संक्रमितलाई मुख्यमन्त्रीको आग्रह : निजी अस्पतालमा नजानोस्, सरकारीमा आउनोस्
पोखरा : अस्पतालहरुले भर्ना लिन नमान्दा बिरामीको ज्यान जान थालेको छ। यो सातामात्रै पोखरामा २ जनाले त्यसरी ज्यान गुमाए। ४ अस्पताल चहारिसकेपछि बिहीबार राति अन्नपूर्ण गाउँपालिका ३ काँडेका राजेश कार्कीको ज्यान गयो।
गएको बिहीबार स्याङ्जाकी धनमाया गुरुङको त्यसरी नै ज्यान गुम्यो। दुवै बिरामी निजी अस्पताल चहार्दै मनिपाल पुर्याइएका थिए। कार्कीको मनिपालमा उपचार हुँदाहुँदै र गुरुङको मनिपालले भर्ना नलिँदा ज्यान गएको थियो।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने उपचारका लागि निजी अस्पताल नधाउन आग्रह गर्छन्। उनको आग्रह छ, ‘उपचारका लागि सरकारी अस्पताल आउनोस्।’ उनले पश्चिमाञ्चल क्षेत्रीय र संक्रामक रोग उपचार अस्पतालमा आउन आग्रह गरेका हुन्।
मुख्यमन्त्री गुरुङ नेपाल रेडक्रस सोसाइटीले शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई एउटा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थिए।
‘यहाँ उपचार हुन्छ, सेवा गरिराखेकै छौं हामीले त्यो दिन (कार्की र गुरुङ निजी अस्पताल लगिएको दिन) यहाँ पनि बेड खालि थियो, सरुवा रोग अस्पतालमा पनि बेड थियो,’ उनले भने, ‘किन ६ वटा अस्पताल चाहर्दै हिँडेको ? मान्छे मरे मरोस्, यो प्रदेश सरकारलाई, महानगरलाई र यी अस्पताललाई दोष दिन पाइन्छ भन्ठानेको हो कि के हो ?’
लाखलाख रुपैयाँ धरौटी माग्ने निजी अस्पताल चहार्नुभन्दा एक पैसा पनि नलाग्ने सरकारी अस्पतालमा आउन मुख्यमन्त्रीले आग्रह गरे। ‘तपाईंलाई मन परे पनि नपरे पनि विश्वास गरे पनि नगरे पनि हामीसँग भएको सरकारी अस्पताल यही हो नि,’ उनले भने, ‘यी अस्पतालले आफ्नो तहबाट उपचार गरेकै छ।’ उनले अगाडि भने, ‘म नागरिकतिर फर्केर भन्छु, बिरामीको परिवारतिर फर्केर भन्छु, २ पैसा खर्च गर्ने क्षमता हुँदैन, एक दिनमा १० हजार, २० हजार ५० हजार खर्च लाग्ने अस्पताल किन ताक्छौं हामी ? जहाँ निशुल्क छ, सरकारी अस्पताल, त्यहाँ आउनुपर्यो पहिला।’
‘किन ६ वटा अस्पताल चाहर्दै हिँडेको ? मान्छे मरे मरोस्, यो प्रदेश सरकारलाई, महानगरलाई र यी अस्पताललाई दोष दिन पाइन्छ भन्ठानेको हो कि के हो ?’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेन्टिलेटर थप्नुपरे थपिदिन प्रदेश सरकार तयार रहेको उनले सुनाए। ‘थप्नुपर्नेछ भने भन्नोस्,’ उनले भने, ‘पहिला नेपाल सरकारलाई भन्छु, नदिए, मै दिन्छु।’ पश्चिमाञ्चल क्षेत्रीयमा आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने आवश्यकता पनि उनले औंल्याए र, प्रदेश मातहतका जिल्ला अस्पतालहरुमा त्यस्ता प्लान्ट बनाइरहेको जानकारी दिए। प्रदेश सरकारको प्रयत्नको बाबजुद जनताको अपेक्षा अनुसार मानिसहरुलाई बचाउन नसकेको उनको स्वीकारोक्ति थियो।
