म्याग्दीको पहिरो प्रभावित ठाउँमा हेलिकोप्टरबाट सुरक्षाकर्मी लगिँदै

म्याग्दीको पहिरो प्रभावित ठाउँमा हेलिकोप्टरबाट सुरक्षाकर्मी लगिँदै

बेनी : स्थलमार्गबाट सुरक्षाकर्मी पुग्न नसकेपछि शुक्रबार बिहान पहिरो गएको म्याग्दीको धवलागिरी–६ मराङ र मालिका–७ बिममा शनिबार हेलिकोप्टरबाट सुरक्षाकर्मी लैजाने तयारी भएको छ । 

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण पहिरोमा बेपत्ता भएकाहरुको २४ घण्टासम्म पनि सुरक्षाकर्मी पुगेर खोजी सुरु हुन सकेको छैन । पहिरोमा फसेकाहरु उद्धारको पर्खाइमा छन् । स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलीकप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पुर्‍याउने तयारी भएको सिडिओ ज्ञाननाथ ढकालले बताए । ‘शुक्रबार दुई पटक गएको हेलिकोप्टर मौसमको खराबीका कारण भिजिबिलिटि नभएर फिर्ता भयो,’ उनले भने ‘दरवाङ पुगेको सुरक्षाकर्मीको टोली स्थलमार्ग र अर्थुङ्गे ब्यारेकबाट शनिबार बिहान हेलिकोप्टरबाट सुरक्षाकर्मी पठाउन लागिएको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोलीसमेत शनिबार पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ । गएराति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयबासीले बताएका छन् ।

मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जनप्रतिनिधि, स्थानीयबासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताए । चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । 

घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा बसेका छन् । पहिरोमा पुरिएर मराङको कल्लेनीमा ३, राम्चेमा १०, रिखमा ७, ठूलोगाउँमा १ र कुम्रिमा १ जना बेपत्ता भएका थिए । 

कल्लेनीका १८ वर्षीय प्रकाश केसी र ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको स्थानीयले जानकारी गराएका वडा अध्यक्ष सुवेदीले बताए । बिमको तल्लोगाउँका ५, दुलेका २ र नौरुका १ जनाको खोजी भइरहेको छ । स्थानीयसँग उद्धार सामग्रीको अभाव छ । 

रघुगंगा गाउपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको छ । मालिका गाउपालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गिता रोकालाई बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा बेपत्ता भएकी रोकाको खोजी जारी छ । 

पहिरो र बाढीले धवलागिरी र मालिका गाउँपालिका जोड्ने दाङखोलाको अस्थिाई मोटरेबल पुल, बेनी–जोमसोम सडकको राहुघाट बेलिब्रिज, बिमको शिवरात्री स्थित ट्रस पुल बगाएको छ । ताकम स्वास्थ्य चौकीको पुरानो भवन, मंगलाघाट प्रहरी बिटको भवन, नौमानेको शिव आधारभूत र ताकम माविको भवन भत्किएको छ । 

रघुगंगा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । पहिरोको जोखिममा परेका धवलागिरी गाउपालिका–७ काफलडाडाका ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय लोकेश गर्बुजाले बताए । मालिका–५ देविस्थानका पहिरोको जोखिमयुक्त ठाउँका बासिन्दालाई पनि स्थानान्तरण गरिएको छ । 

राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ । यसैगरी सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्र जोड्ने सबै सडक र पश्चिमी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.