देवलका सात घर पहिरोले तान्यो, ११ घर उच्च जोखिममा
गोरखा : निरन्तरको वर्षापछिको पहिरोले चुमनुब्री गाउँपालिका ३ देवलका सात घरपरिवार विस्थापित भएका छन्। गाउँभन्दा तलको पहिरोले घर तान्न थालेपछि उनीहरु मनिचेत भन्ने ठाउँमा त्रिपाल टाँगेर बसेका गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्।
पहिरोले कान्छा गुरुङको दुईजनाको परिवार, रिमा गुरुङको चार जनाको परिवार, दलबहादुर गुरुङको चार जनाको परिवार, कुस्मान गुरुङको तीन जनाको परिवार, हर्क गुरुङको एक जनाको परिवार, रामकुमार गुरुङको चार जनाको परिवार र पलमान गुरुङको एक जनाको परिवार विस्थापित भएका उपप्रमुख गुरुङले बताइन्।
विस्थापित भएका उनीहरुलाई आइतबार गाउँपालिकाले त्रिपाल दिएको गुरुङले जानकारी दिइन्। व्लाक्सिकङको पहिरो माथिमाथि सर्दै गाउँसम्म पुगेको र धमाधम घर चर्कन थालेको सो वडाका अध्यक्ष रामकुमार गुरुङले बताए। ‘यो पहिरोले अहिलेसम्म व्लक्सिकङ, नासिवाला र लोक्पा गाउँका २१ वटा घर र फिलिम प्रावि स्कुल बगाइसकेको छ। उनीहरुलाई मनिचेतमा पुनर्वास गराइसकिएको छ’, वडाअध्यक्ष गुरुङले भने, ‘अब यसपालि पनि सात घर परिवार विस्थापित भए। ११ घर पनि उच्च जोखिममै छन्।’ उनीहरुलाई पनि मनिचेत भन्ने ठाउँमै जग्गा व्यवस्था गर्ने उनले बताए।
_20200816101833.jpg)
बूढीगण्डकीको बाढीले तानेर नाग्चेत गाउँलाई पनि जोखिम बनाएको वडाअध्यक्ष गुरुङ बताउँछन्। ‘नाग्चेतमा २५ घर जोखिममा छन्। तीमध्ये छ घर उच्च जोखिममा छन्’, अध्यक्ष गुरुङ भन्छन्, ‘घरमुनि बूढीगण्डकीले तानेको पहिरो छ। घरमाथि पहिरोले ठूलो ढुंगो अड्काएर राखेको छ।’ घट्टेखोला पनि पूरै गाउँ जोखिममा रहेको उनले बताए।
_20200816101834.jpg)
प्रतिक्रिया दिनुहोस !