उत्तरी गोरखामा बाटैभरि धरापै धराप

उत्तरी गोरखामा बाटैभरि धरापै धराप

गोरखा : गोरखामा बिगतका वर्षमा भन्दा यस वर्षको वर्षायाममा धेरै पहिरो झर्‍यो । विशेषगरी उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा धेरै पहिरो गयो । पहिरोले दुई गाउँपालिकाका बासिन्दा हिड्ने मुख्य पदमार्ग जोखिम भएको स्थानीयबासी गुनासो गर्छन् ।

उत्तरी गोरखा जाने पदमार्गको दोभानखण्डको पहिरो ।

माथिबाट बाटोमा खस्ने पहिरो र बाटै बगेर बूढीगण्डकीमा खस्ने समस्याले दुई गाउँपालिकाका बासिन्दा समस्यामा छन् । ‘हावाडाँडाबाट माथि लागेपछि धेरै जोखिम छ’, धार्चे गाउँपालिका-५ माछाखोलाका धनकुमार गुरुङ भन्छन्, ‘कतै जानु पर्‍यो भने, मानि आएका देवदेवता, पितृदेवता सम्झेर हिड्नुपर्छ । भाग्यले पहिरो कटियो भने पनि फेरि त्यही बाटो कसरी फर्कने भन्ने पिरले निद्रै लाग्दैन।’ कतिपय ठाउँमा हातखुट्टाले टेकेर हिड्नुपर्ने अवस्था रहेको उनले बताए । 

सो पदमार्ग प्रसिद्ध मनास्लु क्षेत्र प्रवेश गर्ने पर्यटकीय पदमार्ग पनि हो । खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री बोक्ने एकमात्र साधन खच्चड पनि पहिरोमा परेर धेरै मरेको धनकुमारले जानकारी दिए।

उत्तरी गोरखा जाने पदमार्गको चिसापानीखण्डको पहिरो ।

विशेषगरी धार्चे २ दोभानस्थित पदमार्ग पहिरिएपछि आवतजावत गर्न कठिन भएको अर्का स्थानीय सोमकाजी गुरुङको भनाइ छ । ‘पहिरो पनि सानो छ र ? करिब करिब पाँचसय मिटर फराकिलो छ। दौडेर पहिरो कट्छु भन्न पनि नसकिने’, उनी भन्छन्, ‘एकजनाले छेउमा बसेर पहिरो हेर्ने, अर्को कुद्ने गर्दै हिड्नुपर्छ ।’ केहीदिनअघि माथिबाट खसेको पहिरोमा पुरिएर हिडिरहेका व्यक्तिको मृत्यु भएको उनले सुनाए ।

‘सिर्दिबासको फिलिम चिसापानीनेरको पहिरोले हिड्न सक्ने बाटै छैन’, उनी भन्छन्, ‘पानी नपर्दा पनि हिडिरहेका बेलामा गुटुटु पहिरो खसिरहन्छ, साह्रै जोखिम छ ।’ 

उत्तरी गोरखा जाने पदमार्गको चौरीखर्क पहिरोमा हिड्दै यात्रु ।

घोबाट फिलिम पुग्ने बेलाको चौँरीखर्कको बाटो झन खराब रहेको चुमनुब्री गाउँपालिका-७ छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउछन् । ‘तीन चार वर्ष भयो यो बाटो जोखिम भएको । कुनबेला पहिरो खस्छ केही थाहै हुन्न । हिडिरहेका बेला पहिरो खस्दा यसअघि धेरैजना घाइते समेत भए’, उनले भने।

घाँसदाउरा, मेलापात गर्न नडराइकन हिड्न सक्ने सजिलो गोरेटो, घोडेटो बाटो मात्रै भएपनि आफूहरुलाई निकै सजिलो हुने लामाको भनाइ छ। आठ वर्षअघि हेलिकोप्टरले बोकेर ल्याएको डोजर थन्किएर बसेको उनले बताए।

चुम्चेतको सर्दीभीरमा ठाउँठाउँमा पहिरो जाँदा स्थानीयबासीलाई आवतजावत गर्न निकै कठिन भएको छ । एउटा गाउँबाट अर्को गाउँ जाँदा पनि फर्किने हो कि होइन भन्ने अवस्था रहेको वडाअध्यक्ष लोप्साङ लामाले बताए। सरकारले सर्दीभीरको बाटो सजिलो बनाइदिए स्थानीयबासीलाई धेरै राहत हुने अपेक्षा उनले गरे । 


गोरखा सदरमुकामबाट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जाने पदमार्गको जगत सल्लेरीखण्ड ।


 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.