‘कोरोनाले ठूलो संकट’

‘कोरोनाले ठूलो संकट’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा बिहीबारदेखि सुरु भएको छ। साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समस्या निजी क्षेत्र र सरकारले संयुक्त रूपमा  समाधान गर्ने बताए। कोरोनाले अर्थतन्त्रमा संकट आएको बताउँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्र र सरकारको संयुक्त प्रयासबाट लयमा ल्याउन सकिने बताए। कोरोना महामारीले सबै देशलाई आक्रमण गरेको भन्दै नेपालको अर्थतन्त्र सबल बनाउन सरकार सजग भएको उनको भनाइ छ। 

भ्याक्सिन आएपछि कोरोनाको महामारी अन्त्य हुने उनले विश्वास व्यक्त गरे। कोभिडले अर्थतन्त्रमा पारेको असर र प्रतिकूलता पराजित गरेर अर्थतन्त्रमाथि उठाउन सहकार्य आवश्यक भएको उनको भनाइ छ। गत वर्ष आर्थिक वृद्धिदर ८.५ प्रतिशतको प्रक्षेपण गरिएकोमा अहिले ठूलो आर्थिक संकट परेको उनले बताए। 

प्रधानमन्त्री ओलीले अभिभावकको हैसियतअनुसार मात्रै अपेक्षा गर्न निजी क्षेत्रलाई आग्रह गरे। ‘गर्न सक्नेभन्दा पनि अघि बढेर सहयोगको हात बढाइएको छ’, उनले भने। देशको अर्थतन्त्र माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले सुनाए। निजी क्षेत्रलाई सशक्त बनाउन उद्योग वाणिज्य महासंघको योगदान अतुलनीय रहेको उनको भनाइ थियो। इनोभेटिभ काम सरकारले भन्दा निजी क्षेत्रले उच्चस्तरबाट गरेको उनको भनाइ छ। पछिल्लो समय युवा उद्योग क्षेत्रमा आकर्षित हुँदै गरेको उनले बताए। समृद्ध नेपाल सुखी नेपाली अभियान सार्थक बनाउन सरकार अग्रसर रहेको उनले बताए। 

उद्योग वाणिज्यको क्षेत्रमा नभई कृषिमा आधारित उद्योग अपरिहार्य भइसकेको उनले बताए। रोजगारीका अवसर सिर्जना गर्ने, प्रविधिको प्रयोग गर्ने, उत्पादकत्व तथा उत्पादन वृद्धि गर्ने विषयमा महासंघले व्यवसायीलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ। सरकार उद्यमी व्यवसायीका पक्ष, विपक्ष नलाग्ने उनले बताए। निजी क्षेत्रले राष्ट्रका निम्ति उत्पादन, रोजगारी र कर तिरिरहेको स्मरण गराउँदै उनले राज्यको नजरमा सबै समान भएको बताए। कानुनसम्मत संरक्षण र सुरक्षा दिन कुनै कन्जुस्याइँ नगर्ने उनले बताए। 

तर, निजी क्षेत्रले कारोबार स्वच्छ र पारदर्शी ढंगले गर्नुपर्ने उनले बताए। स्वदेशी व्यवसायीमा लगानी गर्न हैसियत नभएका कारण सरकारले बाह्य लगानी खोजिरहेको स्पष्ट पारे। 
‘हाम्रा उद्यमीलाई त्यस स्तरमा विकास हुन आवश्यक छ’, उनले भने, ‘ठुल्ठूला आयोजनामा लगानी गर्न निजी क्षेत्र सक्षम होस्।’ तर निजी क्षेत्रले पुँजी यहाँ कमाउने र बाहिर लगानी नगर्न उनले सचेत गराए। ‘हामीले विदेशी पुँजी आमन्त्रण गर्न सहुलियत, सुविधा घोषणा गरेका छौं’, उनले भने, ‘यहाँका उद्यमीले दुईचार पैसा बढी कमाइन्छ भन्ने उद्देश्यले बाहिर लगानी गर्न हुँदैन।’ नेपालमै लगानीको अवसर रहेको र अन्यको भन्दा श्रम बजार पनि सस्तो भएकाले बढी मुनाफा हुने उनले बताए। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कोरोना भाइरसले बेरोजगार बढाएको भन्दै रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। पर्यटन व्यवसाय सामान्य अवस्थामा आउन दुई तीन वर्ष लाग्न सक्ने भएकाले आर्थिक संकट आउन नदिन सचेत हुनुपर्ने उनको भनाइ छ। 

जलस्रोत, कृषि, पर्यटन र उद्योगमा योजना बनाएर अघि बढ्न उनले सुझाइन्।  कोरोनाका कारण सीमित व्यक्तिको उपस्थितिमा बालुवाटारबाट महासंघको वार्षिक कार्यक्रमको भर्चुअल उद्घाटन गरिएको थियो। शुक्रबारको बन्दसत्र पनि भर्चुअल हुने भएको छ। 

महासंघको नयाँ नेतृत्व चयनका लागि मंसिर १३ गते शनिबार मतदान हुनेछ। मतदानका लागि तीन स्थान तय गरिएको छ। उद्योग वाणिज्यतर्फको मतदाता प्रज्ञा प्रतिष्ठान कमलादी, एसोसियट्सतर्फको मतदान कार्की बैंक्वेट बबरमहल र वस्तुगततर्फको मतदान महासंघको सचिवालय टेकुमा हुनेछ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा शनिबारबाट अध्यक्ष बन्दैछन्। वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुनेछ। दुवै प्रतिस्पर्धीेले प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन्। वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ पदका लागि १ सय २७ जना प्रतिस्पर्धामा छन्। जिल्ला र नगरमा १ सय ६, वस्तुगतमा १ सय १ र एसोसियटमा आठ सय मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.