पहिरो खसेर विद्यालय भवन भत्कियो

पहिरो खसेर विद्यालय भवन भत्कियो

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माविको भवन भत्किएको छ। सोमबार बिहान चिमखोलाको पाखोबाट खसेको पहिरोले तीन कोठे भवन भत्काएको हो। 

छानामा ढुङ्गा माटोसहित खसेको पहिरोले कक्षा कोठाभित्रका फर्निचरका सामग्री नष्ट गरेको प्रअ पृथबहादुर थापाले बताए। उनका अनुसार विद्यालयका अन्य कक्षा कोठा भवनसमेत जोखिममा छन्। कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयमा करिब १५० जना विद्यार्थी छन्। 

भवन भत्किएको र पहिरोको जोखिमका कारण अहिले सञ्चालित सिकाइ क्रियाकलाप प्रभावित भएको छ। विद्यालय खुलेपछि पठनपाठन सञ्चालन गर्न कठिनाइ हुने स्थानीय ओम पुनले बताए। 

म्याग्दीमा सोमबारको पहिरोले दर्जनौं ठाउँमा सडक, विद्युत, खानेपानी, सिचाइँ, भवन लगायत भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पाखोबाट आएको बाढीले सदरमुकाम बेनीको क्याम्पसचोकमा नाली फुटेको छ। नालीबाट सडकमा बाढी निस्किएर हिलाम्मे भएको छ। 

करिब दश घर तथा पसलमा बाढी र हिलोले असर गरेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए। स्थानीयबासीले बाढी पन्छाउने र नाली सफा गरेका थिए। क्याम्पसचोकमा बाढी आउन थालेपछि स्थानीयबासी त्रसित भएका छन्। 

जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको हरि अटोपार्टसमा पाखोबाट खसेको पहिरोले फलाम प्रयोग गरेर बनाइएको दुई तले भवन भत्किएको छ। ग्यारेजको कुनातिरको भाग पहिरोले पुरिएको छ। 

उपल्लो तलामा राखिएका अटो पार्ट्स सम्बन्धी सामान लथालिङ्ग भएको हरि अटो पार्ट्सका सञ्चालक हरि भण्डारीले बताए। उनका अनुसार भवन, ग्यारेज र सामानमा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको छ। 

जुगेधारामा पहिरो खसेपछि बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको छ। बेनी–गलेश्वर र बेनी–दरवाङ सडक अवरुद्ध भएको छ। वारीबेनीमा पहिरोसँगै रुख ढलेर विद्युतको पोल ढलेको छ। विद्युत आपुर्ति बन्द भएको छ। 

म्याग्दीको धेरैजसो ग्रामिण सडक अवरुद्ध भएका छन्। बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोको जोखिम भएपछि एक घरलाई अन्यत्र सारिएको छ। 
मंगला गाउँपालिका–३ पखेरमा ६–७ वटा र बेनी नगरपालिका–६ डम्मरामा ५–६ वटा घरमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले बताए। बस्ती माथिको पाखोबाट पहिरो खसेपछि बिक्रम बुढाथोकीका परिवार विस्थापित भएका छन्। 

जल्केनीका मनबहादुर पुर्जा, सुर्यबहादुर थापा, जितबहादुर श्रीस, थमबहादुर श्रीस, शंकर शेरचन, दलबहादुर घर्ती, दलबहादुर रोका, विष्णु किसानको घर जोखिममा परेकाले विस्थापित भएका छन्। पखेरदेखि बरंजा जाने सडकबाट जल्केनीमा पहिरो खसेको हो। 

बेनी नगरपालिकाको पात्लेखेत स्थित वडा कार्यालय भवनलाई पनि बाढीले क्षति गरेको छ। डम्मरामा सुन्दर थापा, हर्क जिसी, शेरबहादुर कार्की, श्याम किसान, बलबहादुर खत्री, झलक खत्री, जयलाल खत्री, कल्पना चालीसे, बाटुलीदेवी थापाको घर जोखिममा परेको छ। 

अमित विश्वकर्माको घरमा बाढी पसेको छ। जोखिममा रहेकाहरुलाई आमा समूह, अपांग संघ र बाल क्लवको सामुदायिक भवनमा राखिएको वडा अध्यक्ष कृष्णसिंह बानियाले बताए। बेनी–६ कै खरेनीमा सुनिता सार्कीको घर भत्किएको छ। रघुगंगा गाउँपालिका–२ भगवतिको रुइसेटोलमा पहिरोले घर भत्किएपछि चार परिवार विस्थापित भएका छन्। धनबहादुर शिलाधर, अविनाश शिलाधर, शेरबहादुर शिलाधर र हिक्मत भण्डारीको घर पहिरोले भत्किएपछि आरसीयुपीको भवनमा बसेका छन्। असारको पहिलो हप्तादेखि नै जोखिम भएको र हालैको वर्षाले घर भत्किएर विस्थापित भएको धनबहादुर शिलाधरले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.