६ दिन स्वाब बेपत्ता

६ दिन स्वाब बेपत्ता

इटहरी : गत साउन ३० गते इटहरीबाट १ सय २४ जनाको स्वाब धरानस्थित बीपी प्रतिष्ठान पठाइयो। इटहरीबाट स्वाब लिएर गएका एम्बुलेन्स चालकले स्वाबलाई लगेर प्रतिष्ठानको आइसोलेसन भवनको प्यासेजमा लगेर राखिदिए।

१ गतेसम्मको रिपोर्ट आइसक्दा पनि ३० गतेको नआएपछि हल्लीखल्ली भयो। इटहरीले स्वाब पठाएको भन्यो। तर, प्रतिष्ठानले नपाएको जानकारी दिएपछि स्वाब हराएको पक्कापक्की भयो। होहल्ला भएपछि सफाइ कर्मचारीले आइसोलेसनको प्यासेजमा नीलो बाकस देखेको जानकारी दिए। स्वाब त भेटियो। तर, ६ दिनपछि भेटिएको स्वाब परीक्षण गर्न योग्य थिएन। अब ती सबै स्वाब दिनेहरूसँग फेरि स्वाब लिनुपर्ने निष्कर्ष निकालियो।

६ दिनसम्म पनि स्वाब परीक्षण नभएर फेरि संकलन गर्नु परेपछि इटहरी उपमहानगरपालिका र प्रतिष्ठान दुवैले एकअर्कालाई आरोप लगाएका छन्।

‘खासमा यस्तो भएको रहेछ। स्वाब संकलन गर्ने वार्ड त्यही दिन आइसोलेसन वार्डबाट दुई सय मिटर पर रहेको कोभिड अस्पताल सरेको रहेछ। ड्राइभरले लगेर पुरानो भवनमा राखिदिएछन्। त्यहाँ प्रायः कोही जाँदैनन्। ‘ड्राइभरले ल्याएर कसैलाई पनि नभनी छाडेर गएछन्,’ प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले भने, ‘न पठाउनेले पठाएँ भनेर सम्पर्क गरे, न ल्याउनेले ल्याएँ है भनेर कसैलाई जानकारी दिए।’

स्वाब राखेर ड्राइभर फर्किए। त्यसपछि स्वाब आएको र पठाएको बारेमा दुवै निकायबीच समन्वय भएन। यसैका कारण १ सय २४ जनाको स्वाब कामै नलाग्ने गरी बिग्रियो।

इटहरी उपमहानगरपालिकाले भने कहिलेकाहीँ रिपोर्ट ढिलो आउने हुँदा रिपोर्ट कुर्दाकुर्दै ६ दिन बितेको जनाएको छ। पठाएको स्वाब परीक्षण नै गर्न नमिल्ने गरी बिग्रिएपछि इटहरी उपमहानगरपालिकाले उक्त दिन स्वाब दिनेहरूलाई सम्पर्क गरेर बोलाउन थालेको छ। तीमध्ये ८० जनाले शुक्रबार स्वाब दिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले जानकारी दिए। ‘कतिपयको फोन नम्बर गलत टिपिएको रहेछ, सोधखोज गर्दै बोलाउँदैछौं,’ उनले भने।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै इटहरीमा स्वाब टेस्टलाई तीव्रता दिइएको छ। दैनिक सवा सय बढी टेस्टहरू भइरहेका छन्। तर सम्बन्धित निकायको समन्वयमा त्रुटि भएका कारण यसरी संकलन गरिएको स्वाब ६ दिनसम्म अलपत्र परेको स्पष्ट हुन्छ।

प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानमा दिनमा हजारदेखि एक हजार पाँच सय वटासम्म स्वाब परीक्षणको लागि आउने गरेको छ। प्रदेश १ को १४ जिल्ला र २ को ३ वटा जिल्लाबाट परीक्षणका लागि पुग्ने स्वाब ढिलोमा दुई दिनमा परीक्षण गरिसक्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.