मुटुको भल्ब फेरेकाले पनि सजिलै जिते कोरोना

मुटुको भल्ब फेरेकाले पनि सजिलै जिते कोरोना

पोखरा : यसै पनि मुटुरोगको नियमित औषधी खान्थे उनी। २४ वर्षअघि मुटुको अप्रेसन गरेयता उनी दिनहुँ औषधी खाइरहन्छन्। मुटुको भल्ब नै फेरे पनि उनको जिउज्यान भने हट्टाककट्टा नै छ। 

त्यसको पहेंली के भने उनी कहिल्यै नकारात्मक सोच्दैनन्। भन्छन्, ‘आत्मबल नै हो, सबैभन्दा ठूलो कुरा।’ त्यही आत्मबलका कारण उनले सगरमाथा र अन्नपूर्ण हिमाल आधार शिविरका म्याराथानमा उनले भाग लिए। संसारकै सबैभन्दा अग्लो भन्ज्याङ थोरङ सजिलै पार गरेका छन्। 

तिनै जोशिला र फुर्तिला फोटो पत्रकार राम गुरुङ कतै कोभिड १९ महामारीले छोइहाल्छ कि भनेर चनाखो भइरहन्थे। तर कहाँबाटकहाँबाट उनलाई कोभिड १९ को भाइरसले छोइहाल्यो। तर २५ दिनमा उनले सजिलै कोरोना परास्त गरेका छन्। 

यसको जस पनि उनी आफ्नै आत्मबललाई दिन्छन्। भन्छन्, ‘कोरोना संक्रमण भएको पहिलो खबर पाउँदा केही डर लागे पनि जित्छु भन्ने मेरो आत्मबल बलियो भएर आएको थियो।’

उनले आफूजस्तै मुटुको अप्रेसन गरेका, मुटुको समस्या भएका थुप्रैजना देखेका छन्। भेटेका छन्। उनीहरु सबैमा उनले देख्ने एउटै समस्या हो, ‘मुटुरोग लागेपछि जीवन नै अब सकियो जस्तो गरी पीर मानेको देखेको छु। सुनेको छु।’ तर राम भन्छन् ‘समस्या पीर मानेर सुल्झिँदैन। के खान हुने के नहुने हेक्का राखेर अनुशासित बन्नुपर्छ। डाक्टरले दिएको औषधी नियमित सेवन गर्नुपर्छ। बस यति भएपछि मलाई यो रोग लागेको छ भनेर चिन्ता मान्नु नै पर्दैन। जितिन्छ सबै खाले शरीरमा आक्रमण गर्ने भाइरस र रोगहरु।’ उनी कोरोना लागेका सबैलाई उच्च मनोबल बनाउन सुझाव दिन्छन्। 

‘जो संक्रमित हुनुभएको छ, उच्च मनोबल बनाउनोस्। खानपानमा ध्यान दिनोस्। रसिलो पोषिलो तातो झोल, बेसार पानी, प्रोटिनयुक्त खाना, फलपूmल खानोस्,’ राम भन्छन्, ‘फ्रिजमा राखेको चिसो केही पनि सेवन नगर्नोस्। रक्सी, चुरोट त छुँदै नछुनोस्। बस यति गरेपछि तपार्इंले पनि मैले जस्तै सजिलै कोरोनालाई परास्त गर्नु हुन्छ।’ 

कोरोना लाग्नासाथ रामले डा. भगवान कोइरालालाई फोन गरेका थिए। कोइराला तिनै डाक्टर हुन् जसले २४ वर्षअघि राम गुरुङको मुटुको अप्रेसन गरी भल्ब फेरिदिएका थिए। ‘उहाँले तिमी उच्च मनोबल भएको मान्छे सजिलै कोरोनालाई जित्छौं ढुक्क होऊँ भन्नु भएपछि थप ऊर्जा मिलेको थियो,’ भगवानले भनेका कुरा राम उद्धृत गर्छन्।  

उनलाई कोरोनाले कसरी छोयो उनैलाई पत्तो छैन। घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउँथे। सेनिटाइजर र पन्जाको प्रयोग गर्थे। साथीभाइहरुसँग सामाजिक भौतिक दुरी गरी बस्थे।

रुमा उनलाई सामान्य शरीर दुख्ने, ढाड दुख्ने, छाती दुख्ने जस्ता लक्षण देखा परेको थियो। अनि स्वाब दिए। नतिजा पोजेटिभ आयो। सुरुमा त तनावजस्तो लिएका थिए। तर पछि आफैंलाई सम्झाए र आत्मबल उचो बनाइहाले। घरमै बसे। रसिलो, पोषिलो तातो झोल पिए। १० दिनसम्म कुनै अरु लक्षण देखा परेनन्। तर पनि दोस्रो रिपोर्ट फेरि पोजेटिभै देखियो। भन्छन्, ‘आइसोलेसनमा बस्दाका दिनहरु तनाव र रमाइलोको मिश्रण रह्यो।’

रोगले भन्दा पनि तनावले ज्यान लाने हो कि भनेर उनले आफैंले आफैंलाई सम्झाइरहे। सकारात्मक सोचिरहे। भन्छन्, ‘धेरैले कोरोना जितिरहेका छन् भने मैले पनि कोरोनालाई जित्छु भन्ने पक्का ठानेँ। मैले हार्नुपर्ने कुनै कारण थिएन। मरिन्न भनेर ढुक्क बसेँ।’ 

कोरोना लाग्दाका समयमा रामले केही मानसिक असरचाहिँ भोगे। उनलाई लाग्छ सामाजिक दुव्र्यहार र अपहेलना अझै जित्नै बाँकी नै छ। उनका अनुभवमा कोरोना निको पार्ने औषधि भनेकै आफन्त र साथीसंगीको शुभेच्छा, हौसला र प्रेम नै हो। त्यसैले भन्छन्, ‘कोरोनाका बिरामीलाई हेलाँ नगरौं, माया गरौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.