बैंकबाट वृद्धभत्ता लिने व्यवस्थाले सास्ती, वृद्धवृद्धा भन्छन्- भत्ता दिएकाकी दुःख ?

बैंकबाट वृद्धभत्ता लिने व्यवस्थाले सास्ती, वृद्धवृद्धा भन्छन्- भत्ता दिएकाकी दुःख ?

गोरखा : सहिद लखन गाउँपालिका १ बक्राङकी ८१ वर्षीया देवीमाया गुरुङ वृद्धभत्ता थाप्न चार घण्टादेखि सदरमुकामको एक बैंक अगाडि पर्खिरहिन्। कोरोनाको जोखिमबाट बच्न उनले मुखमा मास्क त लगाएकी थिइन्, तर उनीजस्तै बैंक परिसरमा जम्मा भएका वृद्धवृद्धासँग भौतिक दूरी कायम गर्न सकेकी थिइनन्।

झण्डै ३० किलोमिटर कच्ची बाटो बोलेरो जीपमा कोचाकोच गरेर हल्लाउँदै, ठोक्काउँदै ल्याउँदा वृद्ध शरीर थकित बनेको थियो। त्यसमाथि पनि सदरमुकामको बैंकको आँगनमा लामो समयसम्म थेच्चिएर  बस्नुपर्दा असाध्यै पीडा महशुस भएको उनी बताउँछिन्। ‘यस्तो दुःख त कहिल्यै भएको थिएन’, गुरुङ भन्छिन्, ‘गाडीले हल्लाएर र ठोक्काएर उस्तै, यहाँ सिमेन्टको भुइँमा कुरेको कुरै गर्नुपरेको छ।’

उनी मात्र होइन, उनीजस्तै १४ जना वृद्धवृद्धा बुधबार दिनभर ग्लोबल आइएमई बैंकको परिसरमा अलपत्र बसेका परेका थिए। ‘पहिले पहिले घरघरमै लौ आमा लिनोस् तपाईको भत्ता भन्दै बाँड्न आउँथे। बोलीवचन पनि मिठो हुन्थ्यो। पैसा पाउँदा झन कति रमाइलो हुन्थ्यो। तर अहिले त भत्ता दिएका कि दुःख दिएका हुन् ?’, अर्की वृद्धा पवित्रा राना मगर भन्छिन्। 

वडा सदस्य दुर्गामाया गुरुङले बोलेरो जीपमा चारखेप गरी गाउँका १४ जना वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिनका लागि गोरखा बजार लिएर आएकी थिइन्। 

‘पहिले पहिले त हामीले गाउँमै घरघरमा गएर दिन्थ्यौँ। त्यही सजिलो थियो’, वडा सदस्य गुरुङले भनिन्, ‘अहिले अनिवार्य बैंकमा खाता खोलेर पैसा  राखिदिने भनेपछि बुढाबूढीलाई पनि सकस, हामीलाई पनि झन्झट भएको छ।’ 

१५ सय रुपैयाँ भाडा तिरेर भत्ता लिन आउनु परेकोमा उनले दुःख व्यक्त गरिन्। ‘यत्रो भाडा तिरेर बुढाबूढी आएका छन्। अझै बैंकले तीनजनाको त खाता खोल्न मिल्दैन भनेको छ’, उनले भनिन्, ‘बरु घरदैलोमै गएर भत्ता बाँड्नु ठिक थियो।’

गाउँपालिकाका प्रमुख रमेशबाबु थापा भने पहिलो पटक भएर सकस भएको तर्क गर्छन्। ‘बानी परेपछि त सहज हुन्छ। अहिले पहिलो पटक भएर दुःख जस्तो देखिएको हो’, उनले भने।

सबै पालिकाले बैंकका खाता खोली सामाजिक सुरक्षा भत्ता खातामा राख्न थालेपछि सबै ठाउँका वृद्धवृद्धाले सास्ती पाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.