहहरुलाई भनिसकेका छौं ।'