तीन नदीको त्रास
चितवन : तीन ठूला नदीमा पानीको सतह बढेसँगै चितवनमा बाढी र डुबानको त्रास बढेको छ। नारायणी, राप्ती र माडीको रिउ खोलामा वर्षात्सँगै पानीको सतह बढ्न थालेपछि स्थानीय विगतकै नियती भोग्नुपर्ने त्रासमा छन्। जिल्लालाई घेरेका दुई ठूला नदी नारायणी र राप्तीले जिल्लाको आधा भन्दा बढी भाग प्रभावित पार्छ। त्यस्तै माडीमा रिउ खोलाका कारण बाढीको खतरा छ। तीन नदीबाट हुने बाढीको चेपुवामा जिल्लाको आधा भन्दा बढी भाग पर्दछ।
नारायणी नदी कटान र डुबानबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुन्छ। राप्ती नदीले खैरहनी, राप्ती र रिउ खोलाले माडी नगरपालिकामा वर्षेनी क्षति गर्दै आएको छ। राप्ती र लोथर खोलामा आएको बाढी र कटानले पूर्वी चितवनका बस्ती डुबानको जोखिमा छन्। मकवानपुरसँग सीमा जोडिएको लोथर खोलामा बाँध लगाइएको छ तर यसअघि भएको बाढीलाई आधार मानेर बनाइएको बाँधले ठुलो बाढीबाट जोगाउन नसक्ने विज्ञको अनुमान छ।
लोथर खोलाबाट कुमरोजसम्मको १६ किलोमिटर क्षेत्रमा डेढ दशक अघि निर्माण गरिएको तटबन्धनले अहिलेको अवस्थालाई थेग्न नसक्ने अनुमान गरिएको छ। त्यसबेलाको अवस्थालाई मध्यनजर गरी निर्माण गरिएको तटबन्धनले अहिले ढुक्क हुन नसक्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा लामो समय काम गरेका बलराम लुइँटेलले बताए। ‘नदीको माथिल्लो भागमा ख्याल नगर्दा बाढीको जोखिम बढेको छ’, पहिले स्रोत व्यक्ति रहेका लुइँटेलले भने, ‘जिल्लाभर बाढीले कहाँ कुन बेला क्षति गर्छ भन्न नसकिने अवस्था छ।’
राप्ती र नारायणी नदीका कारण भरतपुर महानगरको पश्चिम र दक्षिण भाग जोखिममा छ। महानगरको १६ , १७ , १८ , २६, नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र हुन्। राप्ती नदीले वडा नम्बर २२ देखी २५ खतरामा छन्। वडा नम्बर २७ र २८ मा राप्ती र नारायणी दुवै नदीको प्रभावमा छ। महानगर अन्र्तगत मंगलपुरदेखी गोलाघाट र राप्तीले जगतपुर क्षेत्र कटान गर्दै आएको छ।
जिल्लाको छुट्टै उपत्यकाका रुपमा चिनिएको माडीमा मुख्य डर भनेको रिउ खोला हो। रिउ खोलाले माडीको तल्लो तटीय क्षेत्र असुरक्षित छ। वडा नम्बर ९ स्थित बगईदेखी वडा नम्बर एकको द्रोपतीनगरसम्म प्रभावित बनाउँदै आएको छ। वर्षात् सुरु भएपछि बाढी प्रभावित क्षेत्रका मानिस असुरक्षित महसुस गर्छन्। कतिबेला बाढी आउने पत्तो नपाउँदा निदाउनसमेत नपाएको बताउँछन्। त्यस्तै, माडीमा साना, ठुला गरी १८ वटा ठाडा खोला छन्। यसले पनि वस्ती र बाटोमा वर्षेनी क्षति पु¥याउँदै आएको छ। अधिकांशमा तटबन्ध गर्ने काम भएको छ।
मुख्य गरी रिउमा आउने बाढीले बढी क्षति गर्दै आएको छ। असारदेखि भदौसम्म पटकपटक बाढी आउने, बाढीले खेत कटान गर्ने, घर बगाउने र मान्छेको ज्यानसमेत लिने गरेको छ। स्थानीय निकायले विपतको सामना गर्न पूर्व तयारीमा रहेको जनाएका छन्। भरतपुर महानगरका विपद् व्यवस्थापन शाखाका नासु बालकृष्ण थपलियाले हुन सक्ने जोखिमको मध्यनजर गरी पूर्व तयारी गरेको बताए। ‘सम्भावित क्षेत्रको पहिचान गरी उद्धारका लागि तयारी अवस्थामा छौं’, थपलियाले भने, ‘साधन स्रोत तयार गरेर बसेका छौं।’
नदीको माथिल्लो तटीय क्षेत्रमा पूर्वाधार संरक्षण नहुँदा बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागको वर्ष मापन केन्द्रले यसवर्ष नारायणी नदीलाई बढी खतरायुक्त तोकेको छ। नारायणी र राप्ती नदीबाट वस्ती र जमिन जोगाउन एक दशक अघिदेखि तटबन्धनको काम भइरहेको छ। जोखिमयुक्त क्षेत्रको आधारमा मकवानपुरको सामरी नदीदेखी गोलासम्म र नारायणी तर्फ नारायणी पुलबाट गोलाघाटसम्मका विभिन्न भागमा तटबन्ध भएको छ।
आर्थिक वर्ष २०६६/०६७ मा ‘जनताको तटबन्धन’ योजना सुरु भएको थियो। अहिले नारायणी नदी व्यवस्थापन आयोजनाले काम गरेको छ। ‘बजेट र जोखिमलाई आधार मानेर क्षेत्र तोकेर काम गरेका छौ’, आयोजना निर्देशक खेमराज शर्माले भने, ‘अब फरक योजनाका साथ अघि बढ्ने तयारी छ।’ उनका अनुसार अब बहुवर्षीय ठेक्कामा लाने प्रक्रियामा छ।
नारायणी नदीमा चितवनतर्फ नारायणी पुलदेखि गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये करिब साढे १४ किलोमिटर तटबन्धको काम भएको छ। राप्ती तर्फ एकसय दश किलोमिटर मध्ये करिब ८ किलोमिटर तयार भएको छ। लोथरदेखि कुमरोजसम्मको १६ किलोमिटर तटबन्ध पन्ध्र वर्ष अघि तत्कालिन राप्ती सिँचाइ योजनाले गरेको थियो।