मालपोत कार्यालय गोरखाका ६ जनामा संक्रमण : सेवा ठप्प
गोरखा : गोरखाको मालपोत कार्यालयमा कार्यरत छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक महिला कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछिको कन्ट्याक ट्रेसिङमा अरु पाँच जनामा पनि कोरोना पोजिटिभ देखिएको मालपोत कार्यालयका प्रमुख देवेन्द्र थापाले जानकारी दिए।
कन्ट्याक ट्रेसिङका आधारमा १८ जनाको पीसीआर परीक्षण गरिएकोमा शनिबार दुईजना नायव सुब्बा, दुई कार्यालय सहयोगी र एक रामर्शदाताका कर्मचारीमा पोजिटिभ देखिएको कार्यालय प्रमुख थापाले जानकारी दिए।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केहीदिनदेखि मालपोत कार्यालय बन्द छ।
यससँगै शनिबार गोरखामा एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन्। गोरखा नगरपालिका क्षेत्रमा १४ जना पुरुष र पाँच महिला थपिएका र शहिद लखन गाउँपालिकामा १ जना थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।
गोरखा नगरपालिका-३ का एका, ६ का ९, ८ का ५, ९ का २, ११ का २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए।
स्वास्थ्य कार्यालयका अनुसार गोरखा जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या पाँच सय १५ पुगेको छ भने करिब ८० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !