हिमपहिरोमा मृत्यु भएका पर्यटन मजदुरको परिवारलाई बीमा रकम हस्तान्तरण
पोखरा : अन्नपूर्ण आधाशिविरको पदयात्रा मार्गमा माघ ३ गते गएको हिमपहिरोमा परी मृत्यु भएका पर्यटन मजदुर सरोज परियारका परिवारलाई बीमा रकम दश लाख पोखरामा हस्तान्तरण गरिएको छ ।
ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पर्यटन मजदुरका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गराउँदै आएको छ ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेल, पूर्वअध्यक्ष दिपक अधिकारी, सचिव जिबनराज सापकोटा, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी शाखा प्रमुख कबिराज पौडेललगायतले संयुक्तरुपमा मृतक सरोजका बाबा ससे परियारलाई बीमा रकम हस्तान्तरण गरेका हुन् । कोरोनाको कारण बीमा रकम हस्तान्तरण ढिलो भएको टानका अध्यक्ष भुजेलले बताए ।
चितवनका २१ वर्षीय सरोज चिनीयाँ पर्यटकको गाइडको रुपमा अन्नपूर्ण आधाशिविरतर्फ पर्यटकलाई लगेर फर्कने क्रममा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिलका ११ हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको पहिरोमा परी हराएका थिए । उनको शव फागुन १६ गते फेला परेको थियो । पहिरोमा परी ४ कोरियन पर्यटक, ३ नेपालीसहित ७ जनाको मृत्यु भएको थियो ।
दर्ता नभएका ट्रेकिङ कम्पनी र आफू खुशी पर्यटन मजदुरका रुपमा पदयात्रामा जार्ने पर्यटन मजदुर र पर्यटक स्वयम पनि अप्ठरोमा पर्ने गर्दछन् । पर्यटन मजदुरको रुपमा पदयात्रामा जाँदा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीमार्फत मात्र जान मजदुरलाई ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेलले अनुरोध गरे ।
आफू खुशी पर्यटक मजदुरको रुपमा गाइड वा सहयोगीको रुपमा जाँदा अप्ठ्यारो पर्ने, दुर्घट्ना बीमा पाउने लगायतका सहयोग पाउनबाट बञ्च्चित हुनुपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने टान पश्चिमाञ्चल क्षेत्री संघ पोखराका पूर्व अध्यक्ष तथा उद्धार संयोजक दिपक अधिकारीले बताए ।
ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले वर्षेनी ५० जना सहयोगी र २५ जना पर्यटन गाईड गरी ७५ जना पर्यटन मजदुरका लागि ब्लकमा इन्सुरेन्स गर्दै आएको टाका सचिव जिबनराज सापकोटाले बताए ।
पोखरामा १ हजार जना पर्यटन गाईड र ५ सय भन्दा बढि पर्यटन सहयोगी रहेको सचिव सापकोटाले बताए । कोरोना संक्रमणको कारण पर्यटन उद्योग नै संकटमा परे पछि पर्यटन मजदुर पनि यति बेला बेरोजगार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस !