स्वास्थ्य मापदण्ड बिर्सिएर बैंकमा भीड !
गोरखा : कोरोना फैलन सक्ने सम्भावनालाई पर्वाह नगरी राष्ट्रिय वाणिज्य बैंक गोरखामा ठूलो भीड लागेको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशनको वास्ता नगरी सेवाग्राहीको भीड लागेको हो।
प्रशासन कार्यालयले निषेधाज्ञा खुलाउँदा बैंक तथा वित्तीय संस्था, पसल, सरकारी कार्यालय लगायतका सार्वजनिक संस्थामा सेवाग्राहीलाई निर्धारित दूरीमा रहनु पर्ने निर्देशन जारी गरेको थियो।
कोरोनाको जोखिमको पर्वाह नगरी बैंकमा भीड लागेको बैंकका शाखा प्रबन्धक कपिल कार्की स्वीकार गर्छन्।
‘दूरी कायम गरेर बसिदिन हामीले बारम्बार आग्रह गरेका हौं’, उनी भन्छन्, ‘तर भीड लागेको छ। तीनजना सुरक्षा गार्ड परिचालन गरेका पनि हौँ। तर चाडबाड नजिकिएर पनि होला, आज आइतबार भएर पनि होला, असाध्यै भीड लागेको छ।’
कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाबारे ग्राहक सचेत नभएको उनको तर्क छ। आइतबार वाणिज्य बैंकअगाडि दिनभरिजसो करिब ५० मिटर लामो लाइन लागेको थियो। उनीहरु परस्पर ठेलमठेल गरिरहेका थिए।
निषेधाज्ञा खुलाउनु भन्दा अघि बैंकर्सलाई बोलाएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, गराउन निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।
‘सँधै अनुगमन गइरहनु पनि सकिदैन। सर्वसाधारण आफूहरु पनि सचेत हुनुपर्छ’, उनी भन्छिन्, ‘तैपनि हामी बैंकर्सलाई पुन सचेत गराउँछौँ।’
प्रतिक्रिया दिनुहोस !