अस्पताल लैजादै गर्दा कोरोना संक्रमितको मृत्यु
पोखरा : कोरोना भाइरस रोग कोभिड १९ को संक्रमणपछि घरमै बसेका ६७ वर्षी पुरुषको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । पोखरा १२ का ती पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार मध्याह्न जनाएको छ ।
स्वास्थ्यमा खराबी देखिएपछि उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइँदै थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माले जनाएका छन् ।
बुधबार साँझ पोखराकै गण्डकी शिक्षण अस्पतालमा तनहुँ दमौलीकी ६८ वर्षीया महिलाको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ छ । यता, नेपाल सरकार मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संक्रमितलाई उपचार खर्च आफै व्यहोर्न सूचना निकालेको छ । नेपाल सरकारले तोकेको लक्षित वर्गबाहेकलाई भन्दै उसले ४ कात्तिकदेखि लागु हुने गरी भनेर सूचना जारी गरेको हो ।
अस्पतालका निर्देशक प्राडा अर्जुन आचार्यले जारी गरेको सूचनामा खाना र खाना स्वयं व्यवस्थापन गर्न असमर्थ भए अस्पतालको क्यान्टिनमा नगद धरौटी राख्नसमेत भनिएको छ। 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोरोना संक्रमण भइ उपचाररत व्यक्तिहरु (सरकारले तोकेको लक्षित वर्ग बाहेक)ले मिति २०७७ कात्तिक ४ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयं व्यहोर्नुपर्ने जानकारी गराइन्छ,' अस्पतालले भनेको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदले भने संक्रमितको निशुल्क उपचार गराउने निर्णय बुधबार गरेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भने संघ सरकारको स्वामित्वमा छ ।
प्रतिक्रिया दिनुहोस !