प्रतिपक्षको खोजीमा नागरिक
राजनीतिक अर्थशास्त्री जोन स्टुअर्ट मीलले भनेका छन्, ‘जतिञ्जेल मैदानमा कुनै दुस्मन हुँदैन, गुरु र शिष्य दुवै आफ्नो कक्षमा सुत्न जान्छन्।’ विरोधीहरूले मानिसलाई आफ्ना सीमाबारे सतर्क र सचेत गराउँछन्। निद्राबाट ब्युझाउँछन्। आलोचनाले शक्तिमा रहेका मानिसलाई नीतिहरूमा सुधार र गतिविधिमा नियन्त्रण गर्न अनि जागरुक हुन सिकाउँछ। आलोचना र सुधार एक निरन्तर चलिरहने प्रक्रिया हो। यही आलोचना र सुधार क्रमले आधुनिक लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षको जन्म भएको हो।
लोकतन्त्रले असहमति र द्वन्द्व स्वीकार गर्छ। विपक्षको अस्तित्व संसदीय लोकतन्त्रको सबैभन्दा विशिष्ट विशेषता हो। यसले लोकतन्त्रको जीवनमा रक्तसञ्चार गर्छ। कुनै पनि राजनीतिक शक्तिको विस्तार र रूपान्तरण कठोर मेहनत र संघर्षबाट हुन्छ। साथै स्थापित भइरहन उसले आफूमा शुद्धता ल्याउने प्रयासलाई निरन्तरता दिएको हुन्छ। तर त्यसले पूर्णता भने पाएको हुँदैन। जस्तोसुकै पृष्ठभूमिबाट आएको राजनीतिक शक्ति होस्, सत्तामा पुगेपछि विधायिका, न्यायपालिका, कर्मचारीतन्त्र, सुरक्षासंयन्त्र र राज्यकोषसमेतमा आफ्नो पहुँच विस्तार र वर्चश्वले त्यसको छुट्टै दलीय चरित्र लगभग ध्वस्त हुन्छ। उसमा रहेको दृष्टिकोण र निष्ठा एक सुविधाभोगी र उन्मादी जमातमा परिणत हुन थाल्छ। यो कुरा नागरिक समाजलाई मन परेको हुँदैन। सत्ताको उद्दण्डता नियन्त्रण गर्ने शक्तिको खोजी नागरिक समाजले गरिरहेको हुन्छ। यही खोजीलाई मूर्तता दिन सत्ताविरुद्धको मतलाई एकत्रित गर्दै उठाउने सबैभन्दा प्रभावकारी माध्यम प्रतिपक्ष हो।
सत्तारुढ दलले सामान्यतः विपक्षीहरूलाई दबाउन र सत्तामा टिकिरहन राज्यस्रोत प्रयोग गर्छ। विपक्षी दल यस विषयमा कमजोर रहन्छ। सत्तासँग लड्ने उसको हतियार भनेको उच्च नैतिकता, सिद्धान्तनिष्ठता तथा आन्तरिक लोकतान्त्रिक अभ्यासको सुनिश्चिततासहितको एकमना एकता हो। आम नागरिकको भावनालाई समेटेर जसले सत्ताको गलत क्रियाकलापविरुद्ध आफूलाई उभ्याउँछ, त्यो नै भावी सत्ताको स्वाभाविक दाबेदार ठहरिन्छ। लोकतन्त्रमा प्रतिपक्षको स्वच्छता र सक्षमताले आलोचनाको गरिमा बचाएर राख्छ। उसको आदर्श प्रस्तुतिले व्यवस्थालाई आदर्श बनाउँछ। उच्च नैतिक बल, विषयवस्तुको प्रभावकारी उठानले सत्तालाई बरालिन दिँदैन। यसबाट सत्तालाई सच्चिन र प्रतिपक्षलाई भावी सत्तापक्षका रूपमा आम नागरिकको ध्यानाकर्षण गर्न मद्दत पुग्छ।
