अरूको खुसी खोज्दै पर्यटन सुन्दरी

अरूको खुसी खोज्दै पर्यटन सुन्दरी

काठमाडौं : ‘मान्छे कति बेला खुसी हुन्छ ? ’ त्यसको कुनै निश्चित मापदण्ड छैन। कोही धेरै धनसम्पत्ति जम्मा पारेर खुसी हुन खोज्छन् त कोही आफ्ना ससाना चाहना पूरा गरेर। कोही आफू जितेर रमाउन चाहन्छन् त कोही कसैलाई जिताएर। अनि कोही दुःखी मुहारमा हाँसो थपेर आफू पुलकित भएको महसुस गर्छन् त कोही यसैलाई आफ्नो जीवनको पर्याय बनाएर जीवन जिउने कोसिस गर्छन्। यस्तै दुःखीको मुहारमा मुस्कान थपेर आफ्नो लक्ष्य खोज्दै हिँडेकी एक अभियन्ता हुन्, पर्यटन सुन्दरी अर्थात् ‘मिसेस नेपाल टुरिजम–२०१९’ छिरिङ डोल्मा शेर्पा।

हुन त उनी पर्यटन सुन्दरीको यो टाइटल जित्नुअघिदेखि नै विभिन्न तह र तप्कामा रहेर अरूको मुहारमा खुसी खोज्ने अभियानमा लागिसकेकी थिइन्। तर, यो उपाधिले आफ्नो अभियानमा लाग्न सहज भएको उनको अनुभव छ। भन्छिन्, ‘पहिलाभन्दा अहिले काम गर्न सहज भएको छ। एक त सबैले चिन्न थालेका छन्, अर्को मिसेस टुरिजमको टाइटलसहित प्रस्तुत हुँदा विश्वास दिलाउन सजिलो भएको छ।’

बाधा व्यवधान चुनौती हुन्। त्यसमा इन्जोय गरेर गरेर अघि बढ्नुपर्छ। समय आफ्नो पक्षमा आफैं आउँछ।

सुरुका दिनबाटै पर्यटन क्षेत्रसँग नजिक भएर काम गरेकाले होला, यसै क्षेत्रसँग उनको विशेष लगाव छ। हिमाल आरोहणका क्रममा ज्यान गुमाउने नेपाली दाजुभाइका सन्तान हुन् वा पथ प्रदर्शकका सन्तती, उनीहरूको शिक्षादीक्षा र स्वास्थ्यका लागि उनले पहल थालेकी छन्। यो उनको पछिसम्मको योजना हो।

अहिले कोरोना महामारीले सताएकाले उनको कार्ययोजनामा नयाँ सूची पनि थपिएको छ। ‘पहिलो प्राथमिकता अहिले जीवन बचाउनु हो। स्थिति सामान्य भएपछि अरू कुरा सोचौंला’, आफ्नो नियमित योजनालाई उनले कोरोनापीडिततिर सोझ्याएकी छन्। दैनिकी फेरिएको छ, आफ्नो गाँसभन्दा पहिले उनलाई अरूको भोको पेटको चिन्ता छ। हुन त उनी काम गरेर माम जुटाउनुपर्छ भन्ने सिद्धान्तकी पक्षपाती हुन् तर अहिले कामविहीन भएर भोकै परेकाहरूको पेट उनको चिन्ताको विषय बनेको छ। ‘सबै मिलेर अहिले नसक्नेलाई बचाउनुपर्ने समय आएको छ, अहिले जीवन बाँच्यो भने सहज भएपछि कमाएर खान सकिहालिन्छ नि’, उनको बुझाइ छ।

छिरिङ डोल्मा शेर्पा फाउन्डेसनमार्फत हिमाल आरोहणका पीडित बालबालिकालाई शिक्षाको व्यवस्था मिलाउन लागिपरेकी उनी फेसन र मोडलिङको यात्रासँगै समाजसेवामा लागेकी हुन्। यसका लागि उनले सहयोग कोष पनि खडा गरेकी छन्।

सन् १९७८ मा घरकी कान्छी छोरीका रूपमा जन्मेकी हुन् छिरिङ। स्कुले जीवनदेखि नै उनी अन्य साथीभाइभन्दा फरक स्वभावकी थिइन्। सानैदेखि समूह बनाएर गफ गर्नुपर्ने, नाचगान गर्नुपर्ने अनि सबैलाई खुसी पानुपर्ने। अरूको कुरा काटेर समय बिताउने र सिनेमा हेर्न जानेतिर उनको ध्यान हुन्नथ्यो। ललितपुरको फ्युचर स्टार हुँदै सेन्टमेरिजबाट स्कुले पढाइ सकाएपछि नै उनी काम गर्न थालेकी थिइन्। सुरुआती दिनमा पर्यटन क्षेत्रसँग नजिक भएर काम गर्न थालेकाले होला, उनको झुकाव यतातिर नै बढी भयो।

मिसेस टुरिजमको शीर्ष उपाधि जित्नुअघि नै उनी मोडलिङमा आइसकेकी थिइन्। ‘छोटा लुगा लगाएर अंग प्रदर्शन गर्नु मात्रै ग्लामर होइन। सांस्कृतिक पहिचानसहित आफ्नो कला प्रदर्शन पनि ग्लामर हो’, उनको यो क्षेत्रप्रतिको बुझाइ छ। उनी यसैलाई पछ्याउँदै अघि बढेकी छन्। गायन, अभिनय, मोडलिङ उनका रुचिका विषय हुन्। स्कुले जीवनमै १९७४ एडीका गितारिस्ट फिरोज स्याङ्तान र गायिका कुन्ती मोक्तानकी विद्यार्थी रहेकी छिरिङ संगीतबाट टाढा हुने त करै भएन, त्यसमाथि पनि सुन्दरीको ताज पहिररिएपछि फेसन र मोडलिङ उनको बेग्लै परिचय बन्यो। केही गीतका भिडियोमा मोडलिङ गरेकी उनी सांस्कृतिक र ऐतिहासिक चलचित्रमा नायिका बन्न चाहेको पनि नकार्दिनन्। ‘जस्तोसुकै फिल्ममा त खेल्दिनँ तर मेरो रुचिका विषयमा बन्ने फिल्ममा तपाईंहरूले मलाई देख्न सक्नुहुनेछ’, उनले भनिन्।

दुई सन्तानकी आमा भएर पनि उनले यी सबै कुरामा कसरी समय व्यवस्थापन गरेकी छन् त ? ‘चाहना भयो भने कुनै कुरा असम्भव छैन। थोरै दुःख होला, मेहनत बढी गर्नुपर्ला तर गाह्रो छैन’, उनले यता आउन चाहनेलाई हौसलास्वरूप भनिन्।

व्यवस्थापनमा स्नातकोत्तरकी विद्यार्थी छिरिङ अडिसनमा आएका आफ्ना ४६ प्रतिस्पर्धीबाट विजयी भएकी हुन्। ‘अन्तिमसम्म पुग्दा ११ जना बाँकी थियौं’, उनले प्रतिस्पर्धाको माहोल सुनाउँदै भनिन्, ‘प्रतिस्पर्धीमध्ये एकले टाइटल जित्ने हो, त्यो म बनेँ।’ विजेता भइसकेपछि जिम्मेवारी बढेको अनुभव गरेकी उनले पर्यटनसँग सम्बन्धित विभिन्न संस्थासँग जोडिएर काम गर्ने अवसर पाइन्। यसले उनलाई भविष्यसम्म यसै क्षेत्रमा लागिरहन ऊर्जा थपेको छ।

भविष्यको योजना सुनाउँदै उनले भनिन्, ‘कोभिडपछि अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने सोचमा छु। सहरी क्षेत्रमा मात्रै होइन, आफ्नो जिल्ला दोलखा लगायतका ठाउँमा मोडलिङ र पर्यटनको क्षेत्रमा विशेष कार्यक्रमका साथ प्रस्तुत हुनेछु।’ आफ्नो कर्मक्षेत्रमा लाग्न परिवारको सहयोग र साथ पाएकी उनी आफूलाई कर्मयोगी र भाग्यमानी सम्झन्छिन्। ‘बाधा व्यवधान चुनौती हुन्। त्यसमा इन्जोय गरेर अघि बढ्नुपर्छ। समय आफ्नो पक्षमा आफैं आउँछ’, उनको आत्मविश्वास छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.