पहिरोले पीसीआर संकलन रोकियो
गोरखा : तीनदिनदेखिको अविरल वर्षापछिको पहिरोले गोरखामा स्वाब संकलनको काममा समस्या आएको छ। सङ्कलित स्वाब परीक्षणका लागि काठमाडौं, पोखरा पठाउन पनि नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
सोमबार २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमडौं पठाउन लाग्दा पहिरोका कारण रोकिएको उनले बताए। ‘गोरखा क्याम्पस आइसोलेशनमा रहेका छ जनाको र अजीरकोट गाउँपालिकाका क्वारेन्टाइनमा रहेका १७ जनाको स्वाब काठमाडौं पठाइएको थियो तर अँबुवाबाट फिर्ता भयो’, उनले भने, ‘काठमाडौं, पोखरा, चितवन जाने सडक जताततै पहिरो झरेर अवरुद्ध भयो। अब कहीँ पठाउन पनि पाइएन।’ पहिरो पन्छाउने बित्तिकै स्वाब संकलन गर्ने तथा परीक्षणका लागि पठाउने उनले बताए।
गोरखाबाट आँबुखैरेनी जाने सडकको ११ किलोबजारमा सडक खोल्सीमा भासिएको छ। मंगलबार दिनभर सो सडक खनेर पहिरो पन्छ्याउने र गाडी चल्न मिल्ने बनाउने प्रयास भइरहेको छ। त्यस्तै सडकमाथिबाट झरेको पहिरोले ८ किलो लगायतका ठाउँमा पनि सडक अवरुद्ध छ।
त्यस्तै गोरखा बारपाक सडक, गोरखा आरुघाट सडक, गोरखा पालुङटार सडक, गोरखा भच्चेक सडक लगायतका मुख्य सडकहरु दर्जनौँ ठाउँमा अवरुद्ध भएका छन्। पहिरोले साना, ठूला प्राय सबै सडक अवरुद्ध भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !