सालकको खपेटा र आखेटोपहारसहित पक्राउ
पोखरा : पोखरामा एक युवा बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मंगलबार साँझ पोखरा ३१ सिसुवाबाट बनपोखरी तर्फजाँदै गरेको अवस्थामा २८ वर्षीय एक युवकलाई अवैध बाघको छालालगायत खपेटा र आखेटोपहारसहित पक्राउ गरेको हो ।
प्रदेश नम्बर ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका ४ बस्ने वर्ष २८ का सन्तोष लामिछाने पक्राउ परेका हुन् । उनले मोटरसाइकल पछाडि जेब्रा झोलामा लुकाएर ल्याएको अवस्थामा बाघको छाला १ थान, सालकको खपेटा १ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी ३ केजी ७ सय ५० ग्राम फेला पारी नियन्त्रणमा लिएर थप अनुसन्धान र आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय कास्की पठाइको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । कास्की जिल्ला भित्र बन्यजन्तुको आखेटोपहार अबैध ओसारपोसार तथा कारोवार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले जिल्ला प्रहरी कार्यालय कास्कीबाट बाघको छाला, सालकको खपेटा र आखेटोपहार सहित पक्राउ गरिएका लामिछानेलाई डिभिजन वन कार्यालय कास्कीमा बुझाएको बताए । पक्राउ परेको लामिछानेलाई वडा प्रहरी कार्यालय बगरमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।
प्रहरीले बाघको छाला भनि उल्लेख गरेको छाला सरसरती हेर्दा चितुवाको जस्तो रहेको डिभिजन वन कार्यालय कास्कीले बताएको छ । चितुवाको हो वा बाघको हो भन्ने एकीन गर्न छालाको स्याम्पल विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने डिभिजन वन कार्यालय कास्कीले बताएको छ । पोखरामा पहिलो पटक सालकको खपेटा समातिएको पनि डिभिजन वन कार्यालय कास्कीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !