मतदातबाट टुंगियो गण्डकी गाउँपालिकाको केन्द्र विवाद
गोरखा : तीनवर्ष लामो विवादपछि गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद साम्य भएको छ। मङ्गलबार आयोजित सभामा गाउँसभाका सदस्यले मतदान गरेर केन्द्र विवाद टुङ्ग्याएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए।
‘साविककै ओखलडाँडामा गाउँ कार्यपालिकाको कार्यालय राख्ने पक्षमा २२ मत र वनटारमा राख्ने पक्षमा २१ मत आयो’, उनले भने, ‘सामान्य बहुमतको आधारमा अब गाउँकार्यपालिकाको कार्यालय ओखलडाँडामै राख्ने निर्णय भयो।’
कांग्रेसबाट विजयी सदस्य यसअघिदेखि साविककै ठाउँको पक्षमा थिए भने नेकपाबाट विजयी सदस्य वनटारमा बनाउनु पर्ने अडानमा थिए। सोही विवादको टुंगो नलाग्दा असार १० गतेभित्र सम्पन्न भइसक्नु पर्ने चालु वर्षको गाउँसभा अहिलेसम्म हुन सकेको थिएन।
विवाद टुंगिएपछि मंगलबारदेखि सुरु भएको गाउँसभा बुधबारसम्म चल्ने भएको छ। ‘मंगलवार केन्द्रको विषय, विभिन्न ९ वटा विधेयक पास र अन्य विषयमा छलफल भयो’, वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मीले भने, ‘बुधवार १ बजे पुन बैठक बस्ने गरी मंगलबार ५ बजे स्थगीत भएको हो।’
गाउँपालिका अध्यक्षले चालु वर्षको नीति कार्यक्रम र उपाध्यक्षले बजेट प्रस्तुत गर्न बाँकी छ। ती दुबै विषयमा बुधबार छलफल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए।
प्रतिक्रिया दिनुहोस !