पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर उडेको उड्यै, राहत सदरमुकाममै थन्कियो

पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर उडेको उड्यै, राहत सदरमुकाममै थन्कियो

बेनी :  मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरु राहत लिएर आउने खबरले मालिका गाउपालिका–७ बिमका पहिरो पीडित बिहीबार बिहानैदेखि केही खुसी हुँदै उनीहरुको प्रतीक्षामा थिए । आकाशमा सेनाको हेलिकप्टर देखेपछि बाइन्दफाँटको मालिका आधारभूत विद्यालयमा बसेका पहिरो पीडित र स्थानीयबासी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन र भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको स्वागतको तयारीमा जुटे । 

आफ्ना गुनासा, समस्या सुनाउला र केही राहत सामग्री पनि पाउला भन्ने पहिरो पीडितको आशा निराशामा बदलियो । उनीहरुको पीडा सुन्न र सहायता गर्न बिममा हेलिकप्टरबाट कोही झरेनन्।  ‘बेनीबाट हेलिकप्टरबाट खाद्यान्न, लत्ताकपडा, खानेपानीको पाइप लगायतका सामग्री ल्याउने भनेर नाम टिपाएका थियौ,’ बाइन्दफाँटका खिमन जुग्जालीले भने ‘सामग्री र मन्त्री कोही पनि नआएपछि निराश भयौँ ।’ 

पहिरोले घर भत्काएपछि बिमका विभिन्न ठाउँका ६२ परिवारका २८४ जना बसेको मालिका आधारभूत विद्यालयको अस्थायी शिविरमा बसिरहेका छन् ।  शिविरमा खाद्यान्न, लत्ताकपडा, सरसफाई र खानेपानीको अभाव छ । दैनिकजसो हेलिकप्टर उडेपनि अति आवश्यक राहत सामग्री नपाएको बिमका पहिरो पीडित राजमान दर्जीले बताए । 

पहिरो प्रभावित बस्तीको निरीक्षण गर्न मराङ पुगेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रीहरु । तस्बिर: रेशम छन्त्यालको फेसबुकबाट 

‘हेलिकप्टरमा आउने ठूलाबडाले पर्यटक जसरी आकाशबाटै हामीलाई परेको विपदको रमिता हेरर फर्किन्छन,’ उनले भने ‘खानेकुरा र बसोबासको समस्याका बारेमा कसैलाई वास्ता भएन् ।’ बिमको दुले, तल्लो गाउँ र नौरुमा गत शुक्रबार बिहानको पहिरोले ८ जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । 

हेलिकप्टरमा आउनेहरुले धवलागिरी गाउँपालिकाको मराङ र शिवाङमा मात्र पुगेर विभेदपूर्ण व्यवहार गरेको बिमका पहिरो पीडितको गुनासो  छ । मुख्य मन्त्री र मन्त्रीहरु आउने सेनाको हेलिकप्टरमा बेनीबाट राहत सामग्री पठाउन संघीय सांसद भूपेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले तयारी गरेका थिए । 

मन्त्रीहरु पिडितसँगको कुराकानी र स्थलगत निरीक्षण गर्ने खाली समयमा हेलिकप्टरबाट बेनीबाट बाइन्दफाँट, आरबाङ, राम्चे, शिवाङ र धारापानीमा राहत सामग्री पठाउन अर्थुङ्गेस्थित ब्यारेकमा सामान लगेर राखिएको थियो । 

मराङको राम्चेका पहिरो पिडित । तस्बिर : रेशम छन्त्यालको फेसबुकबाट 

‘सडक अवरुद्ध भएका कारणल तत्कालै अतिआवश्यक सामान हेलिकप्टरबाट पठाउन तयारी गरेका थियौ,’ प्रजिअ ढकालले भने ‘सामान ढुवानी नगरी सेनाको हेलिकप्टर फर्कियो । दिनभरि माननीय (भूपेन्द्र थापा), डिएसपी साप र म ब्यारेकमा कुरेर बस्यौ । हाम्रो मेहनत खेर गयो ।’ बेनीमा सामान भएर पनि पीडितलाई पु¥याउन नसक्दा दुखित भएका उनले बताए।

मुख्य मन्त्री गुरुङले पहिरो पीडितको दीर्घकालिन बसोबास व्यवस्थापनको योजना ल्याउने आश्वासन दिए ।  बिहीबार मात्र होइन दैनिकजसो पहिरो प्रभावित क्षेत्रमा सेना र निजी प्रभु एयरको हेलिकप्टर उडेको छ । शनिबार पहिरोमा फसेका र घाइतेको उद्धार गरेर अस्पताल ल्याउन हेलिकप्टर प्रयोग भएको थियो । एकाघ बिरामीलाई उद्धार गर्ने बाहेक धेरै जसोले हेलिकप्टर चढेर राहत दिने बाहनामा पहिरो प्रभावित बस्तीको निरीक्षण मात्रै गरिरहेका छन् । 

अनावश्यक र असम्बन्धित मानिसहरु हेलिकप्टर चडेर पहिरो प्रभावित क्षेत्रमा जाने होडबाजीले राहत सामग्री ढुवानी प्रभावित भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित पहिरोबाट अति प्रभावित बिम, मराङ, ताकम र देविस्थान जोड्ने सडक, विद्युत र सञ्चार सेवा अवरुद्ध छन् । 

सडक नभएकै कारण दाताले पिडितका लागि दिएको राहत सामग्री बेनीको जिसस भवनको गोदाममा थन्किएको प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले जानकारी दिए । धेरै जना एकै ठाउँमा बसेका र बसोबास व्यवस्थित छैन ।  खानेपानी आयोजनामा क्षति पुगेका कारणले दुषित पानीका कारण लाग्ने रोगको जोखिम छ । 

 पहिरोका कारण धवलागिरी गाउपालिका–६ मराङको कल्लेनी, दमका, राम्चे र रिखामा १९ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएका कल्लेनीका दुई जना अझै बेपत्ता छन् । मराङका ७२ घरमा पूर्ण क्षति हुँदा ५१५ जना विस्थापित भएका छन् । पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकालार्य सामुदायिक विद्यालयमा राखिएको छ । 

सामाजिक विकास मन्त्री नरदेवी पुनले समन्वयमा कमजोरी हुँदा बेनीबाट बिहीबार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न नसकेको स्वीकार गरिन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेनाको हेलिकप्टरलाई एक पटक मात्र उडान गर्न सिफारिस गरेकाले चाहेर पनि सामग्री लैजान नसकेका पुनले बताइन् । 

शुक्रबार हेलिकप्टर मगाएर ढुवानी गर्न पहल गर्ने उनले बताइन् । 

पहिरो पिडितको व्यवस्थापनलाई सहजा बनाउन दरवाङदेखि ताकम हुदै मुना र बिम हुदै मराङ जोड्ने सडक मर्मतका लागि जिल्ला समन्वय समितिले एक करोड बजेट बिनियोजन गरेको छ । 


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.