इन्द्रजीतलाई नागरिकता कहिले दिने ?

इन्द्रजीतलाई नागरिकता कहिले दिने ?

काठमाडौं : दसैं सकिएको भोलिपल्टै मुस्ताङमा रहेका इन्जिनियर इन्द्रजीत साफीले फोन गरे।‘नागरिकता नभएर मलाई निकै गाह्रो भैसक्यो। तलब खान पनि अफ्ठ्यारो भइरहेको छ। पान नम्बरको लागि नागरिकता नै चाहिन्छ। बैंक अकाउन्ट खोल्न पाएको छैन। कति धाउनु अदालत र प्रशासन कार्यालय?', दुखी हुँदै उनले भने, ' अब त मलाई आश लाग्नै छाडिसक्यो। कहिलेकाहीँ त लाग्छ माइतीघरमा गएर आत्मदाह गरुँ। अनि बल्ल बुझ्नेछ सरकारले नागरिकता नहुँदा जनतालाई बाँच्न कति कठिन छ भनेर।’

नैराश्यता र आक्रोशपूर्ण आवाजमा उनले राज्यविहीन हुनुको पीडा सरकारले नबुझेको बताए। उनका बाबुहरु ७ पुस्तादेखि नेपालका रैथाने हुन्। आमाको वंशजको नागरिकता छ। काका, काकी सबैले वंशजकै आधारमा नागरिकता लिएका छन्। बाबु छोराको नागरिकता बनाउने क्रममा भुलवस उनको हजुरबुवा र बुवाको नागरिकतामा जन्मसिद्ध लेखिदिए कसैले। बाबुछोरा दुवैले एकैदिन नागकिता लिएका थिए।  यही कारणले इन्द्रजितले अहिलेसम्म नागरिकता पाउन सकेनन्।  

नागरिकताका लागि इन्द्रजितले झेलेका दु:ख

करिव डेढ वर्षअघि इन्द्रजीत साफी झोलाभरि कागजपत्र बोकेर अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय तीनकुनेमा आएका थिए। उनले आफ्नो आमा बुवा र काका लगायत परिवार सम्पूर्णको नागरिकता देखाउँदै आफूले नागरिकता बनाउन जाँदा पाएका दु:ख सुनाएका थिए। सरकारी कर्मचारीले इण्डियन होला भन्दै गरेका उपेक्षा, फाइल फाल्दिंदै उनीप्रति गरेका नराम्रा व्यवहार अनगिन्ती थिए। 

कानुनी उपचारमा सहयोग गर्ने संस्था महिला कानुन तथा विकास मञ्चको कार्यालयमा पठाएका थियौं। अधिवक्ता सुस्मा गौतमले इन्द्रजीत साफीलाई कानुनी सहयोग गरिरहेकी छन्। सर्वोच्च अदालतमा मुद्धा परेको एक वर्ष बढी भैसक्दा पनि इन्द्रजीतको नागरिकता बनेको छैन। 

भरतपुर गाविस १  हाल गणेशमान झारनाथ नगरपालिका ३ भरतपुर धनुषाका रैथाने हुन् इन्द्रजीत। बुवा विक्रम साफी धोबी र आमा सोनावती देवीका जेठा छोरा हुन उनी। उनका भाइबहिनी कसैको पनि नागरिकता बन्न सकेको छैन। यसको अभावमा सरकारी जागिर लगायत सवारी चालक अनुमती पत्र समेत लिन पाएका छैनन् उनीहरुले। 

पेन्टागन कलेज तिनकुनेबाट प्लस टु सकेका इन्द्रजीतले नागरिकताकै अभावमा नेपालको कलेजमा भर्ना हुन पाएनन्।  इन्जिनियर पढ्ने रहरमा काठमाडौं पसेका इन्द्रजीतलाई फारम भर्ने बेलामै नागरिकता मागियो। तर उनीसँग नागरिकता थिएन।  नागरिकता बनाउन उनी गाउँ पुगे। वडाले सिफारित त दियो तर प्रशासनले नागरिकता दिएन। 

कारण थियो बुवाको नागरिकताको प्रकारमा जन्मसिद्ध लेखिनु। आमाको वंशजकै नागरिकता भए पनि उनको निवेदनलाई इन्कार गरियो। तीन महिनापछि आउन भनियो। पढाइ र जागिरको लागि फारम भर्न नपाएपछि उनी एक वर्ष नागरिकता बनाउनकै लागि गाउँमै भौतारिए। तर कसैले पनि उनको पीडा देखेन। 

