नागरिकता नहुँदा बनेन भूकम्पले भत्किएको घर, छाप्रोमै बास

नागरिकता नहुँदा बनेन भूकम्पले भत्किएको घर, छाप्रोमै बास

मौली : देवघाट ३ नाल्बुङ निवासी माया गुरुङ ७३ वर्षकी भइन्। गाउँमै हुर्कि बढी वृद्धावस्थामा ढल्कन थालेकी उनी नेपाली हुन् भन्नेमा कुनै शंका छैन। तर राज्यको नजरमा भने उनी यत्तिका उमेरम्म पनि अनागरिक नै थिइन्। 

उनले अहिलेसम्म नागरिकता पाएकी थिइनन्। बिहे पनि नगरेकी र परिवारका कोही पनि सदस्य नभएकी उनी मामाघरको खाली झुप्रोमा बस्दै आएकी थिइन्। तर २०७२ सालको भूकम्पले उनको त्यो आश्रय पनि भत्कियो । 

प्राविधिकहरुले उनको घर पूर्ण क्षतिग्रस्त भनेर लाभग्राहीको सूचीमा त पारिदिए तर नागरिकता नै नभएकाले उनी त्यो सुविधाबाट बञ्चित भइन्। मंसीर मसान्तसम्म सम्झौता नभएमा सूचीमा परेकाले घर बनाउने पैसा नपाउने सरकारले भनेको छ। तर मायाको नागरिकता नै थिएन। 

झुप्रोमा एक्लो बास
आफन्तको घर भत्केपछि टिनले ढाकेको झुप्रोमा एक्लो जीवन बिताउँदै आएकी उनको अवस्थबारे स्थानीय युवाले खबर दिए पछि प्रशासनले घरमै गएर नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आफूले साता अघि वृद्धाको अवस्था थाहा पाए पछि घरमै गएर नागरिकता दिएको बताए। 

‘नागरिकता नभएकैले भत्ता र घर बनाउने पैसा पनि पाउन नसकेको सुने पछि घरमै गएर नागरिकता दियौं,’ उनले भने। 

अब उनले सामाजिक सुरक्षा भत्ता पाउने बाटो पनि खुलेको छ। स्थानीय युवा गंगासिं विकले वृद्धाको अवस्थाबारे जानकारी गराए पछि नागरिकता दिलाउन पहल थालेको तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठका सचिवालय संयोजक अनिल पाण्डेले बताए। 

‘कोही पनि आफ्ना नभएको, कतै जान पनि नसक्ने र नागरिकता नै नभएकाले घर बनाउन पनि नपाएको सुने पछि त्यहीं नागरिकता र घर बनाउनका लागि सम्झौता गराउन पहल गरेका थियौं,’ उनले भने। 

प्रजिअ आचार्यले वृद्धा आउन नसक्ने भए पछि आवश्यक सबै प्रक्रिया उनकै घरमा पुरा गरेर नागरिकता दिएको बताए। नेपाली भाषा पनि राम्रोसँग नबोल्ने मायाले नागरिकता लिए पछि केही नबोले पनि अनुहारमा खुशी भने व्यक्त गरेकी थिइन्। 

‘उहाँको अनुहारमा खुशी देख्न पाउँदा मलाई सन्तुष्टि मिल्यो,’ प्रजिअ आचार्यले भने। 

आफन्त कोही नभएको र उनी एक्लैले नसक्ने भएकाले वृद्धाको संरक्षण र क्षतिग्रस्त भवन बनाउनका लागि युवा विककै नेतृत्वमा संरक्षण समिति गठन गरिएको छ। 
समितिमार्फत नै पुननिर्माण प्राधिकरणले दिने तीन लाख रुपैयाँबाट अब उनको घर निर्माण र सामाजिक सुरक्षा भत्ता रकममार्फत उनका आवश्यकता पुरा गराउन पहल गरिने पाण्डेले बताए।

गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले वृद्धाका बारेमा आफूहरुले समेत थाहा नपाएको भन्दै प्रशासनप्रति आभार प्रकट गरे। उनले आवश्यक थप सहयोगका लागि गाउँपालिका तयार रहेको बताए। 

देवघाट ३ नाल्बुङस्थित उनी बस्ने छाप्रामै पुगेर मायालाई नागरिकता प्रदान गर्दै प्रजिअ सागर आचार्य।  तस्बिर सौजन्यः अनिल पाण्डे।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.