महासंघमा आज मतदान

महासंघमा आज मतदान

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुने भएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन्। 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा अधिवेशनले शेखर गोल्छाको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष गोल्छा शनिबारदेखि अध्यक्ष बन्दै छन्। वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६४ जना कार्यसमितिको मतदान शनिबार बिहान ८ बजेदेखि हुनेछ। निर्वाचनको तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। 

कोरोनाका कारण महासंघको नयाँ कार्यसमिति निर्वाचन तीन स्थानमा तोकिएको छ। चैत २८ मै हुनुपर्ने साधारणसभा तथा अधिवेशन कोरोनाका कारण पटकपटक सर्दै आएको थियो। कोरोनाको कहर साम्य नभएकाले साधारणभाको उद्घाटन र बन्दसत्र भर्चुअलमार्फत बिहीबार र शुक्रबार गरियो। शनिबार जिल्ला र नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसियटतर्फका लागि कार्की ब्यांक्वेट बबरमहल र वस्तुगततर्फको लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ। कोरोना संक्रमित मतदाताले भने प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान गर्न पाउनेछन्। 

वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ र एसोसियट उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा उत्रिएका छन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा अन्य पदका उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आएका छन्। 

जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना र एसोसियटतर्फ १९ जनाका लागि ३३ जना उम्मेदवार मैदानमा छन्। त्यस्तै संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्। ६४ पदका लागि १ सय २७ जना प्रतिस्पर्धामा उत्रिएका छन्। कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। 

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई जिताउन वर्तमान अध्यक्ष, भावी अध्यक्ष र पूर्वअध्यक्ष खुलेर लागेका छन्। भावी अध्यक्ष गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारकाले प्रधानका पक्षमा तीव्र लबिङ गर्दै आएका छन्। प्रधान अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षमा गोल्छासँग निर्वाचन हारेका थिए। उनले व्यावसायिक क्षेत्रमा स्थायी शत्रु र मित्र नहुने भन्दै यसपालि गोल्छा र मुरारकाकै समर्थनमा ५८ प्रतिशतले चुनाव जित्ने दाबी गर्दै आएका छन्। 

तर, उनका प्रतिद्वन्द्वी चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा भारी मतले निर्वाचन जित्ने दाबी गर्दै आएका छन्। जिल्लाजिल्लाका अध्यक्षहरू उनको जितका लागि क्याम्पेनमा छन्। केही दिनअघि मात्रै भक्तपुर जिल्ला संघले आयोजना गरेको कार्यक्रममा ७० जिल्लाका अध्यक्ष ढकाललाई नेतृत्वमा स्थापित गराउन भेलाले निर्णय गरेको समाचार बाहिरिएको थियो। यद्यपि उक्त कार्यक्रममा दुवैतर्फका उम्मेदवार सहभागी थिए।  

महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ  १०७, वस्तुगत संघतर्फ १०१, द्विराष्ट्रिय उद्योग वाणिज्य समूहमा १२ र एसोसियटतर्फ ९२३ जना मतदाता छन्। वरिष्ठ उपाध्यक्ष उम्मेदवार ढकालले चुनावमा व्यक्ति विशेष निर्णायक नभई मतदाता हुने भएकाले चुनाव जित्नेमा विश्वस्त रहेको दाबी गर्छन्। 

जिल्ला नगरतर्फका खुला सदस्य उम्मेदवार तथा तुल्सीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले लामो समयदेखि जिल्लाको विकासमा महासंघले बेवास्ता गरेको गुनासो गर्छन्। उनी निर्वाचित भएपछि जिल्लालाई केन्द्रसँग जोड्ने र मोफसलको विकासमा पुलको काम गर्ने योजना रहेको सुनाए। रिजाल भन्छन्, ‘यसपालि जिल्ला तथा नगरतर्फ लामो समय काम गरेका उम्मेदवार भएकाले जिल्लाको विकासमा नेतृत्वको ध्यान पुग्नेमा विश्वस्त छु’, उनले भने। वरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि जिल्ला तथा नगरको मतदान अधिकार ५० प्रतिशत हुन्छ। तुल्सीपुरका रिजालले जिल्ला नगरमा ढकाल बलियो भएको सुनाउँछन्। त्यस्तै वस्तुगत र एसोसियट पनि ढकाल बलियो रहेको उनको बुझाइ छ।  

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेशतर्फ केन्द्रीय सदस्यका उम्मेदवार हेमराज बन्जाडेले भने प्रधान प्यानलको जित सुनिश्चित भएको दाबी गरे। सदस्यमा आफू निर्वाचित भइसकेपछि जिल्लास्तरका व्यवसायीको समस्या सम्बोधन गर्न पहल गर्ने, व्यवसायीमैत्री कानुन निर्माणमा जोड दिने बताए। ‘व्यवसायीको समस्या सम्बोधन गर्दै व्यवसायीलाई उपभोक्तामैत्री र उत्पादनमैत्री कसरी बनाउने भन्ने पक्षमा काम गर्नेछु’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.