मृस्ति र तादीखोलामा साधारण सेयर खुल्ला
बेनी : माउन्टेन इनर्जी लिमिटेडद्वारा निर्माणको अन्तिम चरणमा पुगेका म्याग्दीको मृस्ति र नुवाकोटको तादीखोला जलविद्या आयोजनाको साधारण सेयर (आइपीओ) जारी भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको ४२ मेगावाट क्षमताको मृस्ति र नुवाकोटको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निश्कासन गरेको हो।
माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले यही साउन ८ गतेदेखि २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम १० देखि अधिकतम २० हजार कित्ता शेयर खरिद गर्न पाउने जानकारी दिए।‘पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर कुल लागतको दश प्रतिशत शेयर निस्काशन गरेको हो,’ उनले भने, ‘कुल १९ हजार ६८ लाख दुई हजार ७०० रुपैयाँ मूल्य बराबरको सेयर निश्काशन भएको छ।’
मृस्तिखोला निर्माण स्थल नारच्याङ र तादी खोला थप्रेक जलविद्युत आयोजना प्रभावित तादी, पञ्चकन्या र लिखु गाउपालिकाका बासिन्दाका लागि चालीस र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि साठी प्रतिशत शेयर निस्काशन गरेको हो। नारच्याङ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
आईपिओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ। पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको मृस्तिले बाँध, टनेल र पेनस्टकको परीक्षण सुरु गरेको छ। विद्युतगृहमा उपकरण जडान गरेर परीक्षणको तयारी गरिएको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए। सन. २०१६ को जुन १३ मा सुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो।
नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ। निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरेर परीक्षणसमेत गरेको छ। पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो।
पहाड भित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको २ वटा बालुवा थिग्राउने भूमिगत पानी थिग्राउने पोखरी (क्यानल) बनाएको छ। आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ। आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण गरेको छ। रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ। विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमती) दिएको थियो। नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्षपछि धकेलिएको हो।
मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो। नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ। ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस !