खोला पसेर चक्लाबन्दी गरेको १३५ रोपनीको धान खेतमा क्षति
पोखरा : पोखरा महानगरपालिका २३ धारापानी स्थित अधेरी खोला किनारको १ सय ५४ रोपनी जमिन बाँझै थियो। ११ मुल घर परिवारको त्यो जमिन सन्तान बढ्दै जाँदा अहिले करिब ५७ जना दाजु भाइको अंशमा छ।
वर्षेदेखि बाँझै रहेको जमिनलाई गत वर्ष चक्लाबन्दी कार्यक्रम अन्तर्गत चक्लाबन्दी गरेर पोखरेली जेठोबुढो धान रोपीयो। गत वर्ष जेठोबुढो र अन्य स्थानीय जातको धान समेत गरेर करिव ८० मुरी धान उत्पादन भयो। चक्लाबन्दी गरेर खेती गर्दा धान राम्रो उत्पादन भएपछि किसानमा हौसला थपियो। यसवर्ष थप बाँझो जमिनमा समेत गरेर कुल १ सय ३५ रोपनी जमिनमा किसानले धान रोपे।
जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी सम्बन्धी व्यवस्था अनुसार किसानले गत वर्ष गण्डकी प्रदेश सरकार भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट १८ लाख ७१ हजार रुपौयाँ अनुदान पाएका थिए। यस वर्ष ५ लाख अनुदान पाए। यस वर्ष गण्डकी प्रदेश कृषि ज्ञान केन्द्र मार्फत धानबाली पकेट कार्यक्रमबाट थप जग्गा चक्लाबन्दीकालागि १६ लाख प्राप्त गरेको सोही चक्लाबन्दीका चक्लाबन्दी कार्यक्रम विकास समितिका अध्यक्ष विष्णु दाहालले बताए।
यस वर्ष ३ सय मुरी धान उत्पादन गर्ने लक्ष्यका साथ पोहोरभन्दा थप जमिनमा चक्लाबन्दी गरेर धान रोपेको उनले सुनाए। सोमबार राति परेको अबिरल वर्षापछि आएको बाढीले चक्दाबन्दी गरेर रोपिएको धान खेतमा खोला पसेर धानबालीमा क्षति पुगेको दहालले बताए। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल पुरिने क्रम रोक्न खेत नजिकैको अधेरी खोलामा यस वर्ष चेक ड्याम निर्माण भएको थियो।
त्यही सिल्टेसन ड्याम ढुङ, गेग्रयान,बालुवाले भरिएपछि खोला खेतमा सोझीयो र धानबाली नोक्सान गरेको उनले सुनाए। चेकड्याम भरिएर खेत तिर सोझिएको खोला नियन्त्रण गर्न सके केही धान उठ्न सक्ने भन्दै किसानले खोला व्यवस्थापनको माग गरेका छन्। बाढी स्थानीय खिमलाल भण्डारीको घर र कुखुरा फर्ममा समेत पसेको दाहालले बताए। १ हजार कुखुरा रहेको फर्ममा पानी पसेर सय बढी कुखुरा मरेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !