खाल्डा नपुर्दा गाली खाएका पोखराका मेयरले भित्र्याए अमेरिकी प्रविधि

खाल्डा नपुर्दा गाली खाएका पोखराका मेयरले भित्र्याए अमेरिकी प्रविधि

पोखरा : सडकका खाल्डा २४ घन्टाभित्रै पुर्नेसहितका मुद्दा उठाएर चुनाव जितेका थिए पोखराका मेयर मानबहादुर जिसीले। उनले चुनाव जितेर आइसके पनि यसबीचमा पोखराका सडकमा हजारौं खाल्डा परिरहे। तर टालटुलमात्रै भयो। बर्खायाममा त झन् आज पुरेको खाल्डो भोलिपल्टै भत्कियो। धेरै पानी पर्ने यो सहरका सडक दुरुस्त भएनन्। त्यही समस्या सम्बोधन गर्न पोखरा महानगरपालिकाले मुख्य सडकहरुमा अमेरिकी प्रविधिको पिच गर्न थालेको छ। 

‘२४ घन्टामा खाल्डा पुर्छु भनेको पुरिएन भनेर धेरै गाली खाएँ’, मेयर जिसीले भने, ‘२४ वर्ष टिक्ने सडक बनाउँछु भनेको त्यस्तो प्रविधि हुँदो रहेनछ, अस्फाल्ट पिच गरेपछि ८-१० वर्ष टिक्छ भन्ने छ।’ 

महानगरपालिकाको कार्यालय नै रहेको नयाँ सडकबाट अस्फाल्ट पिचको काम सोमबारदेखि धमाधम भइरहेको छ। यसको औपचारिक सुरुआत भने दसैंअघि भएको थियो। दसैं सकिएपछि सोमबारबाट कामले गति लिएको हो। 

नयाँ सडकसँगै महानगरपालिकाले मुस्ताङ चोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, बुद्धचोक, रानीपौवा, वन क्याम्पस र महेन्द्रगुफासम्मका सडकमा अस्फाल्ट पिच गर्ने जानकारी मेयर जिसीले दिए। उनका अनुसार पर्स्याङ—सिद्धार्थचोक, चिप्लेढुंगा-महेन्द्रपुलसम्म, बगर, दीप, रानीपौवा र अमरसिंह चोकसम्मको सडक अस्फाल्ट प्रविधिको बन्नेछ। 

मेयर जिसीले यो वर्ष २५ किलोमिटर सडक अस्फाल्ट पिच हुने जानकारी पनि दिए। महँगो प्रविधिको यो कामका लागि महानगरपालिकाले २० करोड रुपैयाँ बजेट स्टिमेट गरेको थियो। तर ठेक्का भने १७ करोड रुपैयाँमा लागेको छ। अस्फाल्ट प्रविधि पिच गर्ने भनेर २ पटक टेन्डर आह्वान गर्दा पनि कसैबाट टेन्डर नपरेको मेयर जिसीले सुनाए। ‘पहिला यहाँका ठेकेदार कम्पनीहरुसँग अस्फाल्टका लागि चाहिने उपकरण लगायत प्रविधि रहेनछ’, उनले भने, ‘अहिले त अस्फाल्ट प्लान्टहरु आइसकेका छन्।’ यहाँका निर्माण कम्पनीहरु अस्फाल्ट प्रविधिमा राम्रो देखिए भने महानगरपालिकाका भित्री सडकमा पनि यही प्रविधिको पिच गर्ने पनि मेयर जिसीले सुनाए। 

अस्फाल्ट पिचको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ। कम्पनीका पोखरास्थित कन्ट्याक्ट म्यानेजर राजु रानाभाटका अनुसार न्युरोडको पिच एक सातामा सक्ने योजना छ। उनले त्यसपछि पालिखेचोकबाट केआइसिंह पुलतिरको काम गर्ने सुनाए। ‘महेन्द्रपुलबाट रानीपौवा हुँदै अमरसिंहचोकसम्मको कामलाई केही समय लाग्ला’, उनले भने, ‘त्यता खानेपानीको काम भइरहेको छ, त्यो सकिएपछि हामी पिच गर्छौं।’ 

अस्फाल्ट प्रविधि अनुसार अहिले रहेकै पिचमाथि ४ सेन्टिमिटर पिच थपेर सडक बाक्लो बनाइएको छ। पिच गर्न मेसिनको प्रयोग भएको छ। उपकरणबाटै अलकत्रसँग पकाइएको सामग्री सडकमा बिच्छ्याइएको छ। यो प्रविधिबाट पिच गर्न मानव संसाधन पनि कम प्रयोग भएको छ। अस्फाल्ट प्रविधिको पिच सडक ८ देखि १० वर्षसम्म टिक्ने प्राविधिक बताउँछन्। 

सीमित उपकरणहरुका कारण सबैतिर एकैपटक काम गर्न नसकिएको रानाभाटले सुनाए। नयाँसडकको काम सकेर पालिखेचोकबाट दीपसम्म पिच गरेपछि मुस्ताङचोकदेखि हल्लनचोकसम्मको काम सुरु गर्ने जानकारी उनले दिए। महानगरपालिका र प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयसँग एलाइट कम्पनीले गत आवमा ठेक्का सम्झौता गरेको थियो। रानाभाटकै अनुसार ठेक्काको म्याद आउँदो सन् २०२१ को मार्च महिनासम्म छ। 

अस्फाल्ट प्रविधिमा गिटी अलकत्रा पकाउने र बिच्छयाउनेसम्मको काम उच्चप्रविधिबाट हुने जानकारी रानाभाटले दिए। उनका अनुसार अलकत्रा पकाउँदा वातावरण प्रदूषित नहुने उपकरणसहितको प्लान्ट कम्पनीले धम्पुस फेदी घट्टेखोला नजिकै स्थापना गरेको छ। उक्त कम्पनीले याम्दीदेखि घट्टेखोलासम्म मध्यपहाडी राजमार्ग खण्ड पनि अस्फाल्ट प्रविधिकै पिच गर्ने ठेक्का पाएको छ। ‘बिजुलीका तारहरु नहटाइदिएर यतिका समय लाग्यो’, उनले भने, ‘अब हेम्जातिरको काम पनि हुन्छ।’ 

पोखरामै जिरोकिलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको सडक यसअघि नै अस्फाल्ट पिच भइसकेको छ। मुग्लिङ नारायणगढ सडकको पिच पनि अस्फाल्ट प्रविधिको भएको रानाभाटले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.