अनुदानको घरले जितेन मन
गोरखा : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गरेपछि पहिरोको उच्च जोखिममा रहेको धार्चे–४ लाप्राकका ६ सय १६ घरधुरीलाई गुप्सीपाखामा स्थानान्तरण गर्ने निर्णय भयो। पुनस्र्थापना गर्न गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर वन क्षेत्रको जग्गा लाप्राकीलाई भोगाधिकार दिन सरकारले नीतिगत निर्णय गर्यो।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्यहाँ ५ सय ७३ घर बनाइदियो। तर, लाप्राकवासी पहिरोको जोखिम सहेर पुरानै बस्तीमा बसेका छन्। अनुदानको जग्गा, अनुदानको घर र घर बनाउने तीन लाख रुपैयाँ सरकारी सहयोगको पर्वाह नगरी उनीहरू पुरानै थातथलोमा छन्। करिब तीन सय घर पहिरोले लगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिरो उच्च जोखिमको धार्चे–२ केरौंजा गाउँको स्थलगत भ्रमण गरे।
बचेखुचेको गाउँलाई पनि वरिपरि पहिरोले घेरा हालेको देखेपछि उनले तत्काल बस्ती स्थानान्तरण गर्नुपर्ने र त्यसको वातावरण आफूले मिलाउने घोषणा गरे। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्लास्तरीय विपद् व्यवस्थापन समिति र स्थानीय निकायले लामाबेंसीमा बस्ती सार्ने निर्णय गरे। मालपोत, नापी कार्यालयका कर्मचारीले जग्गा कित्ताकाट गरे। लालपुर्जा पनि वितरण भयो। प्राधिकरणले जग्गा खरिद गर्न दुई लाख र घर निर्माणका लागि तीन लाख रुपैयाँका दरले अनुदानको व्यवस्था पनि गर्यो। तर गाउँले सरेनन्।
गाउँ छेउको खोलाले धमाधम घर लान थालेपछि धार्चे–७ खानीगाउँका एक सय १३ घरधुरीको बिल्लीबाठ भयो। उनीहरूले रेडक्रसले दिएको त्रिपाल टाँगेर वन छेउछाउमा जीविका चलाउन थाले। भूगर्भविद्को टोलीले त्यहाँ बसोबास गर्न नहुने ठहर गरेपछि गाउँपालिकाले उनीहरूलाई गोरखा नगरपालिकामा सार्ने निर्णय गर्यो तर उनीहरू सर्न मानेनन्। अहिले उनीहरू पहिरोको सिरानमा बसिरहेका छन्। ‘पहिरोको डरभन्दा थातथलोको माया धेरै हुँदो रहेछ’, धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ भन्छिन्, ‘जन्मेहुर्केको पुरानो थलो, मानिआएका देउदेउताको थान, चिहानडाँडो, चण्डी, भुवानी, मण्डलीको थानको बढी माया भएकाले गाउँलले पुरानो थलो छाड्न सकेनन्।’
झरी पर्न थालेपछि डरत्रास र भागाभाग भए पनि झरी घटेपछि गाउँले आआफ्नै थलोमा बस्ने उनले बताइन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार एक हजार दुई सय ६१ घरधुरी पहिरोको उच्च जोखिममा छन्। लाप्राकमा ६ सय १६, केरौंजाको चार सय १५, खानीगाउँमा एक सय १३, बारपाक सुलीकोट गाउँपालिका १, २ र ३ मा ५७, चुमनुब्री–३ देवलमा २४, अजिरकोट–५ मा ३४, आरुघाट र उहियामा एक÷एक घर पहिरोको जोखिममा रहेको कार्यालयले जनाएको छ।
अहिलेसम्म तीन सय ६३ घरधुरी मात्र सुरक्षित ठाउँमा पुनस्र्थापित भएका छन्। केरौंजाका दुई सय ६९, देवलका १८, बारपाक सुलीकोटका २२ र अजिरकोटका ३१ घरधुरी मात्र अन्यत्र सरेका छन्। ‘गाउँ भनेको झट्ट हेर्दा देखिने घरगोठ मात्र होइन, त्यहाँको सामाजिक, सांस्कृतिक संरचना, जीविकोपार्जन पनि हो’, कार्यालय प्रमुख रामशरण आचार्य भन्छन्, ‘भौतिक संरचना, घर, गोठ सार्दैमा गाउँलेको मन सर्दैन। त्यहाँ लुकेका धेरै पक्ष हुन्छन्, जुन हामीले स्थलगत अनुगमन गर्दा गाउँलेबाट सुन्न र जान्न पायौं।’
प्रतिक्रिया दिनुहोस !