पोखरामा कोरोनाबाट तीन दिनमा तीन जनाको मृत्यु
पोखरा : पोखरामा कोभिड–१९ (कोरोना संक्रमण) बाट लगातार तीन दिनमा तीन जनाको मृत्यु भएको छ। तीनै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।
पछिल्लो पटक शनिबार पोखरा १४ का ५८ वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनको भाद्र ७ गते इमरजेन्सी अपरेशन गरिएको थियो। भदौं ८ गते कोभिड—१९ संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाइएकोमा भदौ १० गते रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
कोरोना पोजिटिभ पुष्टि भएपछि उनको प्रतिष्ठान अन्तर्गत कोभिड—१९ उपचार केन्द्रको आइसियुमा भर्ना गरी उपचार भइरहेको अवस्थमा शनिबार मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एकजना बिरामीको शुक्रबार मृत्यु भएको थियो। पोखरा १६ लामाचौरका ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत शुक्रबार जानकारी गराएका थिए। श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल गएका थिए। क्षेत्रीय अस्पताल आउनुअघि उनी अर्कै निजी अस्पतालमा २ दिन उपचार गराएका थिए। निजी अस्पतालले रेफर गरेपछि क्षेत्रीय अस्पताल गएका उनको कोरोना पुष्टि शुक्रबार मात्रै भएको थियो।
यसै अस्पतालमा बिहीबार ३२ वर्षीया कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा मृत्यु भएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !