चुरोटको निहुँमा हत्या
पोखरा : चुरोटको निहुँमा झगडा हुँदा एकजनाको ज्यान गएको घटनामा संलग्नलाई प्रहरीले मंगलबार पक्रेको छ। पोखरामा दुई मजदुरबीच चुरोट हराएको भन्ने विषयमा भनाभन हुँदा एकले अर्कोलाई ढुंगाले प्रहार गरेको प्रहरीले जनाएको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिकाका २३ वर्षे नन्दलाल श्रेष्ठ दाङका २५ वर्षे कृष्ण चौधरीको हत्या आरोपमा पक्राउ परेको कास्की प्रहरीले बुधबार सार्वजनिक गरेको हो। नन्दलाल कवाडी संकलन गर्थे। कृष्णसँग उनको भेट त्यसै सन्दर्भमा भएको थियो। दुवै कवाडी संकलक रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जनाए।
कात्तिक २२ गते शनिबार कृष्णले नन्दलाललाई आफू बस्ने पोखरा ६ बसुन्धरा पार्कको प्रतीक्षालयमा लगेको र त्यहीं उनीहरुको झगडा भएको कास्की प्रहरी प्रवक्ता हमालले बताएका छन्। आरोपितसँगको बयानका आधारमा हमालले जनाएअनुसार त्यस दिन दुवैले रक्सी खाएका थिए। ‘प्रतीक्षालयमा कृष्ण ७ महिनाकी छोरीसहित बस्दा रहेछन्’, हमालले भने, ‘मेरी श्रीमतीले खाना पकाएकी छन्, गएर खाऊँ भनेर कृष्णले लिएर गएको रहेछ।’
प्रहरीकै भनाइमा दुवैले सौफी भन्ने रक्सी खाएर प्रतीक्षालय गएका थिए। त्यहाँ गएर पनि उनीहरुले थप त्यही रक्सी पिएको र चुरोट हरायो भन्ने विषयमा झगडा भएको थियो। खाना खाएपछि कृष्णकी श्रीमतीले चुरोट हराएको सुनाएपछि एक्कासि नन्दलाललाई कृष्णले ‘किन चुरोट चोरेको ?’ भन्दै हिर्काएका थिए। त्यसक्रममा कृष्णले नन्दलाललाई चुलोको ढुंगा प्रहार गरे। नन्दलालले त्यही ढुंगा खोसेर कृष्णको टाउकोमा हानेको प्रहरीले जनाएको छ। कृष्ण घाइते भएको थाहा पाएर प्रहरीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगे पनि उनी बाँचेनन्। भोलिपल्ट बिहान ९ बजे उनको अस्पतालमै मृत्यु भएको थियो।
घटनापछि बेत्तपा नन्दलाललाई तनहुँको आँबुखैरेनीमा मंगलबार त्यहाँको प्रहरीले समातेर कास्कीलाई बुझाएको हो। नन्दलालविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार साथीसँग झगडा गरे पनि उनको मृत्युको लख नन्नलालले काटेका थिएनन्। ‘आफ्नो रिक्साको माया मार्न नसकी त्यही रिक्सा चढेर तनहुँ पुगेको भेटियो,’ डीएसपी हमालले भने, ‘हामी मुद्दा दर्ता गरिसकेका छौं, प्रतिवादीले हत्या स्वीकारिसकेको अवस्था छ।’ नन्नलाल ती पांग्रे रिक्सा लिएर असोज पहिलो साता पोखरा आएका थिए।
प्रतिक्रिया दिनुहोस !