कास्कीको घाचोकमा राजगोमनको गुँड
पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ टुटुङ्गोमा किङ्कोब्रा राजगोमन सर्पको गुँड फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको करिव १२ सय मिटर उचाइ स्थित घाचोकमा पहिलो पटक राजगोमन सर्पको गुँड फेला परेको हो ।
स्थानीयले बुधबार खवर गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालसहितको टोली गएर गुँडको अवलोकन गरेका थिए ।
राजगोमनको गुँड भएको एकिन भएपछि एक्याप केन्द्रीय कार्यालय, माछापुच्छ्रे गाउँपालिका ३, अन्नपूर्ण संरक्षण क्षेत्र अन्र्तगत संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोक, इलाका संरक्षण कर्यालय ल्वाङ, स्नेक कन्जरभेसन नेपाल लगायतका प्रतिनिधिको सहभागीतामा स्थानीयबीच सचेतना कार्यक्रम गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र अयोजनाका सूचना अधिकारी ऋषि बराल, स्नेक कन्जरभेसन सोसाइटी नेपालका महासचिव उपप्रध्यापक रामजी गौतम, सर्प संरक्षणका काम गर्दै आएका केशवराज सापकोटा लगायतले सर्पको महत्व, राजगोमनले वातावरणमा पार्ने फाइदा, नेपाल र विश्वमा यसको उपस्थिती लगायतका विषयमा जानकारी गराएका थिए ।
राजगोमन विश्वकै सबैभन्दा विशालु सर्प हो । यस प्रजातीको सर्पले विषालु सर्प हो भन्ने थाहा नपाएर मिसहेण्डल गर्नेलाई बाहेक नेपालमा अन्यलाई अहिलेसम्म टोकेको रेकर्ड नभएको संरक्षण अधिकृत बरालले बताए ।
माछापुच्छ्रे गाउँपािलकाको प्रमुख कर्णबहादुर गुरुङ र वडा अध्यक्ष सूर्य लम्सालसँग समन्वय गरेर सर्पको गुँड संरक्षण गर्न सचेतना कार्यक्रम गरिएको सूचना अधिकारी बरालले बताए । कास्कीका घाचोक हेल्थपोष्ट नजिकै खरवबारीको कान्लाको बाँसघारी नजिकै राजगोमन (काली नाग)को गुँड फेला परेको हो । स्थानीयले राजगोमनको सर्प भएको क्षेत्रमा संरक्षण गर्न बार लगाएका छन् । नागलाई परम्परागत रुपमा पुजा गरिदै आए अनुसार नागको गुँड नजिकै स्थानीयले पुजा समेत गरेका छन् ।
अहिलेसम्म नेपालका ३८ जिल्लामा राजगोमनको गुँड भेटिएको स्केनक कन्जरभेसन नेपालका महासचिव रामजी गौतमले बताए । कास्कीमा राजगोमनको गुँड भेटिएको यो चौथो पटक हो । यस अघि कास्कीको नयाँ पुलस्थित दाङसिगमा दुईवटा, कास्कीको धम्पुस फेदी र अहिले घाचोकमा भेटिएको हो । अहिले सम्म लकडाउनमा ४ वटा किङ कोब्रा उद्धार गरिएको स्नेक कन्जरभेरन सोसाइटीले बताएको छ । धम्पुस, स्विखेतबाट दुईवटा र एउटा हेमजाबाट एक वटा स्थानीय केशवराज सापकोटाले सहितको टोलीले सर्प उद्धार गरेका थिए ।
नेपालमा राजगोमन पाइन्छ भन्ने जानकारी सबैभन्दा पहिले चराविद आरएल प्लेमिङ र आरएल प्लेमिङ जुनियरले सन् १९७४ मा गराएको बरालले जानकारी दिए । करिव ३५ वर्ष अघि नेपालमा कास्कीको नौडाँडास्थित बाँझोगुराँसको जंगलमा राजगोमनको गुँड भेटिएको पनि उनले बताए ।
संसारमा ३५ सय प्रजातिका सर्प पाइन्छ । जसमध्ये नेपालमा ८३ प्रजातिका पाइने स्नेक कन्जरभेसन सोसाइटिका महासचिव गौतमले बताए । त्यसमध्ये २१ प्रजातिका विषालु रहेका छन् । ६० प्रजातिका सर्प अविषालु हुने उनले जानकारी दिए । यस प्रजातिको सर्प समुन्द्र सतहदेखि २५ सय ५० मिटर उचाइ सम्म भेटिएका छन् । विश्वकै सबैभन्दा लामो र ठूला विषालु सर्प राजगोमन पछिल्ला समयमा बासस्थान विनासका कारण लोपोन्मुख अवस्थामा रहेका छन् । यसलाई सन् २०१० देखि आइयुसिएनले रातो सूचीमा सूतीकृत गरेको बरालले बताए । विश्व संरक्षण संघको अभिलेख अनुसार यो सर्प विश्वकै निम्ति लोपोन्मुख सरिर्सप प्रजाति हो ।
राजगोमन सर्प अरु सर्पले जसरी मुसा खाने भए पनि यस प्रजातिको मुख्य आहारा सर्प नै हो । सर्पले हाम्रो वरपरका अन्य विषालु तथा अविषालु सर्प खाएर वातारणलाई सन्तुलन गरी अरु सर्प र मुसाको संख्या नियन्त्रण गर्दछ । हिन्दु धार्मिक मान्यता अनुसार राजगोमनलाई काली नागको रुपमा पुजा गरिन्छ । हिन्दु परम्परा अनुसार नाग पञ्चमीको दिन राजगोमन (कालीनाग) लाई पुज्ने गरिन्छ । राजगोमनको विषबाट औषधि पनि बनाइने सर्प विज्ञले बताएका छन् ।

कास्कीका माछापुच्छ्रे गाउँपालिकामा शुक्रवार सचेतना कार्यक्रम गरिदै । तस्बिर : एक्याप
प्रतिक्रिया दिनुहोस !