पोखराका मेयर मानबहादुर जिसीले बिरामीलाई कुरुवासमेत चाहिने हुँदा महानगरपालिकाले बनाएको आइसोलेसनभन्दा घरमै बस्नु हितकर हुने विचार राखे। तर अस्पतालहरुको संख्या बढाउनुभन्दा पनि सुविधा बढाउनुपर्नेमा जोड दिए। ‘पोखरामा यतिका नर्सिङ सेन्टरहरु छन्, रिसर्च सेन्टर भनेर बोर्ड राखेका छन्, रिसर्च सेन्टर भनेर भन्सार छुटमा सामान ल्याएका छन्,’ उनले भने, ‘कतिवटा रिसर्च गरे त खै ? कत्ति गर्या छैनन् भने कारबाही गरौं।’
निजी अस्पतालहरुले कोरोनाका बिरामीसँग धरौटी माग्ने गरेकोमा पनि उनले आपत्ति जनाए। ‘डेढ लाख धरौटी माग्ने, चेक नलिने, रातिराति को नगद लिएर हिँड्छ त ?’ उनले भने, ‘कागज लिएर आऊ महानगर बस्छ धरौटी।’ उनले पुसभित्रै महानगरपालिकाले कम्तीमा ५० बेडमै भए पनि अस्पताल बनाइछाड्ने जानकारी पनि दिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले आइसोलेसन बेड क्षमता ५० बाट बढाएर ८० पुर्याउन लागेको जानकारी दिए। उनले जनशक्तिको अभाव सबैभन्दा ठूलो अभाव रहेको सुनाए। ३ वर्षभित्र प्रतिष्ठानले एमबिबिएस पढाइ सुरु गर्ने पनि उनले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनबाट प्राप्त गरेको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ। मुख्यमन्त्री गुरुङले एउटा भेन्टिलेटरसहित १८ लाख ५८ हजार रुपैयाँ बराबरका सामग्री अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई हस्तान्तरण गरे। गुरुङले भने, ‘सक्नेले त अलि धेरै दिनु नि, जम्मा एउटा भेन्टिलेटर ? यो त हात्तीका मुखमा जिरा भयो।’ कार्यक्रममा नेरेसो कास्की अध्यक्ष डोलराज पाण्डे, नेरेसो केन्द्रीय कोषाध्यक्ष सीताराम कोइराला, रेडक्रस कास्कीका मन्त्री धर्म अधिकारी लगायत सहभागी थिए।
_20201127132740.jpg)
कोभिडबाट मृत्यु हुने ५० वर्षमाथिका ८० प्रतिशत
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएर उपचार गर्दा गर्दै अहिलेसम्म ज्यान गुमाएका कोभिड १९ संक्रमितको संख्या ५५ पुगेको जानकारी निर्देशक डा. अर्जुन आचार्यले दिएका छन्। तीमध्ये ५० वर्षभन्दा माथिका बिरामीको संख्या ८० प्रतिशत छ। उनका अनुसार ६० वर्षमाथिका बिरामीलाई आधार मान्दा मृत्युदरको प्रतिशत ४८ हुन्छ। त्यस्तै २० देखि ४० वर्ष उमेर समूहको मृत्युदर ५१ प्रतिशत छ।
अस्पतालको आइसोलेसन, प्रिआइसोलेसन लगायतमा कोभिडका बिरामीको औसत बसाइदर ९ दिन हुने गरेको जानकारी डा. आचार्यले दिए। यो अस्पतालमा कोभिड १९ का पहिलो बिरामी जेठ १५ गते भर्ना भएका थिए। २५ जेठमा पहिलो मृत्यु भएको थियो।
आचार्यले कोभिड १९ को महामारीपछि पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ हजार ३ सय ७ जना सुत्केरी भएको जानकारी दिएका छन्। उनका अनुसार त्यसमध्ये २२ सय जना सामान्य सुत्केरी भए भने बाँकीको अप्रेसन गरिएको थियो। अस्पतालमा २१ सय १४ वटा अप्रेसन भएको जानकारी आचार्यले दिए। त्यसमध्ये १५ सय ७७ मेजर अप्रेसन थिए भने ५३७ वटा माइनर।
प्रतिक्रिया दिनुहोस !