दोमस विमानस्थल : परीक्षण उडानको वर्षदिनसम्म नियमित उडानको तालिका नै बनेन
ओखलढुंगा : जिल्लाको खिजीदेम्वा गाउँपालिका ३ स्थित खिजीचण्डेश्वरीको दोमस विमानस्थल परीक्षण उडानमै सिमित बनेको छ । गत वर्ष २०७६ पुस ७ गते परीक्षण उडान भएपनि त्यसपछि नियमित उडान हुन सकेको छैन ।
विमानस्थलको सुधार तथा नियमित उडान गर्ने प्रतिबद्धता गरिए पनि उडान तालिका र सुधारका लागि बजेट व्यवस्थापन नहुँदा गौचरणमा सिमित बनेको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराई, संघीय संसदको विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवारसहितको टोली विमानस्थलको परीक्षण उडानमा सहभागी भएका थिए ।
परीक्षण उडानपछि नियमित उडान भर्ने तयारी गर्ने प्रतिबद्धतासहित नागरिक उड्ययन प्राधिकरणका पदाधिकारी, सांसद र मन्त्री फर्किएका थिए । उनीहरु फर्किएको १ वर्ष विते पनि उडान हुन सकेको छैन । पर्यटन प्रबद्र्धनमा विमानस्थलले महत्वपूर्ण योगदान गर्ने आशमा रहेका खिजीबासी निराश बन्ने अवस्था आएको स्थानीय युवा चम्पक सुनुवार बताउँछन् ।
उडान नभएपछि कच्ची विमानस्थल अहिले गौचरण जस्तो भएको छ । कतै वर्षात्का कारण भत्किएको छ भने कतै झाडी पलाएको छ । पर्यटकीय क्षेत्रलाई लक्षित गरेर निर्माण थालेको उक्त विमानस्थल २०७६ मंसिरमा पुरा भएको थियो । निर्माण सकिएको एक हप्तामै परिक्षण उडान भए पनि नियमित उडानका लागि आवश्यक सुधारका काम समेत हुन सकेनन् ।
कालोपत्रे गर्न स्थानीयको माग
विमानस्थलको स्तरोन्नति र कालोपत्रे नभए वर्षादमा उडान नहुने भएकाले कालोपत्रे गर्नु पर्ने स्थानीयको माग छ । विमानस्थलमा उडान हुँदा हवाइ मार्गबाट आएका पर्यटकलाई देम्वा, पिकेहुँदै सगरमाथा लैजान सकिन्छ । प्लेनमार्फत जानका लागि समेत मन्थली भन्दा नजिक पर्छ । सगरमाथा जाने पदमार्ग पनि स्तरोन्नति गरेर विमानस्थल सुचारु गर्न सके यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय युवा सुदिप सुनुवारले बताए ।
तर, निर्माण सकिन १३ वर्ष लागे जस्तै परिक्षण उडान भएको १३ महिना पुग्नै लाग्दा समेत विमानस्थलको सुधारका काम हुन सकेन । परिक्षण उडान भएको दुई महिनापछि नै कोरोना संक्रमण, लकडाउन लगायतका संकट आइ लागेकाले पर्यटकीय क्षेत्र खिजीदेम्वाको विमानस्थल ओझेलमा परेको सांसद यज्ञराज सुनुवारले बताए । ओखलढुंगा हुँदै सगरमाथा जाने पदमार्गका बीचमा रहेको विमानस्थल नियमित चल्न सके पर्यटक भित्र्याउन सहज हुने भएकाले मन्त्रालयमा यसबारे पुनः ध्यानाकर्षण गराइने सांसद सुनुवारको भनाइ छ ।
परिक्षण उडानकै समयमा स्थानीयले मन्त्री समक्ष माग पत्र नै पेश गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका थिए । उनीहरुले ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अगुवाइमो माग पत्र पेश गर्दै खिजीचण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरी स्तरोन्नति र कालोपत्रेको माग गरेका थिए ।
निर्माण गर्नै १३ वर्ष
रनवे करिब ४० मिटर चौडा र पाँच सय ८० मिटर लामो छ । विमानस्थल सम्पन्न गर्नै १३ वर्ष लागेको थियो । ३ करोड बढी खर्चेर बनाइएको उक्त विमानस्थल ०६३ सालमा निर्माण सुरु भएको थियो । पर्यटकीय क्षेत्र, सडक यातायातको पहुँच कम, तथा खिजीबाट लुक्लालगायतका ठाउँमा पर्यटक जान नजिक र सस्तो पर्ने भएकाले यो विमानस्थल सुचारु गर्नुपर्ने स्थानीयको माग छ । यो विमानस्थल खिजीको लाइफलाइन भएकाले कालोपत्रे गरेर नियमित उडान गर्नुपर्नेमा स्थानीयको जोड छ ।
यो विमानस्थलबाट ४ घण्टा पैदल दूरीमा नेपालका ७ अग्ला डाँडामध्येको एक देम्वाडाँडा पर्छ । यो पहाडी क्षेत्रकै पर्यटकीय स्थल हो । विमानस्थलदेखि देम्वासम्म संघीय सरकारको अनुदानमा पद मार्ग निर्माण भएको छ, तर देम्वा आउने पर्यटक ल्याउनका लागि दोमस विमानस्थल सुचारु गर्ने काममा स्थानीय सरकारले समेत चासो नदिएको स्थानीय गुनासो गर्छन् ।