पहिरोले प्रशारण लाइनको टावर ढलायो
बेनी : म्याग्दीको अन्नपूर्ण –३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधिन विद्युत प्रशारण लाइनको एउटा टावर पहिरोले ढलाएको छ। कालीगण्डकी कोरीडोर अन्तरगत नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको जलजला गाउँपालिका–७ मिलनचोकस्थित टावर पल्टिएको हो।
धाइरिङको डिलबाट ठूला ढुङ्गासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर १४ नम्बरको टावर ढलेको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका केदार रेग्मीले बताए। ‘सोमबार रातिको पहिरोले कुनातर्फ टावर पल्टिएको छ,’ उनले भने ‘भीरमा पल्टिएकाले तार तानि सकिएको प्रशारण लाइनको अन्य टावर, नजिकै रहेको मिलनचोक–धाइरीङ सडक र बस्तीमा भने क्षति पुग्न पाएन।’
टावर पल्टिँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति पुगेको रेग्मीले बताए। टावर ढल्नुको कारण र पारेको क्षतिको बारेमा आयोजनाले अध्ययन थालेको छ। नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा चार वर्षअघि सुरु गरेको ३९.६ किलोटिर दुरिको दाना–खुर्कोट प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।
११४ वटा मध्य पोखरेबगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तारसमेत तानिएको आयोजनाका उपनिर्देशक लक्ष्मण फुयालले बताए। दुई अर्ब ९० करोड रुपैयामा ठेक्का सम्झौता भएको आयोजना अन्तरगत दाना र खुर्कोटको सबस्टेशनसमेत अन्तिम चरणमा पुगेको छ।
कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए। दोस्रो चरणमा खुर्कोटदेखि नवलपरासी जोड्ने प्रशारण लाइन र सबस्टेशन समेत निर्माण सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !