सात महिनाको गर्भ बोकेर बलात्कृत बालिका प्रहरीमा
गोरखा : गत वैशाख ११ गते १४ वर्षकी मुनिया(नाम परिवर्तित) दिउसो साँढे १ बजे न्यूरो(तरकारी) टिप्न गोरखा नगरपालिका ८ स्थित डेरा नजिकैको पखेरामा गइन्। स्थानीय तुलबहादुर थापाले उनलाई देखे, गोठमा बोलाए।
‘न्यूरो टिपिदिने, कापी, कलम, लुगा किनिदिने भनेर फकाए’, पीडित बालिकाले प्रहरीसमक्ष बयान दिइन्, ‘अनि करणी गरे।’ भारत घर भइ लामो समयदेखि बुबा आमासित गोरखामा बस्दै आएकी मुनियाँलाई ५९ वर्षका थापाले घटना बारे कसैलाई नभन्न आग्रह गरे। डरधम्कीका कारण उनले घटना बारेमा कसैलाई नभनेको पनि प्रहरीलाई सुनाइन्। तर उनको महिनावारी रोकियो।
जबर्जस्ती करणी गरेका थापाविरुद्ध कारबाही गर्न माग गर्दै पीडितका बुबाले सात महिनापछि कात्तिक २३ गते आइतबार थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए। प्रहरीले जबर्जस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ तर आफूविरुद्ध पीडितहरु प्रहरीमा गएको सुइँको पाएका थापा फरार भएको प्रहरी निरीक्षक धर्म अधिकारी बताउँछन्। ‘हामीले मुद्धा दर्ता गरिसक्यौँ। प्रतिवादीको खोजी गरिरहेका छौँ’, उनले भने।
त्यस्तै १४ वर्षकी बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका १० छेपेटारका १९ वर्षका प्रेम तामाङविरुद्ध मुद्धा दर्ता भएको छ। बिहे गर्ने प्रलोभनमा गत कात्तिक १६ गतेदेखि १९ गतेसम्म आफ्नै घरमा ल्याइ करणी गरेको पीडित बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन्।
पीडितकी आमाले दिएको जाहेरीको आधारमा तामाङलाई पक्राउ गरी जवर्जस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
१७ वर्षकी किशोरीमाथि बारम्बार करणी गरेका १९ वर्षीय सरोजलाल मुखिया पनि पक्राउ परेका छन्। बारा जिल्ला सिम्रौनगढ नगरपालिका १ घर भइ हाल पालुङ्टार नगरपालिका २ मा ज्याला मजदुरी गरी बस्ने मुखियाले गत कात्तिक १५ गतेदेखि १७ गतेसम्म किशोरीमाथि पटक पटक करणी गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !