होटल रेस्टुरेन्ट खुले, तर रित्तै
पोखरा : कोभिडको संक्रमण नियन्त्रण गर्न महिनौ बन्द रहेर साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। लामो बन्दपछि होटल सञ्चालनमा आए पनि पर्यटक अभावमा सञ्चालन खर्च धान्न सकिने अवस्था नरहेको पर्यटन व्यवसायीले बताएका छन्।
घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पलायन हुने अवस्था छ। भदौ १ गतेदेखि लामो दुरीका सवारी र आन्तरिक तथा वाह्य हवाई उडान सञ्चालन हुने आशमा होटल तथा रेस्टुरेन्ट सञ्चालन तयारी अवस्थामा रहेका होटल तथा रेस्टुरेन्ट व्यवसायी अहिले निराश छन्।
कोरोना संक्रमण फैलँदो अवस्थामा रहनु, लामो दुरीका बस, आन्तरिक तथा वाह्य हवाई सेवा सुरु नहुनुको कारण स्वदेशी तथा विदेशी पर्यटक घुम्ने अवस्था छैन। पोखरेली ग्राहकबाट पोखरामा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी खुलेका रेस्टुरेन्ट सस्टेन हुने अवस्था नरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए।
कास्की बाहिरबाट स्वदेशी पर्यटक आउने र विदेशी पर्यटक पनि आउने अवस्था नरहेसम्म होटल तथा रेस्टुरेन्ट सस्टेन हुने अवस्था नरहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले सुनाए। लामो दुरीका बस, आन्तरिक तथा बाह्य हवाई सेवा सुरु नभएसम्म होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि सञ्चालन गर्नु मात्र रहेको उनले बताए।
पोखराका होटलमा एक खर्ब २५ अर्ब लगानी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचनले जानकारी दिए। यहाँ साना ठूला गरेर ७ सय होटल छन्। पश्चिमाञ्चल होटल संघमा आवद्ध होटल चार सय रहेको संघका अध्यक्ष तुलाचनले बताए। पोखरामा ३० हजार बेड संख्या छ भने १५ हजार मजदुरले होटलमा रोजगारी पाएका थिए।
व्यवसाय चौपट भएपछि पोखरा लेकसाइडमा होटल भाडामा लिएर सञ्चालन गरेका ७० भन्दा बढी व्यवसायीले घरधनीलाई चाँवी बुझाएर घर फर्केको होटल संघका अध्यक्ष तुलाचनले बताए।
कोरोना संक्रमण बढिरहेकाले पनि होटल तथा रेस्टुरेन्टमा ग्राहक आइपुग्ने अवस्था नरहेको र आइहाले पनि कोरोना संक्रमण फैलने जोखिम रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले बताए।
सञ्चालनमा आएका लेकसाइडका विदेशी पर्यटक लक्षित रेस्टुरेन्ट सुनसान रहेको पोखरा लेकसाइडको चल्तीको रेस्टुरेन्ट मध्येको एक बीजीबीका सञ्चालक योगेश भट्टराईले बताए। रेस्टुरेन्ट सञ्चालनमा आए पनि सञ्चालन खर्च त के बिजुली पानीको बिल तिर्न पनि नपुग्ने अवस्था रहेको उनले सुनाए। कोरोना सुरक्षा प्रोटोकलअनुसार रेस्टुरेन्ट सञ्चालन गर्दा थप महँगो भएको उनले बताए।
अहिले रेस्टुरेन्टका ग्राहक भनेका पोखरेली र पोखरामा रहेका केही पर्यटक भएकाले सञ्चालन खर्चभन्दा पनि लामो समय बन्द रहेको रेस्टुरेन्ट सञ्चालन गरेर छिटो कोरोना नियन्त्रणमा आएको अवस्थामा विदेशी पर्यटकलाई पनि स्वागत गर्ने गरी वार्म अप जस्तै रहेको प्याराडाइज स्पोर्ट्स बारका म्यानेजर हरि पौडेलले बताए। लामो समय बन्द रहेको होटल तथा रेस्टुरेन्ट सुरु भए पनि ग्राहक आउने अवस्था नरहेकाले कर्मचारी पनि त्यसै अनुसार व्यवस्थापन गरिएको व्यवसायीले बताए।
रेस्टुरेन्टमा सतर्कता
पोखराका पर्यटक लक्षित रेस्टुरेन्ट सतर्कता अपनाएर सञ्चालनमा आएका छन्। पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा रहेका पर्यटकल लक्षित ठूला लगानीका रेस्टुरेन्टमा स्वचालित सेनिटाइजरको व्यवस्था, रेस्टुरेन्ट पस्नुअघि ज्वरो नाप्ने, ग्राहकलाई सेवा दिँदा सुरक्षा सतर्कता अपनाएर सेवा दिइएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले बताए। ग्राहकले खाना खाएर गएपछि पनि टेबललगायत वरपर सेनिटाइज गर्ने गरेको उनले सुनाए।
पर्यटक आगमन ठप्प भएकाले व्यापार भने नभएको उनले बताए। लामो दुरीका बस, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भएपछि पर्यटक आउने वातावरण बनाउन होटल तथा रेस्टुरेन्ट सञ्चालन गरिएको उनले सुनाए।
पोखराको लेकसाइडका करिब ५० प्रतिशत रेस्टुरेन्ट सञ्चालनमा आइसकेको र बिस्तारै रेस्टुरेन्ट सञ्चालनमा आउने क्रम बढेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। पोखरेली र पोखरामै रहेका विदेशी पर्यटक अहिले रेस्टुरेन्टका ग्राहक हुन्।
बिहीरबाट आउने क्रम सुरु नभएसम्म सञ्चालन खर्च पनि नउठ्ने व्यवसायी बताउँछन्। अहिले पोखराको लेकसाइडका बीजीबी, मुनडान्स, प्याराडिजो स्पोटर््स बार, चिल्लीबार, डान्सिङबोट, व्यञ्जन, डुंगा, त्रिसरालगायत रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। पोखराको लेकसाइडका रेवानसँग आवद्ध पर्यटक लक्षित एक सय रेस्टुरेन्टमा मात्र ४ अर्ब बढी लगानी रहेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका प्रथम उपाध्यक्ष बरालले बताए। कोरोना संक्रमण घट्नुको साटो बढ्दो क्रममा रहेपछि पर्यटन व्यवसायी अन्योलमा छन्।
प्रतिक्रिया दिनुहोस !