कोरोनाको जोखिममा बैंकमा भीड
पोखरा : कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा पोखराको सृजनाचोक स्थित नेपाल एसबिआइ बैंकमा पेन्सन लिनेको भीड लागेको छ। भूतपूर्व गोर्खा सैनिक र उनीहरुका आफन्त एसबिआइ बैंकमा आइतबार पेन्सन लिन पुगेकोले भीड लागेको हो।
भारतीय सेनामा कार्यरत भूतपूर्व सैनिकको पेन्सन नेपाल एसबिआइ बैंक लिमिटेडमा राखिदिने गरेको भूतपूर्व गोर्खा सैनिक डोलबहादुर गुरुङले बताए। अंग्रेजी महिनाको अन्तिममा पेन्सन राखिदिने भएकोले अंग्रेजी महिनाको १ तारिखदेखि एक हप्तासम्म पेन्सेन लिनेको भीड लाग्ने उनले सुनाए। 'खर्च चलाउनु पर्यो। अहिले अब चाडबाड नजिक आउन थाल्यो। त्यसैले पनि जोखिमका बिच पेन्सन लिन आएको हो', उनले सुनाए।
भीड हुने बैंकमा सामाजिक दुरी कायम गरी लाइनमा बस्न सुझाउने गरी सुरक्षाकर्मी खटाइएको र बैंक प्रशासनलाई पनि फिजिकल डिस्टेन्स कायम गरी लाइन व्यवस्थित गर्न सुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए। भूतपूर्व सैनिकको हकमा उहाँहरु आफैं अनुशासनमा रहनुहुने भएकोले यस विषयमा सचेत पनि हुने उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !