६ बुँदेबाट पछि हट्दिनँ : गौतम

६ बुँदेबाट पछि हट्दिनँ : गौतम

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमले पूर्वमाले धारका ६ युवा नेतालाई बुधबार बिहान भैंसेपाटी निवासमा डाँके। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ६ बुँदे प्रस्ताव गरेको भोलिपल्टै गौतमले ठाकुर गैरे, दीपकप्रकाश भट्ट, रामकुमारी झाक्री, रविन कोइराला, जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धरसँग छलफल गरेका हुन्।

उनीहरूले ६ बुँदेबाट पछि हट्न आग्रह गरे पनि गौतमले त्यसलाई अस्वीकार गरिदिए। गौतमले भने, ‘एउटा कुर्सीकै लागि पार्टी फुटाउन दिने कुरा हुन्न। जोगाउन म लागेको हुँ। लात खाए पनि खाऔंला, बात खाए पनि खाऔंला। अहिले यही प्रस्ताव हेरौं।’

६ नेता बिहान १०ः३० बजे भैंसेपाटी पुगेका थिए। उनीहरूले झन्डै ३ घण्टा उनीहरूले उपाध्यक्ष गौतमसँग तीतामीठा कुरा गरेका थिए। भने, ‘तपाईंले जे प्रस्ताव ल्याउनुभयो, त्यसमा हामी सहमत छैनौं। तपाईं केपी कमरेड (केपी शर्मा ओली)बाट उपयोग मात्र हुनुभयो।’ ६ बुँदे प्रस्ताव दिउँसो सार्वजनिक हुने, साँझ प्रधानमन्त्री केपी शर्मा ओली पार्टी महासचिव विष्णु पौडेल र श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेका विषयमा उनीहरूले प्रश्न गरेका थिए।

‘तपाईंको प्रस्ताव आउनु, प्रधानमन्त्री निवासमै आएर डिनर गर्नु, बाहिर अनेक कुरा आए, खासमा के कुरा भयो ? नडाँक्दा हुन्थ्यो यस्तो बेला’, उनीहरूले भनेका थिए। गौतमले भने, ‘मलाई त उहाँ (प्रधानमन्त्री) आउँदै हुनुहुन्छ भन्ने थाहै थिएन। यहाँ कुनै त्यस्तो डिनर खाएको पनि होइन। घरमा एक्कासि सेनाका सुरक्षाकर्मी आएपछि तपाईंहरू यहाँ किन भनेर सोध्दा प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेपछि मात्र उहाँ आउँदै गरेको जानकारी मैले थाहा पाएको हुँ। बाहिर धेरै भ्रम गए, त्यस्तो केही भएको छैन।’

ओली गौतम निवासमा पुगेको प्रसंगबाट सुरु भएको छलफल त्यसपछि प्रवेश भयो, गौतमका ६ बुँदे प्रस्तावमा। ‘तपाईंलाई बारम्बार उपयोग गर्ने काम मात्र भयो, केपी कमरेडले, तपाईं पनि पटक–पटक प्रयोग मात्र भइरहनुभयो’, युवा नेताले भने, ‘यो तपाईंले अगाडि सारेको प्रस्तावले पनि पार्टीभित्रको समस्याको समाधान गर्दैन, पार्टी धेरै अगाडी गईसकक्यो, यत्रो संकटको बेला ६ बुँदेले के गर्छ ? ’

त्यसपछि गौतमले भने, ‘केपी ओली कमरेडले पार्टी पनि बर्बाद बनाउनुभयो। सरकार पनि सम्पूर्ण रुपमा प्रभावकारी ढंगले चलाउन सक्नुभएन। उहाँले दुवै पदबाट राजीनामा दिनुपर्छ भनेर सुरुमा विषय उठाउने मै हुँ। मैले कोहीसँग सल्लाह गरेर यो प्रस्ताव ल्याएको होइन। पार्टी विभाजन हुन्न्छ कि भन्ने लाग्यो एकातिर, अर्काेतिर बाढीपहिरो छ, कोरोनाको भयावह अवस्था छ। यस्तो बेला सरकारलाई केही गर्न हुँदैन कि भन्ने मनमा आयो। त्यही भएर यो प्रस्ताव ल्याएको हुँ। अन्ततोगत्वा उहाँले राजीनामा नदिई सुखै छैन, दिनै पर्छ। त्यही भएर मैले लेख्दा नै माथि तत्काल भन्ने शब्द लेखेको छु।’

युवा नेताले गौतमको जवाफमा चित्त बुझाएनन्। ‘पहिलो बुँदामै किन फेरि ५ वर्ष नै लेख्नुभयो ? ’, मानन्धरले प्रश्न गरे। ‘पहिलो बुँदा मात्र ओली कमरेडका लागि हो, अन्य ५ बुँदा सबै हाम्रा लागि हो’, गौतमले भने, ‘मैले पार्टी सम्पूर्ण रुपमा कार्यकारी अधिकारसहित प्रचण्ड (पुष्पकमल दाहाल) कमरेडले चलाउने पनि लेखेको छु। यसैमा अहिले जाँदा ठीक हुने मैले देखें।’

तापनि युवा नेताले गौतमसँग मन मिलाउन सकेनन्। ‘यो तपाईंको ठीक कुरा हो भन्ने हामीले महसुस गरेनौं। तपार्इंले भनेजस्तो केपी कमरेडले नै पनि मान्नु हुन्न’, एक युवा नेताले भने।

अर्का नेताले सोधे, ‘केपी कमरेड भेट्न आउनुभयो, तपाईंको प्रस्तावमा उहाँले के भन्नुभयो ? ’ गौतमले भने, ‘उहाँको रेस्पोन्स त्यत्ति राम्रो छैन। बुँदा २ मा प्रचण्डलाई सम्पूर्ण अधिकार दिने कुरा काटौं भनेर ओली कमरेडले भन्नुभयो, मैले त्यो काट्न हुन्न भनेको छु। त्यसपछि उहाँले रेस्पोन्स राम्रो गर्नुभएको छैन। मैले सम्पूर्ण रुपमा अधिकार दिने प्रचण्डलाई भनेको छु। कहाँ मैले प्रचण्डलाई छोडेको छु र ? तर, अहिले परिस्थितिले तत्काल राजीनामा नमागौं भनेको हो मैले।’

त्यसपछि पनि गौतम बोल्दै गए। उनले भने, ‘अबको बाँकी प्रतिनिधिसभाको कार्यकाल पनि ओलीलाई नै प्रधानमन्त्री भने पनि तपार्इं हामी सबैलाई थाहै छ, उहाँको बानी। पाँच वर्षको पाँच दिन पनि उहाँ जान सक्नु हुन्न। फेरि आइहाल्छ विषय। अहिलेलाई मात्र नगरौं भन्ने मेरो प्रस्ताव हो। ओली कमरेडलाई समर्थन गरेर मैले जति हन्डर कसले खाएको होला र ? तैपनि सहमति हुन्छ भने यसरी गरौं भन्ने हो। मैले केपी कमरेडसँग सल्लाह गरेर ल्याएको होइन। नेताहरूले रुचाउनुभयो भने त्यहीअनुसार सल्लाह गरौं। भएन भने ठीक छ के गरौंला।’

युवा नेताले आफ्नो प्रस्तावबाट पछि हट्न आग्रह गरे। गौतमले भने, ‘तत्कालका लागि ब्याक हुन्नँ। बरु मलाई सहयोग गर्नुस्। नेताहरूलाई कन्भिन्स गर्न तपाईंहरूले पनि सहयोग गर्नुस्। अहिले पार्टी बोक्नुपर्‍यो। म माधव, प्रचण्ड, केपी कोही पनि बोक्दिनँ। म विचार निर्माण गरिरहने मान्छे, यो हुन्छ कि भनेर अगाडि बढाएको हो।’युवा नेताले भने, ‘हामी नै प्रस्तावमा सहमत छैनौं, अरू नेतालाई कसरी सहमत गराउन कुदौं ? यो हुँदैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.