पहिरोले एक परिवार विस्थापित, सात घर जोखिममा
बैतडी : बैतडीमा पहिरोका कारण एक घरपरिवार विस्थापित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ४ कपिन्नास्थित दमथला टोलका देवदत्त भट्टको परिवार विस्थापित भएको हो । महाकाली कोरिडोरअन्तर्गत निर्माण भएको सडकले पहिरो खसेपछि भट्टको परिवारलाई तत्कालका लागि अर्को घरमा स्थानान्तरण गरेको दोगडाकेदार गाउँपालिका ४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
पहिरोले घरको आँगन समेत भत्काएपछि भट्ट परिवारलाई स्थानान्तरण गरिएको उनले बताए । उनले भने, 'पहिरोका कारण भट्टको परिवार जोखिममा परेपछि अर्को घरमा स्थानान्तरण गरिएको छ।' पहिरो खसेको ठाउँमा महाकाली कोरिडोरका इन्जिनियर दिनेश रैखोलाको टोलीले अनुगमन समेत गरेको छ । टोलीको अनुगमन पछि समस्यामा परेको परिवारलाई स्थानान्तरण गरिएको हो ।
सो ठाउँमा अन्य ७ घरपरिवार पनि पहिरोको जोखिममा परेका छन् भने मकै लगाएको खेत पनि पहिरोले बगाउँदै लगेको वडा अध्यक्ष भट्टले जानकारी दिए । उनले भने, 'कोरिडोरका कारण त्यो ठाउँका अन्य सात घर पनि पहिरोको जोखिममा छन् । हामीले इन्जिनियरकोटोलीसँग त्यो ठाउँको यथार्थ समस्या राखेका छौं ।' पहिरो खसेको ठाउँमा महाकाली कोरीडोर आयोजनाले भाद्र महिनादेखि पर्खाल लगाउने बचन समेत दिएको वडा अध्यक्ष भट्टले बताए ।