नेकपा विवाद : ओलीबिनै ‘बैठक’

नेकपा विवाद : ओलीबिनै ‘बैठक’

काठमाडौं : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने/नबोलाउने जुहारी छ। कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन्। बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे।

प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस्। म अहिले बैठक बोलाउँदिनँ। बैठकको आवश्यकता नै छैन। तपाईंले आफ्नो गर्नुस्, म आफ्नो गर्छु। दाहालले प्रस्ताव राखे, ‘सचिवालयका सदस्यहरूलाई पार्टी कार्यालय धुम्बाराही बोलाएर यहाँ भएका छलफल जस्ताको तस्तै ब्रिफिङ गर्छु। उहाँहरूको सुझावसमेत बोकेर फेरि म भेट्न आउँछु।’ प्रत्युत्तरमा ओलीले भने, ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ।’

रन्थनिएर बालुवाटारबाट बाहिरिएका दाहालले बिहीबार साझै नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुनलगायत नेतालाई यसबारे ब्रिफिङ गरे। वरिष्ठ नेता माधव नेपालसँग छुट्टै बसेर दाहालले सल्लाह गरे, ‘अब के गर्ने ?’ शुक्रबार बिहान वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँग पनि परामर्श गरे। फेरि नेपाललाई पनि बोलाए। सबैको सुझावमुताविक सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निचोड निस्कियो।

धुम्बाराहीमा पार्टी बैठक बोलाउने भन्दै बिहीबार बालुवाटारबाट निस्केका दाहालले सचिवालय बैठक बोलाउनै लागेको सूचना शुक्रबार बिहान बालुवाटार पुग्यो। परिस्थिति बुझ्न संसदीय दलका उपनेता सुवास नेम्बाङ खुमलटार गए। नेम्बाङसँग दाहालले सचिवालयका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने, त्यहाँबाट आउने सुझावका आधारमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कुराकानी भएको सुनाए। नेम्बाङले दुई अध्यक्ष अझै छलफलमा बसेर समझदारी खोज्न आग्रह गरेको बताए।

‘पार्टी एकता ऐतिहासिक प्रक्रिया घोषणा गरेर गर्नुभएको छ। दुई अध्यक्षले नगरेको भए यो एकतै हँुदैनथ्यो। अढाई वर्षपछि एकतालाई सफलतामा पुर्‍याइएन भने यसबाट उठ्ने प्रश्नहरूको जवाफ दिन तपाईं–हामी सबैलाई अप्ठ्यारो पर्छ। दुई अध्यक्षलाई यो प्रश्न आउँछ। के भन्नुहुन्छ तपाईहरूले ? त्यसकारणले यसलाई सफलताको विन्दुमा पुर्‍याउनुबाहेक अर्काे विकल्पै छैन’, दाहालसँग नेम्बाङले भनेका थिए, ‘अलिक समय लिए पनि छलफलबाटै समस्याको समाधान खोजी गर्नुपर्छ।’

दाहालले पनि नेम्बाङको कुरामा मुन्टो हल्लाउँदै भने, ‘मैले भनेकै त्यही छु, पार्टी एकता धेरै ठूलो कुरा हो। यसको रक्षामै लाग्नुपर्छ। बरु अलिकति समय लिएर भए पनि यसलाई सफल बनाउनुपर्छ।’

नेम्बाङ निस्केपछि नेपालसँग फेरि दाहालले निवासमै छलफल गरे। अनि बोलाए– सचिवालयको अनौपचारिक बैठक। प्रधानमन्त्री ओलीलाई बाहेक अन्य सबै सदस्यलाई दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बस्ने सूचना त्यसपछि दिइएको थियो।

सोही सूचनाका आधारमा धुम्बाराहीमा कार्यकारी अध्यक्ष दाहालको अध्यक्षतामा बहुमत सचिवालयका सदस्यहरूको अनौपचारिक बैठक बस्यो। दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठ त्यसमा सहभागी भए। प्रधानमन्त्री ओली, उनीपक्षीय नेता ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र तटस्थ देखिइरहेका रामबहादुर थापा भने गएनन्। पोखरेल र थापाले नआउनेबारे अवगत गराएनन्। स्रोतका अनुसार पौडेलले भने दाहाललाई फोन गरेर व्यस्त भएकाले नआउने जानकारी दिएका थिए। 

धुम्बाराहीमा बैठक चलिरहँदा प्रधानमन्त्री ओली बालुवाटारमै थिए। महासचिव पौडेल र गृहमन्त्री थापा भने गृह मन्त्रालयमा दुई अध्यक्षलाई कसरी समझदारीमा ल्याउने भन्नेमा छलफलमा थिए।

उता, बैठकमा दाहालले भने, ‘बैठकका लागि पटक–पटक प्रधानमन्त्रीसँग आग्रह गरियो। तर, उहाँले सहमति दिनुभएन। उल्टै तपाईंले औपचारिक बैठक बोलाउनुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछसम्म भन्नुभयो।’

 नेपालको टिप्पणी थियो, ‘बैठक नबोलाउनु र पार्टी विभाजनको कुरा गर्नु अक्षम्य अपराध हो। जसरी पनि बैठक बस्नुपर्छ। बैठक बस्नै नचाहेर कसरी हुन्छ ? त्यसो गर्न पाइन्छ ? गएर भेटेर भन्ने हो।’ बैठकमा त्यसकै सेरोफेरो मात्र कुरा भयो। सहभागीले ओलीपक्षीय नेताहरू बैठकमा नआएकामा आपत्तिसमेत जनाए। 

उक्त बैठकलाई ओलीपक्षीय नेता नेम्बाङले भने ‘स्वाभाविक’ भनी टिप्पणी गरे। ‘उहाँहरूको यो छलफल स्वाभाविक हो। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग बिहीबार कुरा गर्दा भोलि म धुम्बाराहीमा सचिवालयका सदस्यहरूसँग भेट्छु, यहाँ भएको कुरा ब्रिफिङ गरिदिन्छु, उहाँहरूका कुरासमेत लिएर तपाईंसँग भेट्न आउँछु भन्नुभएको थियो’, नेम्बाङले अन्नपूर्णसँग भने, ‘उहाँहरूको आज भेटघाट भयो। भोलि (शनिबार) बिहान प्रधानमन्त्रीसँग भेट्ने समय मिलाउनुभएको छ। यस्तो प्रक्रिया हुन्छ। यो एकदम स्वाभाविक हो।’

धुम्बाराही बैठकपछि दाहालले सञ्चारकर्मीसँग भने, ‘पार्टी विभाजन रोक्न अर्का अध्यक्ष प्रधानमन्त्री ओलीसँग पटक–पटक आग्रह गरेको छु। अझै प्रयास गर्छु। विगतमा पनि सहमति निस्केको छ। अहिले पनि निस्कन्छ।’

नेपालले पनि पार्टी कमजोर धरातलमा नरहेकाले नफुट्ने बताए। उनले भने, ‘पार्टीको जीवनमा अनेक उतार चढाव आउँछन्। कुनै एक व्यक्तिले चाहेर मात्र पार्टी फुट्न सक्दैन। विभाजनको कसैले सपना देखेको छ भने त्यो अक्षम्य अपराध हुन्छ।’ उक्त बैठकपछि नेताहरूले शनिबार बिहान प्रधानमन्त्री ओलीसँग सामूहिक भेट गरेर बैठक बोलाउन आग्रह गर्ने भएका छन्। त्यसका लागि उनीहरूले बिहान साढे ९ बजेलाई समय तय गरेका छन्।

 ‘कार्यकारी अध्यक्षले पार्टीको औपचारिक बैठक बोलाउन मिल्छ। तर, पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा एकतालाई जोगाएर अगाडि बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुन्छ। त्यसलाई दृष्टिगत गर्दै अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि (शनिबार) अध्यक्ष केपी ओलीलाई सहमतिका आधारमा बैठक छिटोभन्दा छिटो बस्न अनुरोध गर्ने निर्णय गरेका छौं,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले बिहान ९ देखि १० बजेको समय दिनुभएको छ। हामी गएर बैठकका लागि सामूहिक रूपमा आग्रह गर्छौं।’

अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताए।

महासचिवको छुट्टै दौडधुप
पार्टीका अध्यक्षद्वयबीच असमझदारी चुलिँदै गर्दा महासचिव विष्णु पौडेलले भने भदौ २६ को स्थायी समिति बैठकले पारित गरेको निर्णयका आधारमा फेरि समझदारीको प्रयास गर्नुपर्ने भन्दै सक्रियता बढाएका छन्। उनले यसबारे गृहमन्त्री थापासँग गृह मन्त्रालयमा झण्डै एक घण्टा छलफल गरेका थिए।

यसअघि प्रधानमन्त्री ओलीले थापालाई मंगलबार साँझ बालुवाटार बोलाएर कित्ता स्पष्ट पार्न भनेका थिए। थापा दाहाल र ओली दुवैले बोलाएको छलफलमा सहभागी हँुदै आएका थिए। उनले मंगलबार प्रधानमन्त्रीसँग पार्टी स्थायी समितिको निर्णय मानेर जान र मन्त्रिमण्डल पुनर्गठनमा पार्टीभित्र देखा परेका गुटगत समूहलाई नै छान्ने अधिकारसहित अहिले दिन आग्रह गरेका थिए।

थापालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेट गरेर एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेकी थिइन्। उनले शुक्रबार महासचिव पौडेलसँग पनि सोहीअनुसार कुरा राखेका थिए। पौडेलले पनि एकता बचाउन आफूहरूले पहलकदमी लिनुपर्ने थापासँग बताएका थिए। उनले विगतको विवाद समाधान गर्न दुई अध्यक्षले गठन गरेको कार्यदलका सदस्यहरूलाई पनि शुक्रबार टेलिफोन गरी एकपटक कार्यदलको रिपोर्टका आधारमा दुवै अध्यक्षलाई अगाडि बढ्न आग्रह गर्नुपर्ने बताएका थिए।

‘शंकरजीलाई पनि मैले भनेको छु, तपार्इं हामी पनि एकपटक बसौं, दुवै अध्यक्षसँग छलफल गरौं, त्यसका लागि अध्यक्षद्वयको समय मै निर्धारण गर्छु’, महासचिवले टेलिफोनमा भनेको भनाइ उद्धृत गर्दै कार्यदलका एक सदस्यले अन्नपूर्णसँग भने, ‘कार्यदलको रिपोर्ट लागू गरौं। स्थायी समितिको निर्णय कार्यान्वयन गरेर जान दुवै अध्यक्षलाई आग्रह गरौं। पार्टी एकता बचाएर जाऔं।’

महासचिव पौडेलको त्यस्तो प्रस्तावपछि शनिबार कार्यदलका सदस्यहरूले भेट गरी एक चरण छलफल गर्ने र दुवै अध्यक्षसँग संवाद गर्ने तयारी उनीहरूले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.