दशौं पटक प्रशासन कार्यालय धाउँदा पनि नागरिकता नबनेपछि उनी थप पढाइको लागि भारतको हरियाणा पुगे। कर्नाल इन्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट कुन्जपुरा हरियाणामा सिभिल इन्जिनियरमा ४ वर्षे ब्याचलर्स गरेर नेपाल फर्किए। भारतमा पढ्दै गर्दा पनि उनलाई नागरिकता नहुनुको पीडाले सदैव अत्याइरहन्थ्यो। रेलको टिकट काट्न होस् या नेपालबाट बुवाले पठाएको पैसा झिक्न होस् नागरिकता नै चाहिन्थ्यो। नागरिकताको अभावमा उनले भारतमै पनि धेरै पटक प्रहरी प्रशासन खप्की खानुपर्यो। कलेजको सटिफिकेट देखाएर मात्रै समस्या समाधान हुन्थ्यो। कतिपटक त आतंकवादी हो कि भनेर शंकाको घेरामा समेत पर्थे उनी। प्रत्येक पटक नेपाल आउँदा नागरिकता बनाउन प्रशासन  गैरहन्थे तर कर्मचारीले फाइल नै फालिदिन्थे। 

पढाई सकेर डेढ वर्षअघि नेपाल फर्किएका उनी अहिले नागरिकता प्राप्तिको लडाइँमा छन्। नागरिकताका लागि उनले वडा अध्यक्ष, मेयर, प्रशासक, सिडियो, मुख्यमन्त्री, प्रदेश सरकार, प्रदेश नं २ को कानुन मन्त्री पनि भेटे। तर कसैले पनि नागरिकता दिलाउन सकेनन्। चुनावका बेलामा प्रमाण कागज पत्र नहेरी हजारौं मानिसलाई नागरिकता दिलाउने नेपाल सरकार सातपुस्तादेखि नेपालमै बसेको इन्द्रजीत साफीको परिवारलाई नागरिकता दिन तयार भएन। इन्द्रजीत जस्तै जन्मसिद्ध नागरिकता लिएका आमाबुवाका छोराछोरी यस्तै समस्यामा लडिरहेका छन्। राज्यविहीन भएर अफ्ठारो दैनिकी काटिरहेका छन्। 

इन्द्रजीत भन्छन्, ‘कि नेपाली नागरिक हैन भनेर प्रमाणित गर्नुपर्यो। हैन भने विना झमेला नागरिकता दिनु पर्यो। नागरिकता नहुँदा बैंकमा खाता समेत खोल्न मिल्दैन। जागिर पाइँदैन। सरकारी जागीर अप्लाइ नै गर्न मिल्दैन। ड्राइभिङ लाइसेन्स समेत लिन मिल्दैन। कसरी चल्छ हाम्रो दैनीकी ? पढ्दा घरमा रिन लागेको छ। अब जागीर खाएर रिन तिर्ने बेला भैसक्यो। कहाँ गएर खाने जागीर। बाँच्नु न मर्नु भैसक्यो।’ नागरिकताको अभावमा धेरै राम्रा अवसर गुमाउन बाध्य हुनुपरेको इन्द्रजीत कानुनी लडाइँ पनि सफल हुनेमा शंका गर्छन्। भन्छन्, 'नागरिकता विधेयक कहिले पास हुन्छ ? कानुन कहिले बन्छ। सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश विरुद्धको मुद्धा कहिले सुनुवाइ भएर निर्णय हुन्छ ? हामीले भोगिरहेको समस्यालाई कसले देख्छ ?' 

विएस बुल्डर कन्टक्सनमा सिभिल इन्जिनियरको रुपमा काम गरिरहेका इन्द्रजीत हाल मुस्ताङ साइटमा कार्यरत छन्। २०७६ भदौमा सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको छ। उनी भन्छन्, ‘मुद्धा तारिख र पेशीमै सिमित छ। खै कहिले बन्छ नागरिकता?' 

इन्द्रजीत लगायत उस्तै समस्या भोगेका आधा दर्जन व्यक्तिहरुको सामुहिक रुपमा सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको छ। अधिवक्ता सुस्मा गौतम उनीहरुले वंशजकै आधारमा नागरिकता पाउने कानुनी आधार भए पनि कहिले बन्छ भन्ने ठोकुवा गर्न नसक्ने बताउँछिन्। उनका अनुसार केही समयअघि गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता नदिनु भन्ने परिपत्र जारी गरेको थियो। यो परिपत्रका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। यो संसदको विषय हो। गृहमन्त्रालयले परिपत्र जारी गर्न मिल्दैन भन्ने व्यहोराको रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न  र नगराउनु जिल्ला प्रशासन कार्यालयलाई अन्तरिम आदेश जारी गरेको थियो। 

यो आदेशसँगै उस्तै समस्या भोगेका केही मानिसले नागरिकता लिए पनि। सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्ध पुन अदालतमा मुद्धा पर्यो। यो मुद्धा फैसला हुन बाँकी भएकाले नागरिकता सम्बन्धी विषय अदालतमा विचाराधीन अवस्थामा रहेको छ। 

गौतम भन्छिन्, ‘इन्द्रजीत लगायतकाले नागरिकता बन्नका लागि अदालतबाट विशेष नजिर बन्न आवस्यक छ। कि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक कार्यान्वयन हुनुपर्यो। नागरिकता  ऐनको अभावमा फैसला रोकिएको छ। नागरिकता ऐन संसदबाट पारित भयो भने पनि उहाँले नागरिकता पाउने बाटो खुल्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.