सत्तापक्षभन्दा प्रतिपक्ष अग्रगामी र स्वप्नदर्शी हुनुपर्छ। सबै सम्भव सपना जनतालाई देखाएर जनमतको सृजना गर्नुपर्छ। समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने विधा राजनीति हो। नागरिक समाज हरपल सकारात्मक परिवर्तनको खोजीमा रहेको हुन्छ। यही नागरिक चाहनालाई एकीकृत गरी आफ्ना नीति तथा प्राथमिकतामा परिमार्जन गर्दै भ्रष्टाचारविरुद्ध लड्ने, सार्वजनिक साधनस्रोतको दुरुपयोग रोक्ने, संवैधानिक सर्वोच्चता र मानवअधिकारका पक्षमा संघर्ष जारी राख्नु प्रतिपक्षको जिम्मेवारी हो।
आगामी सरकारको चित्र कोर्न कांग्रेसले आफूलाई सच्याउनै पर्छ। आफ्नो नेतृत्वको विकल्प समयमै खोज्नुपर्छ, अन्यथा आम नागरिकले प्रतिपक्षकै विकल्प खोज्ने अवस्था आउँछ।
प्रतिपक्षका दुई स्वरूप हुन्छन् ः एक- व्यवस्थापिकाभित्रको, दुई- व्यवस्थापिकाबाहिरको। विपक्षका यी दुवै मैदानमा जसले प्रभावकारी भूमिका खेल्छ, त्यही नै जनआस्थाको केन्द्र बन्दछ। व्यवस्थापिकाभित्रको विपक्षी कमजोर भयो भने व्यवस्थापिकाबाहिरका विपक्षीको सक्रियता बढेर जान्छ। व्यवस्थापिकीय प्रतिपक्ष राजनीतिक स्थिरताका लागि महत्वपूर्ण मानिन्छ भने बाहिरको प्रतिपक्ष सत्तासँगै व्यवस्थाका लागिसमेत चुनौती बन्न सक्छ।
प्रतिपक्षले आफूलाई सत्ता सुविधाको लालसाबाट बाहिर राख्न नसकी सहमति र सहकार्यका नाममा सत्तापक्षसँग सौदाबाजी र राज्यस्रोतमा साझेदारीको दाबी गर्न थाल्यो भने प्रतिपक्षको अस्तित्व नै बिलाएर जान्छ। मुलुकका लागि त्यो झन् खतरनाक हुन्छ। यस्तो समझदारीले प्रतिपक्षविहीन सत्ता र स्वेच्छाचारितालाई प्रवद्र्धन गर्छ। प्रतिपक्षले आफूलाई वैकल्पिक सत्ताभन्दा पनि सहसत्ताका रूपमा प्रस्तुत गर्यो वा गैरजिम्मेवार भयो भने सरकार थप स्वेच्छाचारी बन्छ, जनता निराश हुन्छन् र प्रतिगमन वा विद्रोहका लागि बाटो खुल्छ।
२००७ सालमा प्राप्त प्रजातन्त्र २०१७ सालसम्म आइपुग्दा सफल हुन नसक्नुको एक मुख्य कारण कमजोर प्रतिपक्ष हो। यस्तै २०४६ सालमा पुनस्र्थापित प्रजातन्त्रले असल अभ्यास गर्न नसक्नुको प्रमुख कारण व्यवस्थापिकीय प्रतिपक्षको गैरजिम्मेवारीपना हो। यसबाट बाहिरको प्रतिपक्षी तत्कालीन माओवादीले खेल्ने मैदान पायो र यसैको आडमा प्रतिगमनको समेत फणा उठेको हो।
अहिले व्यवस्थापिकीय प्रतिपक्षका रूपमा रहेको नेपाली कांग्रेस कमजोर देखिएको छ। माइतीघर मण्डलासमेतमा देखिने विभिन्न संगठित÷असंगठित अभियानले यसको रिक्तता पूरा गरिरहेका छन्। बढ्दो अनियमितता, भ्रष्टाचार र स्वेच्छाचारिताविरुद्ध स्वस्फूर्त निस्किएको जनसमुदाय कुनै पनि राजनीतिक दलविशेषको उपस्थितिप्रति उदासीन देखिन्छ। यो त्यति सकारात्मक हैन। यसले निरन्तरता पाए राजनीतिक स्थिरतामाथि चुनौती बन्न सक्छ। विपक्षी दलका कतिपय नेताहरू यसैमा ऐक्यबद्धता जनाएर आफूलाई महिमामण्डित गर्दैछन्। अन्य असन्तुष्ट पक्षलाई ऐक्यबद्ध गर्दै मुद्दाको अगुवाइ गर्न छाडी व्यवस्थापिका बाहिरका विपक्षीका क्रियाकलापमा जनाइने प्रतिक्रिया मात्रले आफ्नै भूमिका र अस्तित्वलाई खुम्च्याउँदैछ। विकृति र विसंगतिविरुद्ध विकल्पसहितको पहिलो आवाज व्यवस्थापिकीय प्रतिपक्षले उठाउने हो।
व्यवस्थापिकीय विपक्षीको निरन्तर र सक्रिय उपस्थितिले हर प्रकारको तानाशाहीको प्रवेश रोक्छ। यही विषयलाई विद्वान् ए. लरेन्स लबेलले भनेका छन्, ‘सम्भावित जनमतको सीमाभित्रको कार्यक्रमसहित विपक्षी दलको अस्तित्व भनेको तानाशाहको मात्र होइन, कट्टरपन्थी मतविरुद्धसमेत अवरोध हो।’
संसदीय प्रणालीको जननी मानिने बेलायतमा सर्वप्रथम सन् १८२६ मा प्रतिपक्ष (अपोजिसन) शब्दको प्रयोग भएको पाइन्छ। संसदीय लोकतन्त्रमा ‘अपोजिसन’ शब्दको अगाडिको अक्षर ‘ओ’ क्यापिटल लेखिन्छ। यसबाट यसको महत्व प्रस्टिन्छ। अपोजिसन अर्थात् विपक्षी दलको नेता वैकल्पिक प्रधानमन्त्रीका रूपमा र उसका सहकर्मी सदस्यहरू वैकल्पिक मन्त्रीका रूपमा जनप्रतिक्षित हुन्छन्। तर वर्तमान ओली सरकारको स्वेच्छाचारिताको सर्वत्र विरोध हुँदै गर्दा जनस्तरबाट विकल्पका रूपमा प्रमुख प्रतिपक्षी दलका मुख्य नेताको चर्चा छैन।
ह्यारोल्ड जे. लास्कीले संसदीय लोकतन्त्रको सफल सञ्चालनका लागि दुई दल मात्र आवश्यक भएको बताएका छन्। तर विकासशील लोकतन्त्रमा थुप्रै पक्षहरू आफूलाई वैकल्पिक शक्तिका रूपमा उभ्याउने प्रयासमा रहेका हुन्छन्। तीमध्ये सत्तासँग चित्त नबुझाएका समस्त समुदायलाई एकत्रित गरेर अगाडि बढ्नेको अस्तित्वले मात्र निरन्तरता पाउँछ। यसरी सत्ताविरुद्धको बलियो गठबन्धन बनाउन प्रमुख प्रतिपक्षको भूमिकाले दुईदलीय सान्दर्भिकतालाई बलियो बनाउँछ।
हामीकहाँ अहिले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ। करिब तीन दशकयता पटकपटकका सत्ताभोगी यसको नेता छन्। प्रतिपक्षमा हुनुपर्ने जोसजाँगर तथा आम कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रवादी नागरिक समाजमा उत्साह भर्ने सामथ्र्य यिनमा पटक्कै देखिँदैन। सात दशक उमेर कटेका, पटकपटकको सत्ताअभ्यासले गलेका र कुनै सुनाम नकमाएका पात्रलाई शिरमा राखेको प्रमुख प्रतिपक्षबाट वर्तमान सत्ताको विकल्प प्रस्तुत हुनेमा विश्वास घट्दो छ।
कम्युनिस्ट सत्ताको दिनानुदिन बढ्दो धुत्र्यार्ईं त आलोचित छँदै छ। साथमा प्रतिपक्षका रूपमा कांग्रेससमेत नागरिक समाजबाट उत्तिकै आलोचित छ। आलोचनाबाट सुध्रिने पक्षमा न सत्ता देखिन्छ न त प्रमुख प्रतिपक्ष। मुलुकको सबैभन्दा ठूलो दुस्मनका रूपमा मौलाउँदो भ्रष्टाचारमाथि छानबिनभन्दा पनि त्यसको शृंखलीकरण र ढाकछोपमा सत्ता र प्रतिपक्षी नेतृत्वबीच सहकार्यको चर्चा छ। बढ्दो भ्रष्टाचारविरुद्ध आक्रोशित कार्यकर्ताहरू सडकमा पुग्दानपुग्दै अधिकांश भ्रष्टाचारका काण्डमा आफ्नै नेताको नाम जोडिएर आएपछि लुरुलुरु फर्कन विवश छन्। लोकतन्त्रनिम्ति लडेको भन्दा पनि यसैमा लडीबुडी खेलेर व्यवस्थालाई नै विकृत तुल्याएको आरोप नेतृत्वमाथि छ। यस्तो रुग्ण नेतृत्वले प्रतिपक्षका रूपमा कांग्रेसको लोकप्रियता बढ्दैन।
सत्तानिवृत्त भएपछिको राजनीतिक शक्तिले आफ्नो बहिर्गमनको निर्मम समीक्षा र शल्यक्रिया गरी रुग्ण र असान्दर्भिक पात्र र प्रवृत्तिलाई अवकाश दिन्छ। नयाँ स्वरूपमा आफूलाई सशक्त प्रतिपक्षको रूपमा उभ्याउँछ। अनि भावी सरकारको स्वाभाविक दाबेदारका रूपमा प्रस्तुत गर्छ। तर कांग्रेसले यस्तो आँट गरेन। गत निर्वाचनमा भएको शर्मनाक हारको नैतिक जिम्मेवारी लिई स्वहिर्गमित हुनुपर्ने मूल नेतृत्वले आफ्नो कार्यशैलीसमेत फेर्न तयार भएन। पार्टी विधानले दिएको स्वाभाविक कार्यकाल सकिएपछि मार्ग प्रशस्त गर्नुपर्नेमा सत्तापक्षको आन्तरिक द्वन्द्वमा खेलेर फेरि केही लिइछाड्ने ध्याउन्नमा नेतृत्व छ। जसले पार्टीभित्र प्रतिपक्षका रूपमा रहँदा वीजारोपण गरेको भागबन्डा संस्कृतिको रोगले कांग्रेस अद्यापि ग्रस्त छ। सत्ता वा विपक्ष जहाँ रहे पनि पद्धति बसाल्नेभन्दा पनि बाँडीचुँडी गरी भाँडो रित्याउने भान्सा बसाल्नु उनको स्वभाव हो।
अन्त्यमा, अघिल्लो चुनावी जितले उन्मत्त सत्तालाई सन्तुलित गर्ने, स्वेच्छाचारिता रोक्ने, मतादेशको ऐनामा तात्कालिक जनादेशको समेत प्रतिबिम्ब देखाउने र वैकल्पिक सरकारको छायाँले झस्काउँदै जिम्मेवार बनाउने काम सशक्त प्रतिपक्षको हो। प्रतिपक्षी दललाई छायाँ सरकार पनि भनिन्छ। अहिले कांग्रेसको नेतृत्व सत्ताको सहायक र कांग्रेस सरकारको छायाँजस्तै देखिन्छ। वर्तमान सत्ताका जनविरोधी कामकारबाहीको प्रतिरोधमा देखिएको हिच्किचाहटले कांग्रेसतिर प्रश्नैप्रश्न छन्। यसरी प्रतिपक्षीय धर्म निर्वाह हुँदैन। यो धर्म निर्वाह गर्दै आगामी सरकारको चित्र कोर्न कांग्रेसले आफूलाई सच्याउनै पर्छ। आफ्नो नेतृत्वको विकल्प समयमै खोज्नुपर्छ, अन्यथा आम नागरिकले प्रतिपक्षकै विकल्प खोज्ने अवस्था आउँछ। मुलुकका यावत् समस्या सम्बोधनमा जिम्मेवार राजनीतिक शक्तिका रूपमा कांग्रेस आजैदेखि गम्भीर बन्नुपर्छ। नागरिक समाज जिम्मेवार र सशक्त प्रतिपक्षको खोजीमा छ।
प्रतिक्रिया दिनुहोस !