गोरखा नगरपालिकाको सार्वजनिक सेवा पाँच दिन बन्द
गोरखा : नगरक्षेत्रभित्र कोरोना महामारी न्यूनिकरण गर्न भन्दै गोरखा नगरपालिका कार्यालयले पालिका मातहतका अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ।
आइतबार सूचना जारी गरी प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयको सार्वजनिक सेवा बन्द रहने जानकारी गराएका हुन्। साथै सामुदायिक तथा निजी विद्यालय भने मंसीर छ गतेसम्मका लागि बन्द गरेको सूचनामा उल्लेख छ।
‘नगरपालिका कार्यालय र १४ वटै वडा कार्यालयमा काम गर्ने कर्मचारीलाई रुघाखोकी, ज्वरो समेत आएको र केही कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गर्नु परेको हो’, प्रमुख प्रशासकीय अधिकृत पन्तले भने, ‘यी पाँचदिनको अवधिभर अत्यावश्यक बाहेकका सेवा बन्द रहन्छ।’
नगरपालिकाको बिभिन्न वडामा अन्यत्रबाट आउनेहरुलाई टोलबिकास संस्था र वडा कार्यालयमा जानकारी गराएर आउन समेत नगरपालिकाले अनुरोध गरेको छ।
बैंक तथा वित्तीय संस्था, बजारक्षेत्रमा भिडभाड नगर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि नगरबासीलाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए।
प्रतिक्रिया दिनुहोस !