गाउँगाउँमा पहिरोको जोखिम

गाउँगाउँमा पहिरोको जोखिम

बैतडी : दोगडाकेदार गाउँपालिका ६ डोलका लोगसिंह भाट प्रत्येक वर्ष नयाँ घर बनाएर सर्छन्। नयाँ घर फेरि पनि पहिरोले बगाउँछ। ‘बस्ती नै पहिरोको जोखिममा छ, कति पटक घर बनाउनु ? ’ उनले भने। डोलका २० घर बढी अहिले पनि पहिरोको जोखिममा रहेको स्थानीय लोकराज जोशीले बताए। स्थानीय काशीराम लुहार भन्छन,

‘वर्षात्को समयमा लगातार आइरहने पहिरोले कतिखेर घर,खेत बगाउँछ, थाहा हुँदैन। हरेक वर्षात्मा अनिदो रात काट्नु पर्छ।’ उनले पहिरोले जमिन भासिएपछि गाउँभरका घर बांगा भएको बताए। डोलमा २०१८ सालमा पहिरो खसेको थियो। त्यसपछि पहिरोले हरेक वर्ष क्षति पु¥याउँदै आएको छ। पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालिन राजा वीरेन्द्रले हुकुम प्रमांगीसमेत दिएका थिए। तर राजनीतिक खिचातानीले डोलबासीको अन्यत्र सर्ने सपना अधुरै छ। आर्थिक अवस्था सबल भएकाहरु तराईमा जमिन किनेर सरिसके। गरिब र दलित समुदायका नागरिक भने पहिरोको जोखिम मोलेरै बस्न बाध्य छन्। पछिल्लो समय पहिरोले विकराल रुप लिन थालेको स्थानीवासी देवदत्त जोशीले बताए।

गाउँनै पुरै पहिरोको चपेटामा परेकाले वर्षातको समयमा सेताम्य देखिन्छ। खानेपानीका मुहानसमेत पहिरोले बगाएपछि स्थानीयवासी खोलाको दुषित पानी पिउन बाध्य छन्। ‘दिनभर मजदुरी गरेर कमाएको गाँस पनि सुखले खान पाइँदैन’ धन्वा भुलले दुखेसो गरे। ‘गरिब, समस्यामा परेका नागरिकका लागि सरकारले सहयोग गर्छ भन्थे तर हाम्रा लागि कसैले केही गर्दैन।’

डिलाशैनी गाउँपालिका १ मा पनि पहिरोको जोखिम बढ्दो छ। यसै साता परेको अविरल वर्षासँगै आएको बाढी र गाउँमा खसेको पहिरोले ठूलो क्षति पु¥याएको स्थानीय सन्तोष रानाले बताए। उनले भने ‘१५ भन्दा बढी घर पहिरोको जोखिममा छन्।’

गन्नीगाड खोलामा आएको बाढीले १२ कल्भर्ट बगाएको छ भने पहिरोले तीन वटा खानेपानी योजनामा क्षति पुगेको छ। निर्माण सम्पन्न हुन लागेका खानेपानी योजनामा करिब २० लाखको क्षति पुगेको ग्रामिण जल श्रोत व्यवस्थापन परियोजनाका फिल्ड सुपरभाइजर पूर्ण चन्दले बताए।

उनले भने ‘डिलाशैनी १ मा असार १९ र २० गतेको वर्षाले तीन वटा खानेपानीका योजनामा क्षति पुगेको छ। पहिरोले खानेपानीका ट्यांकी र इन्टेक बगाएको छ भने पाइप लाइनमा समेत क्षति पुगेको छ।’

सुर्नया गाउँपालिका ८ ढोलेमा पहिरोले निर्माणाधीन स्वास्थ्य केन्द्रको भवनमा क्षति पु¥याएको छ। भवन माथिबाट खसेको पहिरोले १५ लाख बढीको क्षति पु¥याएको वडाध्यक्ष आनन्दसिंह बोहराले बताए। उनले भने ‘हाम्रो वडामा स्वास्थ्यचौकी थिएन। सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणको काम चलिरहेको थियो तर पहिरोले वाधा पु¥याएको छ।’ सुर्नया गाउँपालिका ८ मल्लोढोलेमा गत वर्ष पहिरो परी ६ घरपरिवार विस्थापित भएका थिए। त्यहाँ अहिले पनि पहिरोको जोखिम छ।

८ स्थानीय तह उच्च जोखिममा

बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा छन्।

विभिन्न प्रकोपका हिसाबले जिल्लाका अन्य स्थानीय तहमा भन्दा आठ वटा स्थानीय तह पहिरोको उच्च जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। उनले भने ‘जिल्लामा विभिन्न प्रकोपहरु पहिचान भएका छन्। सबैभन्दा बढी पहिरोको जोखिम छ। सोही योजना अनुसार हामीले काम गरिहेका छौं।’

अहिले सम्म पहिरोले पु¥याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए। जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत लगायतका ठाउँ पहिरोको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन्। ‘हामी वर्षौंदेखि पहिरोको मारमा छौं।’ दोगडाकेदार ६ डोलका लोकराज जोशीले भने। ‘वर्षात्को समयमा कतिखेर घर बग्छ भन्ने चिन्ताले सताउँछ। राम्रोसँग निदाउन पाइएको छैन्।’

यस्तै, पुरचौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन्। मल्लादेहीको लामुनी पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए।

स्थानीय तहहरुमा योजनाकै अभाव

प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुनुपर्ने भएपनि जिल्लाका ४ ओटा स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन्। जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन्। उनीहरुले कार्यविधि बनाएर काम गरिरहेका छन्।

जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भएपनि नगरसभाबाट पारित भने गर्न सकेको छैन्। चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए।

स्थानीय तहसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए।

सुर्नया गाउँपालिका ८ मल्लोढोलेका ६ घरपरिवार गत साल साउन २२ गते खसेको पहिरोले घरवारविहिन भएका छन्। उनीहरुले अहिले सम्म पनि राहत पाउन नसकेको स्थानीय अम्मरबहादुर बोहराले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.