महानगरले चासो नदिएपछि पर्यटन व्यवसायी जुटे सडकका खाल्टाखुल्टी पुर्न
पोखरा : पोखरा महानगरपालिकाको मेयर पदमा विजयी भएपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा मेयर मानबहादुर जिसीले चुनावमा आफूले गरेको प्रतिवद्धता दोहोर्याउँदै सडकमा खाल्टा परेको २४ घण्टा भित्र पुरिसक्ने बताएका थिए । देशमै सबैभन्दा धेरै पानी पर्ने पोखरा सहरका सडकमा यति बेला खाल्टैखाल्टा परेका छन् ।
पोखराको बैदाम लेकसाइड जाने व्यस्त सडकमा महिनौंदेखि खाल्टैखाल्टा परेकोा छन् । सडकमा खाल्टा परेको २४ घण्टाभित्र खाल्टा पुर्ने बताएका मेयर मानबहादुर जिसी खाल्टाबारे जानकार छन् । महानगरपालिकाले सडकका खाल्टा पुर्न चासो नदेखाएपछि पोखराको पर्यटन क्षेत्रको व्यवसायीक घरना बाराही ग्रुपले निजी खर्चमा सोमबार र मंगलबार लेकसाइड क्षेत्रका सडकका खाल्टा सिमेन्टको ढलान गरी पुरेका हुन् ।
सडकमा परेका खाल्टाले सवारी साधन चलाउन र आम नागरिकलाई आउजाउ गर्न अप्ठ्यारो भएपछि सिमन्टले ढलान गरी पुर्ने काम गरिएको बाराही ग्रुपका निर्देशक वैभव पौडेलले बताए ।
मुख्य सडकका खाल्टो पुर्ने क्रममा लेकसाइडका भित्रभित्रका सडकका खाल्टा पनि पुर्न माग आएकाले डेढ लाख बढी खर्च लाग्ने उनले सुनाए । पोखरा महानगरपालिका वडा नम्बर ६ भित्रका मुख्य सडक बुलौदीदेखि हल्लन चोक, फिर्केसम्मका खाल्टा बाराही ग्रुपले डेढला लाख बढी खर्च गरेर पुरेको पोखरा महानगरपालिका ६ का वडा सदस्य हरिकृष्ण पहारीले बताए ।
सडकमा खाल्टा परेपछिसम्बन्धी निकायलाई ध्यान आकर्षण गर्न सडकमा धान रोप्ने, सडक नै अबरुद्ध गर्ने जस्ता संस्कृति बढीरहेको बेलामा महानगरपालिकालाई सचेत गराउन सिमेण्टको ढलान गरी खाल्टा पुर्ने काम उदारहणीय रहेको पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले सुनाए । 
प्रतिक्रिया दिनुहोस !