बारपाकीले खुलाए नाकाबन्दी
गोरखा : धार्चे गाउँपालिकाविरुद्ध पाँचदिनदेखि लगाएको नाकाबन्दी बारपाकीले खुलाएका छन्। नाकाबन्दीले समस्याको समाधान नगर्ने भन्दै अवरोध हटाइदिएको स्थानीय युवा जीत घलेले जानकारी दिए।
‘धार्चे गाउँपालिकाले इपिसेण्टर तोडमोड गर्न खोज्यो भनेर बारपाक सुलिकोट गाउँपालिकाले विज्ञप्ति निकाल्यो। अब धार्चेबासीलाई नाकाबन्दी गर्नुपर्छ भनेर वडाअध्यक्षहरुको उक्साहटमा नाकाबन्दी भएको थियो’, घलेले भने, ‘दुवै पालिकाका प्रमुखहरु बसी छलफल गरी निचोड निकाल्नु पर्नेमा यत्तिका दिन बितिसक्दा पनि वार्ता गर्ने छाँटकाँटै देखिएन। त्यसैले आज दिउसो गाउँलेहरुले छलफल गर्दा नाकाबन्दी नै समस्याको समाधान होइन भन्ने निश्कर्ष निकाली बाटो खुलाइएको हो।’
नाकाबन्दी खुलाउन निरन्तर पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘हामीले बाटो अवरुद्ध गरेदेखि नै स्थानीय प्रहरीचौकीका प्रहरीमार्फत अवरोध हटाउन पहल गरिरहेका थियौँ’, सहायक प्रजिअ देवी पाण्डे खत्रीले भनिन्, ‘आज बाटो खुल्यो भन्ने खबर आएको छ।’
यसअघि इपिसेण्टर तोडमोड गरेको, सीमा क्षेत्रको ढुंगा, काठ उत्खनन गरेको र सीमा क्षेत्रमा एकातर्फी निर्णयले पदमार्ग बनाएको बिरोधमा भन्दै बारपाकीले साइनबोर्ड राखी गत कात्तिक १९ गते सडक अवरुद्ध गरेका थिए।
प्रतिक्रिया दिनुहोस !