म्याग्दीका मुख्य सडक अवरुद्ध, पहिरो अध्ययन गर्न ड्रोनको प्रयोग
बेनी : म्याग्दीको लाइफ लाइन मानिएका मुख्य सडक पहिरोले अवरुद्ध भएका छन् । बेनी-जोमसोम, बेनी-दरवाङ लगायत छिमेकी जिल्ला र गाउँपालिकाका केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको छ ।
असार २५ गतेको पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिकाको मराङ, ताकम, मालिकाको बिम र देविस्थानसँगै मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक फापरखेतको पहिरोका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ ।
फापरखेतको पहिरोले हरेक वर्ष बर्खायाममा पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग सिधा यातायात सम्पर्क बिच्छेद गराउँछ । करोडौ खर्चीए पनि दिर्घकालिन रुपमा पहिरो रोकथाम सफल नहुँदा बेनी-दरवाङ सडकमा फापरखेतको पहिरो रोग बनेको मंगला-२ का रमेश सुवेदीले बताए ।
'ढुवानी र बिरामीलाई अस्पताल लैजान समस्या छ,' उनले भने, 'पहिरोका कारण समयमा गन्तव्यमा पुग्न सकिदैन। महँगो भाडा तिर्नुपर्छ । जोखिम पनि उत्तिकै छ ।'
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिकाहुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक पनि दर्जनौ ठाउँमा पहिरो जाने र बाढीले पुल तथा सडक बगाएपछि अवरुद्ध छ ।
गलेश्वरको बेलिब्रिज रघुगंगा नदीले कटान गरेर बगाएको छ भने काभ्रे भिरमा पहिरो र कालीगण्डकीले कटान गरेपछि दश दिनदेखि बेनी-जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् ।
'एक ठाउँ बनाउन नसक्दै अर्को ठाउँमा पहिरो खस्छ,' बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भने, 'निरन्तरको पहिरोले सडक मर्मतको प्रयास सफल हुन सकेको छैन् ।'
गाडी परिवर्तन गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने, समयमा गन्तव्य पुग्न नसक्ने, कतिपय अवस्थामा पैदलै हिँड्नुपर्ने, पहिरोमा ढुंगा खसेर चोटपटक लाग्ने जोखिम छ ।
सिधा आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तुको निकासीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको धवलागिरी गाउँपालिका-७ ताकमका ज्ञानबहादुर पौडेलले बताए । 
सदरमुकाम बेनी र मुख्य सडक देखि गाउँपालिकाको केन्द्र तथा वडा जोड्ने म्याग्दीका सबैजसो सडक अवरुद्ध छन् । गाडी चलेको केही सिमित हिलाम्मे सडकमा जोखिमपूर्ण र सास्तिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम र बेनी-दरवाङ सडकका निर्माण व्यवसायीले सडक मर्मत तथा अवरोध हटाउन उदासिनता देखाएका छन् ।
पहिरो पन्छाउन र सडक खुलाउने काममा समय खर्चनुपर्दा कोरोना रोकथाम र पहिरो पीडितको राहत तथा व्यवस्थापनमा समस्या भएको सिडिओ ज्ञाननाथ ढकालले बताए । 'सडकका ठेकेदारलाई पुलिस लाएर खोज्नुपर्ने अवस्था छ,' उनले भने 'बाटो मर्मतमा ठेकेदारले उदासिनता देखाउँदा बिरामीलाई अस्पताल पुर्याउन र राहत सामग्री ढुवानी गर्न महंगो रकम खर्चेर हेलिकोप्टर प्रयोग गर्नुपरेको छ ।'
सडकका साथै विद्युत र सञ्चार सेवामा भएको अवरोधका कारण पहिरोबाट अति प्रभावित क्षेत्रमा राहत तथा पीडितको व्यवस्थापनमा कठिनाई भएको छ ।
खाली घरमा पहिरो पीडित
मालिका गाउँपालिका-७ बिममा घरबास गुमाएका पीडितलाई बेनी, पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठाउँ र विदेशमा रहेकोहरुका खाली घरमा व्यवस्थापन गरिएको छ । सामुदायिक भवन, विद्यालय र अस्थायी टहराको विकल्पमा घरधनीको सहमतिमा पहिरो पीडितलाई राखी घरमा व्यवस्थापन गरिएको वडा अध्यक्ष रेशम जुग्जालीले बताए ।
'पहिरो लगत्तै किसानी मावी र मालिका आधारभूत विद्यालयको भवनमा पीडितलाई राखेका थियौं, 'उनले भने, 'धेरैजसोलाई खाली भएका आफन्तका घरमा सारेका छौं । बाँकी भएकालाई पनि राख्न घरको खोजी भइरहेको छ ।'
बिमको दुले, नौरु, दुले, डाडागाउँ र बाइन्दबाँटमा गएको पहिरोमा ८ जनाको ज्यान गएको थियो । पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ वटा घर पूर्णरुपमा क्षति पुगेको छ । ५० घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् । 
उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँका आफन्तकोमा सारेका छन् । दिनमा घरमा गएपनि रातको समयमा उनीहरु त्यहाँ सुत्दैनन् । बाइन्दफाँटका ५ र तल्लो गाउँका तीन परिवारलाई व्यवस्थापन गर्न बाँकी छ । स्थायी आवासको बसोबास नहुँदासम्म खाली भएका घरमा व्यवस्थापन गरिएको हो ।
पहिरोको अध्ययन गर्न ड्रोनको प्रयोग
धवलागिरी गाउँपालिकामा पहिरोको जोखिम अध्ययनका लागि ड्रोनको प्रयोग गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म बागलुङबाट आएको टोलीले पहिरोको जोखिमयुक्त बस्तीमा स्थलगत निरीक्षणका साथै आकाशमा ड्रोन उडाएर दृष्य र तस्बिर संकलन गरेको हो ।
असार ३० गते प्रहरी निरीक्षक सागर रानाको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रमा गएको बागलुङका सात र गण्डकी प्रदेश प्रहरी कार्यालयको तीनजनाको टोलीले धारापानी, ताकम, काफलडाडा र कल्लेनीमा पहिरोको अध्ययन गरेको हो ।
जमिन धाजा फाटेर पहिरो जान लागेको र गइसकेको ठाउँमा पुगेर अध्ययन गरेको थियो । धेरै भूगोल र पहिरोले असर पार्न सक्ने क्षेत्रको दृष्य तथा तस्बिर देखिने भएकाले तस्बिर तथा दृष्य संकलनमा ड्रोन क्यामेराको प्रयोग गरेको प्रहरी नायव उपरिक्षक किरनजंग कुवरले बताए ।
गाउपालिकाको अनुरोध र विपद् व्यवस्थापन समितिको योजना अनुसार ड्रोनबाट तस्बिर र दृष्य संकलनका लागि बेनीको नमस्ते म्याग्दी डिजिटल कलर ल्याबका कृष्णराज पौडेल पहिरो प्रभावित क्षेत्रमा गएका थिए।
मानवीय क्षति नभए पनि धरापानी, ताकम, आटेबिर र काफलडाँडामा करिब दुई सय ५० घरधुरी र मालिका गाउँपालिकाको देविस्थानमा ९० घरधुरी पहिरोको उच्च जोखिममा छन् । जमिन धाजा फाटेर घर भत्किने, पर्खाल चिरा पर्न थालेपछि स्थानीयबासीहरु आफन्त, सामुदायिक भवन र खाली भएका घरमा बसेका छन् ।
गत असार २५ गतेको पहिरोका कारण धवलागिरी गाउपालिकाको मराङ, मालिकाको बिम र रघुगंगाको ठाडाखानीमा २८ जनाको ज्यान गएको छ । तीन जना अझै वेपत्ता छन् । पहिरोका कारण ९२ घरमा पूर्ण, ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । ६०६ जना पूर्ण र २०४ जना आंशिक रुपमा प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !