पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु
पोखरा : साहासिक खेल प्याराग्लाडिङको व्यसायिक उडान सुरु भएसँगै पोखरेली नै पोखराको आकाशमा कावा खान थालेका छन्। कोरोना संक्रमण नियन्त्रण गर्न चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउनसँगै साहासिक खेलका गतिबिधि पनि रोकिएका थिए।
लकडाउन खुकुलो भएसँगै असोज ५ गतेदेखि परीक्षण उडान सुरु भइ असोज १५ देखि पोखरामा प्याराग्लाइडिङ खेलको व्यवसायिक उडान सुरु भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। व्यवसायीक उडान सुरु भए पनि उड्न आउने पर्यटक भने छैनन्। साहासिक खेल रुचाउने पोखरेली नै प्याराग्लाइडिङ्मा रमाउन थालेको उनले सुनाए। फाट्टफुट्ट रुपमा काठमाडौंबाट आउने नेपाली पनि प्याराग्लाइडिङमा रमाउने गरेको उनले सुनाए।
अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान भएकोले पनि पोखरेली आर्कर्षीत भएको उनले जानकारी दिए। पहिले ७ हजार ५ सयमा उडान हुनेमा अहिले ५ हजारसम्ममा उडान पाइने भएकोले बिस्तारै प्याराग्लाइडिङमा उडेर पोखरा बजार, फेवाताल र हिमालको दृश्यावलोकन गर्न पोखरेली नै आकर्षित भएको उनले बताए।
पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन्। सबै कम्पनीमा गरी ३ सय ५० जना प्यारापाइलोटले रोजगार पाएका थिए। कोरोना कहरसँगै फुर्सदिला रहेका प्यारापाइलोटहरु लामो समय अभ्यास गर्न नपाएकोले कोही अभ्यास गर्दै त कोही व्यवसायिक उडान भर्न सुरु गरेका छन्। अहिले दैनिक ५० उडान हुन थालेको अध्यक्ष भण्डारीले बताए। व्यवसायिक उडान भने न्युन नै रहेको उनले सुनाए। पोखमा पहिले विदेशी प्यारापाइलोटको भरमा चल्ने प्याराग्लाइडिङ अहिले नेपाली प्यारापाइलोटको वर्चश्व रहेको छ। अहिले पनि २-३ जना विदेशी प्यारापाइलोटले प्याराग्लाइडिङ उडान भरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस !