छठको गीतबाटै पर्वको उल्लास
जनकपुरधाम : केरवाके पातपर उगेला सुरुज देव झाके झुके
छठ पर्व आउनु एक महिना अघिदेखि नै तराई मधेसमा लोकगीतहरू गुञ्जायमान हुन्छन्। घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा गीत झुन्डिरहेको हुन्छ।
मारवौ रे सुगवा धनुषसे सुगा गिरे मुरझाए...
यस गीतमा छठी मातालाई चढाउने फलफूल कतिसम्म चोखो हुनुपर्छ भन्ने वर्णन गरिन्छ। छठ मातालाई चढाउने केरा सुगाले नखाऊन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ।
चार दिवसीय यस पर्वको सुरुवात बुधबारबाट हँुदै छ। पर्वको पहिलो दिन नहायखाय हुन्छ। यस दिन व्रतालुले पूजाका लागि चोखो माटोले चुल्हो बनाउने गर्छन्। व्रत प्रारम्भका लागि मानसिक रूपमा तयार हुन्छन्। चोखो भई नुहाएर चोखो खानेकुरा नै खाने हुनाले पहिलो दिनलाई नहायखाय भनिएको हो।
पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजा सामग्रीको वर्णन गीतबाटै गरिन्छ। छठ पर्वको विशेष रौनकता व्रतालु महिलाले श्रद्धापूर्वक यसका गीतहरू गाउनुबाट हुन्छ।
काँच हि बाँसके बहंगीया, बहंगी लचकत जाय
होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय...
अर्थात् काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पुर्याउन छठ माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू बहँगी घाटमा पुगून्।
पण्डित विष्णुदेव मिश्रका अनुसार छठका गीत महिलाले जीवन्त बनाएर राखेका छन्। निकै श्रद्धा र आस्थाका साथ गरिने यस पर्वका लागि पोखरी र जलाशयहरू सफा सुग्घर गरी सजाउने गरिन्छ। निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँच पटक साष्टांग दण्डवत् गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यहरूले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन्।
त्यसपछि व्रतीले सन्ध्याकालीन अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिन जलाशयमा प्रवेश गर्छन्। सूर्य अस्ताउनुभन्दा केही समयपहिले नै पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन्, गीत र भजन गाउँछन्। व्रतालुले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूर लगाएर अक्षता र फूल राखी अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी (अस्ताउँदै गरेको) सूर्यलाई अर्पण गरेर जलाशयबाट बाहिर निस्कन्छन्। यस समयमा पनि गीत र भजन छुट्ने कुरा हुँदैन।
प्हिल पहिल छठि मैया कएली वरत तोहार,
हमरो पर रखिहा हे मैया अप्पन कृपा अपार...
अर्थात् पहिलो पटक हे माता तपार्इंको व्रत गरेको छु, यस्तोमा यस कठिन व्रतलाई पार लगाउन ममाथि आफ्नोे कृपा बनाइराख्नुहोला।
चौथो दिन वा सप्तमी छठको अन्तिम दिन हो। यसलाई मैथिलीमा पारन पनि भनिन्छ। व्रत लिनेहरू बिहानै उषाकालमा पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अघ्र्य दिइसकेपछि यो पर्व समापन हुन्छ।