पहिरोको कहर : न घर, न घडेरी

पहिरोको कहर : न घर, न घडेरी

गोरखा : शुक्रबार दुई बजेतिर तीनखण्डेको जनजागृति प्रावि पुग्दा देवीकुमारी भट्ट घाँसको भारी बोकेर गोठतिर जाँदै थिइन् । अगाडिबाट नचिनेको मान्छेले फोटो खिचेको देखेपछि लाज र संकोच मान्दै उनी घाँस भुइँमा राखेर उभिइरहिन् । उनको पछिपछि आइरहेका दुई बालिका कपाल चलाउँदै, औँला टोक्दै हजुरआमाको छेल परे ।

‘गोरुलाई घाँस हाल्न जान लागेको । आउनुस् बस्नुस्’, भन्दै उनी स्कुलकै चौरतर्फ फर्किइन् । स्कुलको चौरमा पुग्दा दुईवटा भवनको बीचको मैदानमा दुईवटा त्रिपाल टाँगिएका थिए । त्यसको ओतमा थुपारिएको थियो उनकै ‘झिटीगुण्टा’ । विद्यालयको कोठाभित्रको एउटा कुनामा करिब चार डोको मकै, अर्को कुनामा रेडक्रसको लोगो अंकित बाल्टिन, चुला लगायतका भाँडाकुँडा, ओड्नेओछ्याउने लगायतका लुगाकपडा थिए । अर्को कुनामा बेञ्च जोडेर बनाइएको ओछ्यान थियो ।

तीन जना नातिनीलाई लिएर देवीकुमारीको यहाँ सुतेको चार दिन भयो । ‘सुतेको भन्नुमात्र हो । आज पनि राति दुई बजेसम्म आँखै लागेन’, उनले भनिन्, ‘रातभर उठ्दै झ्यालबाट बाहिर हेर्दै गरिरहेको छु । हेर्दाहेर्दै आँखै अगाडि पारि पाखामा यत्ति ठूलो पहिरो गयो । अब यी लालाबालालाई कहाँ लगेर राख्ने भनेर रातभर मन उँडेको चरा भयो ।’ रात त जेनतेन बित्यो, अब कहाँ गएर बस्ने भनेर दिनमा पनि चिन्ता मात्रै लाग्ने उनको भनाइ छ । 

७० वर्ष बिताएको तीनखण्डेको आफ्नो घर भएको तर्फ फर्केर जान उनलाई पटक्कै मन छैन । सोमबारको पहिरोले धन्नै तीन नातिनी र उनको एउटै चिहान बनाएको । ‘धन्न पल्ला घरका केटाहरु आएर छानाको जस्तामा डड्याङडुडुङ गरेर ब्युँझाए र मात्रै बाँचेको । नत्र हामी तीन जनाको एउटै चिहान भइसक्थ्यो’, उनी भन्छिन्, ‘जति बसियो बसियो, पुग्यो । अब त्यहाँ बस्न त के, हेर्न जान पनि मन  छैन ।’ उनी ब्युँझिएर भाग्दा छिमेकीको दुईवटा घर पहिरोसँगै बगेर ५० मिटर तल पुगिसकेका थिए । निद्राबाट ब्युँझिने बित्तिकै देखेको त्यो दृश्यले उनको होसहवास उड्यो । 

अब घर बनाएर बस्न उनको जग्गा छैन । ‘घर र भएभरको पाखो बारी पहिरोले बगाइहाल्यो । जम्मा एक बिहानको मेलो खेत छ । त्यो पनि खोलाको किनारमा । घर बनाउन मिल्दैन’, स्थानीय युवा अर्जुन भट्ट भन्छन्, ‘उहाँका श्रीमान उहिल्यै बिते । छोरा सहरमा मजदुरी गर्न गएको छ । बुहारी तीनवटा छोरीलाई छोडेर अर्कै लोग्ने समाएर गइन् । यो परिवारको बिचल्ली छ ।’ घर बगाएपछि केही पनि झिक्न नभ्याएको उनको परिवार वडा कार्यालयले दिएको एक बोरा चामलको भरमा बाँचिरहेको छ । 

गत सोमबारको पहिरोले तीनखण्डेका तीन घर बगाएर लगेको छ । आसपासमा रहेका अरु गोकर्ण भट्टको घर पनि ५० मिटर तल पु¥याएको छ । त्यस्तै लालबहादुर भट्ट र मायादेवी भट्टको घर पनि पहिराले लगेको छ । सोही पहिराको चिराले स्थानीय सुमित्रा पाण्डे, जानकी पाण्डे, किसान पाण्डे, नीलबहादुर पाण्डे, मानबहादुर पाण्डे, नवराज पाण्डे र सन्तोष पाण्डेको घर पनि जोखिम बनाएको स्थानीय नवराज पाण्डेले जानकारी दिए ।

उनीहरु सबै घर छोडेर कोही स्कुलको भवनमा कोही हर्राबोटेमा आफन्तको शरणमा बस्न गएका अर्का स्थानीय सुरेश भट्टले बताए । ‘यहाँ पहिरोले बगेको तीन घर भट्ट परिवारको अन्यत्र घर बनाउने जग्गा पनि छैन, यहाँ बस्न मिल्ने त कुरै भएन’, उनले भने, ‘सरकारले तत्कालका लागि खाने र बस्ने व्यवस्था मिलाइदिनुप¥यो । दीर्घकालका लागि घरघरेडीको व्यवस्था गरिदिनुपर्छ भन्ने हामी सबैका माग छ ।’ 

बिहान पौने पाँच बजे गाउँ बगाएको त्यस दिनको घटनाले हातमा काम पनि नआउने, भोक, निद्रा नलाग्ने स्थानीयबासीको दुखेसो छ । ‘आइतबारको पहिरोले हाम्रो घर नजिकै ठूलो पहिरो गयो । त्यसपछि हामी सुत्नै सकेका छैनौं’, स्थानीय सुरेश भट्ट भन्छन्, ‘नभन्दै सोमबार त बिहानै गाउँ लगिहाल्यो । अहिले पनि जताततै चिरैचिरा छ । यहाँ बस्न मिल्ने ठाउँ नै छैन ।’ भूगर्भविद आएर भौगर्भिक अध्ययन गर्नुपर्ने पनि उनको माग छ।

रेडक्रसले लत्ताकपडा र भाँडाकुँडा, वडा कार्यालयले एक बोरा चामल, केही नुनतेल र गाउँपालिका कार्यालयले १० हजार रुपैयाँका दरले दिएको राहतको भरमा बाँचिरहेको अर्का स्थानीय अर्जुन भट्टले बताए । ‘यत्तिले हामीलाई के पुग्छ र ? खानेकुरा हामी काम गरेर जोहो गर्छौँ, बस्ने बासको व्यवस्था सरकारले गरिदिनुपर्यो‍ ।’

 घर पहिरोले बगाएर ५० मिटर तल पु¥याएपछि पुरिएका सामान झिक्दै स्थानीय। 

घर पहिरोले लगेपछि नजिकैको जनजागृति प्राविमा आश्रय लिएकी देवीकुमारी भट्ट र नातिनी ।तस्बिर : शिव उप्रेती

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.