गोरखामा बालिका बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
गोरखा : बालिका बलात्कार गरेको आरोपमा पालुङ्टार नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। पीडितका बाबुले दिएको जाहेरीका आधारमा वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्थानीय १४ वर्षकी बालिका बलात्कार गरेको अभियोग ४७ वर्षका रानाभाटमाथि लागेको छ। बिहे गर्ने प्रलोभनमा पटक-पटक बलात्कार गर्ने गरेको बाबुले दिएको जाहेरीमा उल्लेख छ। पछिल्लो पटक गत साउन १६ गते जंगलमा बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध सोमबार साँझ अबेर जाहेरी दर्ता भएको छ। मंगलबार मुद्धा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया सुरु गर्ने डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।
रानाभाट जनता समाजवादी पार्टी नेपाल(तत्कालीन नयाँशक्ति) पार्टीबाट चुनाब जितेर वडाअध्यक्ष बनेका हुन्। उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको समाजवादी पार्टीले जनाएको छ। ‘प्रहरीले गर्ने अनुसन्धानलाई पूर्ण रुपमा सघाउनका लागि हामीले पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरेका छौं’, जनता समाजवादी पार्टी नेपाल, गोरखाका सचिव विपिनचन्द्र ढकालले भने।
प्रतिक्रिया दिनुहोस !