ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी

ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी

काठमाडौं : वैधानिक ‘साहुकारी’को आरोप खेप्दै आएका सहकारी कोरोना भाइरस (कोभिड १९) का संकटमा उदार देखिएका छन्। तिर्नुपर्नै ब्याजको १५ प्रतिशतसम्म छुट दिएर सदस्यलाई सहुलियत दिएका छन्। यसका साथै ७० दिनसम्म बिना ब्याजमा १५ हजारसम्म ऋण दिनुका साथै सिंगल डिजिटमै ऋण दिएर सदस्यलाई व्यवसायिक बनाउन लागिपरेका छन्।

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले असार मसान्तसम्म ऋण तिर्ने सदस्यलाई ब्याजमा लाग्ने रकमो १५ प्रतिशत छुट दिएको बताए। ‘यस अवधिमा कसैलाई जरिवाना लिएका छैनौं’, उनले भने, ‘सावाँमा छुट दिन नसकिए पनि ऋण तिर्नेलाई ब्याजमा छुट दिएका छौं।’ 

सदस्यलाई २८ लाख ब्याज छुट दिएको उनले जानकारी दिए। चन्द्रागिरीका १३ हजार सदस्य छन्। त्यसमध्ये ऋण लिनेको संख्या दुई चार सय ८८ छन्। पोखराको रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले कोरोनाको संकटमा कुनै पनि ऋणी सदस्यबाट हर्जनावापतको रकम नलिइएको बताए। ‘असार मसान्तसम्म ब्याज तिर्ने सदस्यलाई १० प्रतिशतसम्म ब्याज छुट दिएका छौं’, उनले भने। 

एक हजार १० जनालाई ६३ लाख ४३ हजार रुपैयाँ छुट दिएको गुरुङले बताए। रोयलका ७ हजार पाँच सय जना सदस्य छन्। त्यसमध्ये ऋण लिएका एक हजार ३० मध्ये २० जनाले ब्याज तिर्न नसकेका कारण छुट नपाएको उनको भनाइ छ। विन्धवासिनी बचत तथा सहकारी संस्थाका म्यानेजर केबी लामाले सदस्यको आर्थिक हैसियत हेरी ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याज छुट दिएको बताए। संस्थाका ३७ हजार ८४१ सदस्य छन्। त्यसमध्ये ऋण लिनेको संख्या ११ हजार छ। 

गत आर्थिक वर्षसम्म ऋण तिर्ने सदस्यलाई १ करोड २३ लाख ५५ हजार रुपैयाँ व्याज छुट दिइएको म्यानजर लामाले बताए। ‘ब्याज नतिर्ने १५ जना बढी छन्’, उनले भने,‘उनीहरुले ब्याज छुट पाएनन्।’ बिन्धवासिनीले अति समस्यामा परेका सदस्यलाई २५ हजारसम्म दश प्रतिशतमा कोभिड १९ सहुलियत ऋण प्रदान गरेको छ। खान, बस्न समस्यामा परेका ३० जनाले यस्तो ऋण पाएका छन्।   

चन्द्रागिरीले दैनिक ज्यालादारी गर्ने सदस्यलाई निर्ब्याजै १५ हजार ऋण दिएको छ। ७५ दिनसम्मका सदस्यले निःशुल्करुपमा यस्तो ऋण चलाउन पाउँछन्। मजदुर लक्षित गरी ल्याइएको यस्तो प्रावधानबाट एकसय बढीले सेवा पाएको सिइओ श्रेष्ठले बताए। सेवाशुल्क नलिइ ऋण प्रदान गर्ने गरिएको संस्थाले जनाएको छ। 

चन्द्रागिरीले हायर पर्चेज, साना व्यवसाय, खुल्ला पसल, कृषि जन्य व्यवसाय, टनेल खेती, पशुपन्क्षी, सेवामुलक क्षेत्र, घरनिर्माणमा ऋण गएको जनाएको छ। पुँजीकोषको १० प्रतिशतसम्म ऋण दिंदा पनि डेढ करोडसम्म ऋण लैजान सक्ने उनले बताए।  

बाग्लुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले पनि सदस्यलाई ब्याज छुट दिएर राहत दिएको छ। ११ हजार ३ सय सदस्यमध्ये करिब ५ हजार सदस्यले ऋण लिएका छन्। अध्यक्ष चण्डिप्रसाद शर्मा ढकालका अनुसार असारसम्म ऋणी सदस्यलाई तिर्नुपर्ने ब्याजमा दश प्रतिशत छुट दिइएको बताए। असारसम्म २७ लाख ब्याजमा छुट दिइएको उनको भनाइ छ। संस्थाले कोभिड प्रभावित सदस्यलाई १० प्रतिशतमा १५ हजार रुपैयाँ ऋण दिने गरेको छ। महामारी यता हर्जनामा समेत छुट दिएको उनले बताए। 

सिंगल डिजिटमै ऋण

कतिपय सहकारीले सिंगल डिजिटमै ऋण दिन थालेका छन्। सरकारले कार्तिक १५ गतेदेखि कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने व्यवस्था गरेको छ। कोरोना भाइरस(कोभिड १९) का समयमा चन्द्रागिरी, रोयलले ९.९९ प्रतिशतमा कर्जा प्रवाह गरिरहेका छन्।

कोरोनाबाट प्रभावित सदस्यहरुलाई व्यवसाय प्रवर्द्धन गर्नको लागि साउनदेखि १० लाखदेखि तीस लाख रुपैयाँसम्म ऋण दिन सुरु गरेका सहकारीहरुले बताएका छन्। व्यवसाय प्रवर्द्धन गर्नका लागि रोयलले १० करोडको कोष खडा गरेको छ। अहिलेसम्म २१ जनाले ६४ लाख ऋण लिइसकेका छन्। सदस्यले यस्तो कर्जा न्यूनतम एक लाखदेखि १० लाखसम्म पाउँछन्। यसका लागि पूरानै धितोको आधारमा तर कोभिडले असर गरेको हुनुपर्ने लगायतका प्रावधान राखिएको छ। 

चन्द्रागिरी सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले कोभिडबाट प्रभावित अर्थतन्त्र उकास्न गत साउनदेखि ९.९९ प्रतिशतमा उद्यमी पुर्नकर्जा सुरु गरिएको बताउँछन्। ‘साउन यता १३ जनाले कर्जा लिएका छन्’, उनलै भने,‘सचेतना बढेको छ। यस्तो प्रकृतिको ऋण लिने क्रम सुरु भएको छ।’ चन्द्रगिरीले सदस्यलाई १३ प्रतिशतमा कर्जा प्रदान गर्दै आएको छ। 

सिइओ श्रेष्ठका अनुसार पुर्नकर्जा लिने सदस्यले व्यवसायिक काम देखाउनै पर्छ। ‘पहिलो त व्यवसाय दर्ता प्रमाणपत्र दर्ता चाहियो’, उनले भने, 'दर्ता नभए पनि फोटो व्यवसायको हिसाब किताबको विवरण चाहियो।’ पैसाको दुरुपयोग नहोस् भनेर यस्तो प्रावधान राखिएको उनको भनाइ छ। 

बिन्दवासिनीले १० प्रतिशतमै कृषि कार्यक्रम र व्यावसाय पुर्नस्थापना ऋण दिन सुरु गरेको छ। लामाका अनुसार व्यवसाय पुर्नस्थापना ऋण विगतको ऋणको २० प्रतिशत पाउने प्रावधान छ। बिन्दवासिनीले १३.५० प्रतिशतमा ऋण प्रवाह गर्दै आएको छ। सिवाईसीले महामारीबाट थलिएको व्यवसाय पुर्नस्पथापन गरी आयआर्जनमा जोड्न सहुलियत ऋण दिन सुरु गरेको छ। अध्यक्ष ढकालका अनुसार १० प्रतिशतमा पाइने व्यवसाय निरन्तरता कर्जा ५ लाखसम्म लिन पाइने व्यवस्था छ। यस्का लागि एक करोड ५० लाखसम्म कोषको व्यवस्था गरिएको छ। हालसम्म १५ जनाले लगेका छन्।  

चन्द्रागिरी, रोयल, बिन्दबासिनी र सिवाइसी मात्र होइन धेरै सहकारीले सदस्यलाई हर्जना मिनाह, ब्याजमा १५ प्रतिशतसम्म छुट, सहुलियत कर्जा प्रदान गर्दै आएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल बताउँछन्। ‘धेरै सहकारीले ब्याज छुट दिइरहेका छन्’, उनले भने, ‘अर्थतन्त्र धराशायी भएको बेला ब्याज छुट, बिमा तथा अन्य सेवाले सदस्यलाई ठूलो राहत मिलेको छ।’ 

सहकारी विभागले सहकारीलाई कोरोना भाइरस(कोभिड १९) को संकटका बेला ऋण तिर्न ताकेता नगर्न पुससम्म भाखा सार्न, ब्याज नलिन परिपत्र जारी गरेको छ। अध्यक्ष कँडेलले तत्काल ऋण तिर्न नसक्ने सदस्यलाई समेत सहकारीले भाखा सारेर, त्यस अवधिको ब्याज नलिएर राहत दिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.