‘हामी सडकमा आएका छौं’

‘हामी सडकमा आएका छौं’

हेटौंडा : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षा र ‘कम्युनिस्ट सर्वसत्तावाद’ तोड्न कोरोना भाइरसको महामारीबीच पनि सडकमा उत्रिनुपरेको बताएका छन्।

‘सडकमा जनता भेला पारेर यातायात बन्द गर्ने हाम्रो उद्देश्य होइन। तर, बाध्य भएर गर्नुपरेको छ’, मकवानपुरको हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘देश बर्बाद भएको कति दिन हेरेर बस्ने ? हामी अब सडकमा आएका छौं।’

देउवाले कम्युनिस्ट सरकारका कारण नागरिकमा असन्तुष्टि बढेको बताए। पछिल्ला दिनमा राजतन्त्रका पक्षमा सडकमा देखिएको प्रदर्शन कम्युनिस्ट सरकारप्रतिको वितृष्णाको उपज भएको उनको भनाइ थियो।

‘अहिले राजा आऊ देश बचाऊ भनेको पनि ओलीजी (प्रधानमन्त्री)कै कारणले हो। यो तत्व किन बढेको छ भन्ने हामीले बुझ्नुपर्छ’, मकवानपुरको हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘यो व्यवस्थालाई अझ बलियो बनाउँदै कम्युनिस्टबाट देशलाई मुक्त बनाउन हामी सबै लाग्नुपर्छ।’ देउवाले मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे।

उनले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। उनले कोरोना महामारीका बेला कांग्रेसले सरकारलाई सहयोग गरेको बताए। तर, नागरिकको जीवनरक्षा गर्नुपर्नेमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप उनले लगाए। ‘ओलीजीलाई भनेको थिएँ, कोरोना नियन्त्रणमा कांग्रेसको बिनासर्त सहयोग हुन्छ भनेर। सरकारी कोषमा सहयोग पनि गरेका थियौं’, उनले भने, ‘तर सरकारले कोरोनामा पनि घुस खान छाडेन, अब अन्त कहाँ सुशासन छ ?’

उनले तीन वर्षअघि तीनै तहको निर्वाचनका बेला ‘कम्युनिस्ट शासन भए रुन पनि नपाइने’ भन्ने आफ्नो भनाइ पुष्टि भएको दाबी गरे। ‘चुनावमा कम्युनिस्ट पार्टी एक भएपछि मैले भनेको थिएँ, कम्युनिष्ट शासनमा बोल्न पाइनेछैन, हाँस्न र रुन पनि पाउनेछैन’, उनले भने, ‘आज कोही रोयो भने पनि किन रोइस् भनेर जेल हाल्न बेर छैन।’ यो सरकारले जनताका अधिकार कुण्ठित गर्न खोजेको उनको आरोप थियो।  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकार अहिले ‘सिज’ भएर बालुवाटारमा थन्किएको टिप्पणी गरे। ‘कांग्रेसले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न प्रमुख भूमिका खेलेको छ’, प्रवक्ता शर्माले भने, ‘नेकपाको सरकारले डुबाएको देश बनाउन पनि अब कांग्रेसले नै भूमिका खेल्नेछ।’

कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना), कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँलगायतले पनि सम्बोधन गरेका थिए। हेटौंडाको बुद्ध चोकमा भएको विरोधसभाअघि सानो पोखरा चोक, बन विज्ञान अध्ययन संस्थान चोक, चौकी टोल र राप्ती रोडबाट ¥याली निस्किएको थियो। करिब डेढ घण्टा राजमार्ग अवरुद्ध गरेर भएको सभालाई सम्बोधन गर्न देउवा हेलिकप्टरमार्फत हेटौंडा आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.